‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भनेका कांग्रेसका घिमिरेले संसदमै गरे क्षमा याचना

‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भनेका कांग्रेसका घिमिरेले संसदमै गरे क्षमा याचना

केन्द्रबिन्दु
327
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिनिधिसभा बैठकमा ‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भनेर धारणा राखेकामा क्षमा याचना गरेका छन् ।

आज बसेको बैठकको सुरुमै बोल्दै सांसद घिमिरेले आफूले राखेको उक्त धारणा पार्टीगत नभई व्यक्तिगत रहेको स्पष्ट पार्दै कसैको मानहानी भएको खण्डमा क्षमा मागेका हुन् ।

घिमिरेले आइतबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर देशको विकासका लागि कानुनी व्यवस्था गरेर यौन व्यवसाय खुला गर्नुपर्ने प्रस्ताव राखेका थिए । ‘धार्मिक पर्यटकले पैसा खर्च गर्दैनन्। पैसा खर्च गर्ने भनेको मनोरञ्जन क्षेत्रमा आउने पर्यटकले नै हो, यौन व्यवसायलाई खुला गरौँ। यसबाट धेरै विदेशी पर्यटक आउँछन्। यसले मुलुकको आर्थिक संमृद्धिका लागि योगदान पुग्छ,’ घिमिरेले भनेका थिए। तर, संसददेखि पार्टीमै विराेध हुन थालेपछि उनले माफी मागेका हुन् । मंगलबार बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकमा संसद्‌मा प्रमुख सचेतक घिमिरेले दिएको अभिव्यक्तिलाई लिएर उनको चर्को आलोचना भएको थियो ।

आज उनले भने,‘यो मेरो व्यक्तिगत धारणा हो, कांग्रेस पार्टी र संसदीय दलको आधिकारीक होइन । यसले सम्मानित संसदका सदस्यहरु एवं अन्य जनसमुदायमा समेत केही नकारात्मक प्रभाव परेको भए म उहाँहरुको सम्मान गर्दै क्षमा याचना गर्न चाहन्छु ।’

Skip This
Skip This
Logo