राजसंस्था पुनर्स्थापनामा राजावादीहरुको टकराव !

राजसंस्था पुनर्स्थापनामा राजावादीहरुको टकराव !

केन्द्रबिन्दु
270
Shares

काठमाडौं । नेपालमा राजसंस्था पुनर्स्थापनामा राजावादीहरुबीच नै टकराव देखिएको छ । राजसंस्था पुनर्स्थापना गर्ने विषयमा राजावादीहरु भित्रै विवाद भएपछि गणतन्त्रमा स्थापना भएका राजनीतिक दलहरुले विरोध जनाउनु, मतभेद राख्नु त स्वभाविक कुरा हो । तर राजसंस्था पुनर्स्थापनाका लागि सडकमै उत्रिने तयारी गरिरहेका राजावादी दलहरुमा सुरुमै विवाद सिर्जना भएको छ । अझ स्पष्ट रुपमा भन्ने हो भने राजसंस्था पुनःस्थापनाका लागि राजावादीहरु नै एक ढिक्का छैनन् ।

गत सोमबार पञ्चायतकालीन नेता तथा राष्ट्रिय पञ्चायतका अध्यक्ष रहिसकेका पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरियो । संवैधानिक राजसंस्थाको पुनर्स्थापना, सनातन हिन्दू अधिराज्यको पुनर्स्थापना, सङ्घीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासनलाई मुख्य एजेण्डा बनाएर पूर्वपञच सुवेदीको नेतृत्वमा समिति गठन भएकै दिनदेखि राजावादीहरुमा विवाद सिर्जना भएको हो ।

राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिमा राजेन्द्र लिङ्देन, कमल थापा, दुर्गा प्रसाईं, रमा सिंह सदस्य छन् । यस्तै, अस्मिता भण्डारी, केशरबहादुर बिष्ट, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, र हरिबहादुर बस्नेत लगायत ११ जना सदस्य छन् । जसमध्ये राप्रपाका अध्यक्ष लिङ्देन, पूर्वमन्त्री बिष्ट, र राप्रपा नेपालका अध्यक्ष थापाले सो समितिप्रति असन्तुष्टि राखेका थिए । तीनै नेताहरूले आफूहरूसँग कुनै छलफल बिना नै समिति मातहतको निर्देशक समितिमा नाम राखिएको भन्दै असन्तुष्टि देखाएपछि उनीहरुको सहभागिता अनिश्चित बनेको हो ।

तर रोचक कुरा के देखिएको छ भने, मंगलवार राप्रपाको केन्द्रिय पार्टी कार्यालयमा पत्रकार सम्मेलन अध्यक्ष लिङ्देनले पूर्वपञ्च सुवेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन समितिमा संलग्न नरही आफूहरुले नै राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन गर्ने घोषणा गरे । भने राप्रपा नेपालका अध्यक्ष थापाले सुवेदी नेतृत्वको समितिसँग सहकार्य गरी जनआन्दोलन गर्ने घोषणा गरेका छन् ।

यसअघि पूर्वराजा ज्ञानेन्द्र शाह २५ फागुनमा पोखराबाट काठमाडौं आउने भएपछि तय भएका कार्यक्रमहरू स्थगित गरिएका कार्यक्रम पुनः अघि बढाउने निर्णय भएको अध्यक्ष लिङ्देनले जानकारी दिए । राप्रपाको नेतृत्वमा हुने आन्दोलनको कार्यक्रमहरू तय गर्न आगामी चैत १२ गते आन्दोलन परिचालन मूल समितिको बैठक बस्ने निर्णय भएको उनको भनाई छ ।

‘आन्दोलन परिचालन मूल समितिको बैठकबाट आन्दोलनका आगामी कार्यक्रमहरु तय गर्ने निर्णय गरिएको छ । राप्रपाले आन्दोलन र संगठनलाई संगसंगै लैजाने र आन्दोलनको घोषणापछि पार्टीका सबै गतिविधिहरू आन्दोलन केन्द्रीत गर्ने निर्णय लिएको छ ।’ उनले भने ।

राजावादीहरुमै टकरावको अवस्था कसरी सिर्जना भयो ?

हुन त राजावादीहरुमै टकराव हुनु कुनै आश्चार्यजनक कुरा भने होइन । जसरी अहिले राजावादीहरुमा टकराव भइरहेको छ, त्यो नेपाली राजनीतिक वृतमा विगतदेखि नै भइरहेको उदाहरणहरु जगजाहेर नै छ । तर राजावादीहरुको प्रसङ्गमा हेर्ने हो भने लिङ्देन, थापा र प्रसाईलाई आफू अनुकूल र आफ्नो नेतृत्व नभएका कारण यस्तो अवस्था सिर्जना भएको देखिन्छ ।

गत फागुन २५ गते पोखराबाट निर्मल निवास फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा प्रसाईं, राप्रपा अध्यक्ष लिङ्देन र राप्रपा नेपालका अध्यक्ष थापा पनि सहभागी थिए । स्वागत गर्न एउटै भीडमा सहभागी भएपनि एक अर्कासँग सहकार्य नगरी उनीहरुले आ–आफ्नै तरिकाले राजाको स्वागत गरे । राप्रपाका कार्यकर्ता सहित अध्यक्ष लिङ‍्देन र राप्रपा नेपालका कार्यकर्तासहित अध्यक्ष थापा र नागरिक बचाउ महाअभियानका कार्यकर्तासहित अध्यक्ष प्रसाईं गरी तीन धार देखिए । यद्यपि अन्य राजावादी राजनीतिक दल र संघ संगठनहरु पनि सहभागी थिए ।

त्यसपछि राजालाई स्वागत गरेको ठिक दुई दिनपछि अर्थात् फागुन २७ गते दुर्गा प्रसाईंले भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै ‘संगत गर्दा राजाको गर्छु, आन्दोलन गर्नपरे राजासँग मिलेर गर्छु, गोठालाहरूसँग होइन’ भन्दै राप्रपा अध्यक्ष लिङ्देन र राप्रपा नेपालका अध्यक्ष थापालाई कटाक्ष गरे ।

उनले भने,‘२०७२ मा संविधान ल्याउँदा राप्रपाका अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनले हस्ताक्षर गरेको थिएन भने न त राजसंस्था जान्थ्यो न त हिन्दु अधिराज्य जान्थ्यो । राजसंस्था र हिन्दु अधिराज्यलाई खोलामा बगाएर समुन्द्रमा तिलाञ्जली दिने, अनि अहिले माहोल बनेपछि धमिलो पानीमा माछा मार्नलाई ए हामीले गरेको, काठमाडौं महानगरमा गएर पैसा तिरेर हामीले गरेको, अनि चैत १ गतेदेखि आन्दोलन सुरू गरिहाल्यौं, दुर्गा प्रसाई आउनुर्पयो हामीसँग मिल्नुपर्यो । उहाँहरूले मलाई गोठालो जस्तो पो सम्झनुभएको छ ।’

प्रसाईंको उक्त अभिव्यक्तिपछि राजावादीहरुमा मनमुटाव हुन सुरु भएको देखिन्छ । लिङ्देन र थापाले उक्त अभिव्यक्तिको खुलेरै प्रतिवाद नगरे पनि आन्तरिक रुपमा असन्तुष्टि रहेको पछिल्लो समयको केही गतिविधिले प्रष्टै देखाउँछ ।

तर, यता राप्रपा अध्यक्ष लिङ्देन र राप्रपा नेपालका अध्यक्ष थापा एक ठाउँमा नआए पनि राजसंस्था पुनर्स्थापनाका लागि पूर्वराजा शाह नै ‘लिड रोल’ मा रहने अधिवक्ता तथा अभियन्ता स्वागत नेपाल बताउँछन् । २०४६ सालमा पञ्चायतविरुद्धको आन्दोलनमा वाममोर्चा गठन गर्दा भएको अवस्थाको उदाहरण दिँदै उनले पार्टीहरु, संघ संगठनका आ–आफ्नै मूल्यमान्यता भएकाले सुरुवातमा एक मतभेद भएपनि अन्तिममा एक ठाउँमा आउने उनले बताए।

उनले भने, ‘राजसंस्था पुनर्स्थापना गर्ने जनआन्दोलनका नेता भनेका राजा हुन् । त्यसैले राजाका सम्बोधन र दस्तावेजले महत्वपूर्ण भूमिका खेल्ने भएकाले नेतृत्वको भन्दा पनि संयोजनको समस्या हुनसक्छ । भोली जनआन्दोलन गर्दा कसरी गर्ने, सिर्जना भएका समस्या समाधान कसरी गर्ने लगायतका विषयमा संयोजन गर्ने जिम्मेवारी अरुले पाउन सकिन्छ ।’

मेडिकल व्यवसायी प्रसाईं हाबी भएर जनतामा स्थापित राजनीतिक दललाई किनारा लगाउन पूर्वपञ्चलाई आन्दोलनको नेतृत्व दिइएको राप्रपा र राप्रपा नेपालको बुझाइ भएको टिकाटिप्पणी भएको छ । पूर्वपञ्च सुवेदी अहिले राजनीतिको परिदृश्यमा छैनन्। न उनी राष्ट्रिय प्रजातन्त्र पार्टीसहित अरू कुनै राजनीतिक भूमिकामै छन्। तर, फरक धारणा भएपनि राजसंस्था पुनर्स्थापनाका लागि अर्कै ग्रह लगायत अन्य ठाउँबाट नआउने भएकाले राजसंस्था र राजाको मुलुकमा आवश्यकता छ भन्ने बुझ्ने पार्टी क्रमशः जोडिँदै जाने अधिवक्ता नेपालको भनाई छ ।

Skip This
Skip This
Logo