विपक्षी सांसदहरुको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

विपक्षी सांसदहरुको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । विपक्षी दलका सांसदहरुको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै आज बसेको बैठकको सुरुमै सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले आजै बस्ने गरी आधा घण्टाका लागि स्थगित भएको जानकारी दिएका हुन् । उनीहरुले प्रधानमन्त्रीको जवाफ माग गरेका छन् ।

सभामुख घिमिरेले नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतलाई बोल्ने समय दिएका थिए । सांसद बस्नेतले परिवर्तित परिस्थितिप्रति सरकार बेखबर भएर स्वार्थ समूह एवं विचौलियाको हितमा लागि परेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाएको बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउने निर्णय फिर्ता हुनुपर्ने बताउँदै यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । सांसद बस्नेतले आफ्नो भनाइ सक्ने बित्तिकै प्रतिपक्षी सांसदहरुले पुनः उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले विरोधका बीच सदन ३० मिनेटका लागि स्थगन गरेका हुन् ।

Logo