‘कुलमानमय’ बनेको संसद

‘कुलमानमय’ बनेको संसद


काठमाडौं । गत सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेदेखि नै राजनीतिक माहोल कुलमानमय बनेकाे छ ।

चार दिनपछि बसेको प्रतिनिधिसभाको बैठक पनि उही दृश्य देखियाे । प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै कुलमानलाई किन पदमुक्त गरेको भन्दै प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र लगायतका दलहरुले उठेर विरोध गरे ।

प्रधानमन्त्री ओलीको जवाफ नआए संसद् नचल्ने प्रतिपक्षी दलको अडानपछि बैठक आधा घण्टाका लागि स्थगित भयो । करिब ३ घण्टापछि बसेको दोस्रो बैठकमा पनि विपक्षी सांसदहरूले सोही कुरा दोर्होयाएपछि सभामुख देवराज घिमिरेले बिहीबार बस्नेगरी बैठक नै स्थगित गर्न बाध्य बने ।

बैठक स्थगित नहुनुअघि सभामुख घिमिरेले र प्रमुख प्रतिपक्षी दलका नेताहरुबीच सवाल-जवाफ भएको थियो । घिमिरेले परिस्थितिको गाम्भीर्यता बुझेर सदन चल्न दिनका लागि आग्रह गरेका थिए । तर विपक्षी सांसदले सदनमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अडानलाई नै कायम राखे ।

विपक्षी दलका सांसदले जवाफका लागि रुलिङ गर्न माग गरेपछि सभामुख घिमिरेले त्यसका लागि सदन सुचारु हुनुपर्ने घिमिरेले भने । उनले भने, ‘रुलिङ यहाँबाट भएको छैन, त्यहाँबाट भइरहेको छ । रुलिङका लागि आसन ग्रहण गर्दन अनुरोध गर्दछु । तपाईंहरूले राखेको कुरामा ध्यानाकर्षण भएको छ, आसन ग्रहण गरेपछि वातावरण बनाइदिनु पर्छ । तपाईंहरूको मागप्रति ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छु।’

तर आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित थिए । ओली अनुपस्थित भएपछि विपक्षीहरुको माग पूरा नहुँदा बैठक नै स्थगित गर्ने अवस्था सिर्जना बनेकाे हाे ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीले संसद्मा आएर कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनुको चित्तबुझ्दो जवाफ नदिएसम्म संसद अघि बढ्न नसक्ने बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले आएर रोष्टममा जवाफ नदिएसम्म हाउस चल्न सक्दैन । प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्ने हुन्छ । उहाँले आएर स्पष्टीकरण दिनुपर्ने हुन्छ । स्पष्टीकरण चित्त बुझ्दो भयो तुरुन्तै हाउस चल्छ, जालझेलको भयो भने आन्दोलन अघि बढ्छ ।’

कुलमानजीको विषयमा अब महिनापछि समय सकिँदै छ, कुलमानजीकै पक्षमा जनमत छ, अपमानित गर्नु हुँदैन, पुरस्कृत गर्नुपर्ने मान्छेलाई पदमुक्त गर्नु असान्दर्भिक र आपत्तिजनक रहेको उनले बताए ।

सोमबार दिउँसो सिंहदरबारमा बसेको बैठकमा तपाईं नी सहभागी हुनुहुथ्यो भन्ने प्रश्नमा उनले थपे, ‘यो पटक पनि बढा चिन्तित र दुःखित छु । टिआरसीको लागि भनेर प्रधानमन्त्रीले खबर गर्नुभयो । टिआरसीको विषयमा मात्रै कुराकानी भयो । त्यसमा समझदारी बनेपछि म उठेर हिँडे । त्यो बाहेक केही एक शब्द उच्चारण गरेको होइन ।’

‘तर म निक्लिनेबित्तिकै मन्त्रीपरिषद्को बैठक बसेर त्यही विषयमा निर्णय गरियो र मलाई के लाग्यो भने फेरि एक पटक निकै ठूलो जालझेल भएको महसुस मलाई भयो । एक दुई दिन पर्खिएको भए पनि हुन्थ्यो । म सिंहदरबार गएर टिआरसी टुंग्याएको लगत्तै गर्नुपर्ने केही बाध्यता त थिएन । त्यसले मलाई फेरि स्वर्ग र नर्क सम्झायो ।’ उनले थपे ।

टिआरसीसँग कुलमान साटेको राप्रपाका नेता ज्ञानेन्द्र शाहीको आरोपमा झुटो प्रचार गरिएको पनि बताए । उनले भने, ‘त्यही दिन नै राप्रपाको ज्ञानेन्द्र शाही लगायतले भने प्रचण्डले टिआरसीसँग कुलमान साट्यो भने । योभन्दा झुटो, बेइमानीपूर्ण प्रचार केही हुनसक्छ । सत्यको पक्षमा बोली दिनुहोला ।’

तर, यता राप्रपाका नेता शाहीले भने टिआरसीसँग कुलमान साटेको आरोप दाेहाेर्याए । उनले भने,‘कुलमान हटाउने विषय हिजोको मात्रै होइन । यो सरकार बनेदेखि नै कुलमानलाई हटाउन खोजेको हो । हटाउन खोजेका थिए । कारण के थियो भने प्रचण्डको समर्थन थिएन् । प्रमुख प्रतिपक्षी दलको समर्थन थिएन । अहिले के भयो भने तीन दलको बैठक बस्यो । बैठक बसीसकेपछि प्रचण्डको पनि ढोका खुला गर्ने, यिनीहरुको पनि ढोका खुला गर्ने । यो नेपालमा बेलाबेला यस्तो सम्झौताहरु भइरहन्छन् ।’

टिआरसीमा माओवादी दोषी भएकाले त्यसबाट जोगिनका लागि प्रचण्डले टिआरसीमा समर्थन गरेर कुलमानको पद साटेको आरोप उनकाे थियाे ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले पनि खड्का मन्त्री बन्न लायक नै नरहेको बताइन् । उनले भनिन्,‘ लोडसेडिङ हटाएको भारतलाई धन्यावाद दिनुपर्छ अरे । कहाँबाट आउँछ यस्तो बुद्धि, कहाँबाट हुन्छ यस्तो मन्त्री, कहाँबाट हुन्छ यस्तो सांसद। यिनीहरु नेता बन्न लायककै मान्छे होइनन् ।’

कुलमान हटाउने कुरा सबैलाई दुःखी बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतमले बताइन् । कुलमानले काम गरेकै होइन् भन्नु पूर्वाग्रही भएको उनको भनाइ छ ।

यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादर केसीले कुलमानलाई हटाएर ओली नेतृत्वको सरकार फसेको बताए । यस्तै, माओवादीकै नेता माधव सापकोटाले पनि प्रधानमन्त्रीले स्पष्टिकरण नदिँदासम्म सदन नचल्ने बताए ।

माओवादीकै नेता देवेन्द्र पौडेलले पनि मन्त्री खड्काले भारतले लोडसेडिङ अन्त्य गरेको हो, कुलमानले होइन भन्नु खेदजनक भएको टिप्पणी गरे । उनले भने, ‘नेपाल सरकारले १० हजार मेगावाट बिजुली भारतलाई बेच्ने भनेका छौँ । कुनै बेला नेपालमा अन्धकार हुँदा केही साटफेर गरेको सत्य हो । तर, लोडसेडिङ अन्त्य गरेको भारतले होइन । नेपालकै परियोजनाहरूको चुहावट रोकेर सफल भएको हो ।’

घिसिङले आफूले कुनै गलत काम नगरेको दाबीसहित सफाइ पेश गरे पनि त्यो चित्तबुझ्दो नभएको भन्दै चैत ११ गतेको मन्त्रिपरिषद बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेपछि राजनीतिक माहोल गर्माएको हो ।

Logo