नेकपा सचिवालय बैठक : ‘बहस र छलफलले पार्टीमा गति पैदा गर्छ’- प्रवक्ता श्रेष्ठ

नेकपा सचिवालय बैठक : ‘बहस र छलफलले पार्टीमा गति पैदा गर्छ’- प्रवक्ता श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विचार लिखितरूपमा पेश गरेका छन् । यसअघि मङ्सिर ३ गते अर्का अध्यक्ष दाहालले समेत प्रस्ताव पेश गरेका थिए ।

पार्टी बैठकबारे जानकारी दिँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले यसअघिको बैठकमा तय भए अनुसार नै आफ्नो विचार लिखितरूपमा प्रस्तुत गरेको बताए।

प्रस्तुत विचारले पार्टीमा देखिएको समस्या, त्यसको जरो, पार्टीको सङ्कट र त्यसको सारतत्वका बारेमा छलफल हुनु र पार्टीको समस्या, सङ्कट तथा समाधान र निवारणका बारेमा छलफल हुनु स्वभाविक भएको उनले बताए । बहसले पार्टीलाई एकता र गति पैदा गर्न सक्ने प्रवक्ता श्रेष्ठको भनाइ छ । आएका प्रस्तावमाथि पार्टी कमिटीमा हुने जहाँ तही बहसको प्रक्रियाले पार्टीभित्र सकारात्मक योगदान गर्ने उनले विश्वास व्यक्त गरे ।

मङ्सिर ३ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीलाई आफ्नो विचार लिखितरूपमा प्रस्तुत गर्नका लागि सहमति प्रदान गरेको थियो । अध्यक्ष ओलीले प्रस्ताव गरेको प्रतिवेदनलाई अध्ययन गर्नका लागि थप तीन दिनको समय सचिवालय बैठकलाई दिइएको जानकारी दिए।

उनका अनुसार उक्त प्रतिवेदन अध्ययन गरेर तथा आवश्यक छलफल र गृहकार्य गरेर फेरि १६ गते १ बजे पुनः सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा बस्नेछ । उनले (अध्यक्ष ओली) ले लिखितरूपमा प्रस्ताव पेश गरे पनि आफूहरुले हेर्न नपाएको बताए । “पार्टीको अहिलेको समस्या, सङ्कट र त्यसलाई समाधान गर्न छलफल बहस र अन्तर्सङ्घर्षलाई सही दिशा दिनु पर्ने आवश्यकता औँल्याउनु भएको छ”, प्रवक्ता श्रेष्ठले भने ।

उनले आजको सचिवालयको बैठकमा बोल्नु हुने अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको रक्षामा जोड दिएको बताए ।

“उहाँहरुले अहिलेको छलफल र बहसले पार्टी एकतामा विचलन पैदा हुने वा पार्टी फुटको दिशातिर जानु पर्नेमा सोच्नु हुन्न वा सोच्नु पर्दैन”, उनले भने, “पार्टी एकताको रक्षा र सुदृढीकरण गर्न अहिलेको छलफल र बहसलाई सदुपयोग गर्नु पर्दछ”, उनले भने ।

उनले दुईवटा प्रस्तावमाथि अध्ययन गरेर आगामी सचिवालय बैठकमा छलफल गरिने बताए । दुवै प्रस्तावमाथि यही मङ्सिर १६ गते बस्ने सचिवालय बैठकमा छलफल हुने र त्यो दिन नसकिए अर्को दिन मङ्सिर १७ गते पनि गर्ने जानकारी दिए । उनले पार्टीभित्र देखिएका समस्यालाई पार्टी कमिटीका बैठकमा व्यवस्थित र विधिवत ढङ्गले छलफल गरेर निष्कर्ष निकालिनेसमेत बताए ।

नेकपाले मङ्सिर १८ गते स्थायी कमिटी र मङ्सिर २५ गते केन्द्रीय कमिटी बैठकको आयोजना गरेको छ ।

Skip This
Skip This
Logo