ताप्लेजुङमा करदाता सेवा कार्यालय स्थापनाका लागि योगेश भट्टराईले गराए अर्थमन्त्रीको ध्यानाकर्षण

ताप्लेजुङमा करदाता सेवा कार्यालय स्थापनाका लागि योगेश भट्टराईले गराए अर्थमन्त्रीको ध्यानाकर्षण

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङ जिल्लामा करदाता सेवा कार्यालय स्थापना गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको ध्यानाकर्षण गराएका छन् ।

बिहीवार अर्थमन्त्री पौडेलको कार्यालयमा उपस्थित भइ ताप्लेजुङका व्यवसायीहरूले सहज ढंगले आर्थिक कारोवार गर्न सक्ने वातावरण नभएकाले करदाता सेवा कार्यालय स्थापना गर्न आवश्यक रहेको भन्दै उनले ज्ञापन पत्र बुझाएका हुन् ।

व्यवसायीहरूलाई सहज र सरल ढंगले कार्यसम्पादन गर्न, करदाताहरूको दायरा बढाउन, राज्यबाट प्रदान गरिने सेवा सुविधालाई सहज बनाउन, ताप्लेजुङ जिल्लामा नै करदाता सेवा कार्यालय स्थापनाको लागि बाणिज्य संघ तथा स्थानीय जनप्रतिनिधिहरू समेतले पटक-पटक ध्यानार्षण गर्दै रहेका छन् ।

उनीहरुको माग सम्बोधन नभएपछि ताप्लेजुङ कृषि उत्पादन (अलैची तथा जडिवुटी) दुग्ध उत्पादन (छुर्पी), पर्यटन तथा जलविद्युत क्षेत्रमा व्यवसाय अझ विस्तार हुने प्रचुर सम्भावना बोकेको भएकाले करदाता सेवा कार्यालय स्थापना गर्न उनले जोड दिएका छन् ।

जिल्लामा हाल ५,९२६ जना व्यक्ति तथा व्यवसायीहरू प्यान नं. मा दर्ता भएका छन्। आयकर, मुल्यअभिवृद्धि कर तथा अन्तशुल्क सहित गरी करिब ४० करोड भन्दा माथि वार्षिक राजश्व संकलन हुँदै आएको छ । तर व्यवसायीहरूले राजश्वसम्बन्धि काम गर्न, व्यवसाय दर्ता गर्न र कर चुक्ता प्रमाणपत्र लिन पाँचथरको सदरमुकाम फिदिमसम्म धाउनुपर्ने स्थिति छ । जसका लागि ५ घण्टा भन्दा बढी समय सडक यातायातमा लाग्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

व्यवसायीहरूले सहज ढंगले आर्थिक कारोवार गर्न, कर चुक्ता गर्न, तथा व्यवसाय दर्ता गर्न झन्झटिलो अवस्था सृजना भएको छ भने व्यवसायीहरूको समय र आर्थिक लागत पनि बढ्दै छ । त्यसैले व्यवसायको सहजताको लागि करदाता सेवा कार्यालय स्थापनामा उनले जोड दिएका छन् ।

Skip This
Skip This
Logo