काठमाडौं । संघीय संसदअन्तर्गत आज पनि प्रतिनिधि सभाको बैठक बस्दैछ ।
कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयलाई प्रधानमन्त्रीले जबाफ दिनुपर्ने माग राख्दै सबै विपक्षी दलहरूले विरोध जनाएपछि स्थगित भएको बैठक आज बिहान ११ बजे बस्नेछ ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा अर्थ मन्त्रालय , गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ।
त्यस्तै, ‘बैंकिङ् कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ। बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले लोक सेवा आयोगको पैँसट्ठीऔं वार्षिक प्रतिवेदन (२०८० श्रावण २०८१ आषाढ) पेश गर्नेछन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथी विचार गरियोस्’ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथी विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।































प्रतिक्रिया