राजावादीको हिंसात्मक आन्दोलनः कहाँ के हर्कत मच्चाए ?

राजावादीको हिंसात्मक आन्दोलनः कहाँ के हर्कत मच्चाए ?

केन्द्रबिन्दु
390
Shares

काठमाडौं । राजसंस्था पुनःस्थापनाको माग राख्दै तीनकुनेमा उत्रिएका राजावादीहरुले अराजकताको पनि सिमा पार गरेका छन् । ति प्रदर्शनकारीहरुले सरकारी, व्यक्तिका घर आगलागीदेखि तोडफोडसम्म गरेका हुन् । प्रदर्शनकारीहरुको हर्कतका कारण यति बेला काठमाडौंको मुख्य क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ भने उक्त क्षेत्रमा सेना परिचालन गरिएको छ ।

सुरुवातमा प्रदर्शन शान्तिपूर्वक रुपमा भैरहेको थियो । जब आन्दोलनका मुख्य कमाण्डर दुर्गा प्रसाईंले सुरक्षाकर्मीलाई गाली गर्दै गाडीले पेलेर निधेषित क्षेत्र तोडेका थिए । त्यसपछि आन्दोलनकारीहरु उग्र रुपमा प्रस्तुत भए । उनी आन्दोलनकारीहरुलाई उक्साउँदै आउ-आउ भन्दैै, स्वयं गाडी चलाउँदै अघि बढेको भिडियोमा देखिन्छ । केही पर भने निषेधित क्षेत्रमा ठूलो संख्यामा प्रहरी उभिएका थिए । उग्र गाली गर्दै गाडी चलाउँदै अघि बढेका प्रसाईंले सुरक्षाकर्मीलाईसमेत अश्लिल गाली गरेका थिए । त्यसपछि प्रदर्शनकारीहरुले हिंसात्मक रुपमा सुरक्षाकर्मी माथी ढुंगा मुढा गर्न थाले । त्यस पश्चात प्रहरीले अश्रुग्यासले हानेको थियो ।

राजावादीहरुले कहाँ के हर्कत मच्चाए ?

उग्र बनेका ती प्रदर्शनकारीहरु तीनकुनेमा रहेको व्यक्तिगत घर तोडफोड गरी घरको सबै सिसा फुटाए र त्यतिले मात्र उनीहरुको मन भरिएन । उक्त घरमा आगो समेत लगाए । हुँदा हुँदा आगो निभाउन गएको दमकललाई समेत प्रवेशमा अवरोध सिर्जना गरेका थिए । लगत्तै राजावादी आन्दोलनकारीहरु अन्नपूर्ण पोष्टको कार्यालयमा आगजनी गर्ने प्रयास समेत गरेका थिए । त्यसैगरी उनिहरुले कान्तिपुर टेलिभिजनको कार्यालयको सिसा फुटाएका छन् ।

ती प्रदर्शनकारीहरुले आलोकनगरमा एकीकृत समाजवादी पार्टी कार्यालयमा पनि आगो लगाएका छन् । पार्टी कार्यालयको सम्पूर्ण कागजात बाहिर निकालेर त्यसमा समेत आागो लगाइ दिएका हुन् । केही प्रदर्शनकारीहरु कोटेश्वरका भाटभटेनीमा तोडफोड गरी सामानसमेत चोरी गरेको निर्लज्ज दृष्य भिडियोमा देख्न सकिन्छ । कोही प्रदर्शनकारीले रक्सीको बोटल लुटेको देखिन्छ त कुनै प्रदर्शनकारीले सामानको क्यारेट बोकेर हिँँडेको देखिन्छ ।

तीनकुनेको अवस्था तनावग्रस्त बनेपछि त्यहाँबाट लखेटिएका ति प्रदर्शनकारीहरुले बालकुमारीमा पुगेर बाटो किनारामा रोकेको गाँडीमा आगजनी गरेका थिए । त्यस्तै नेकपा एमाले कार्यालय नजिकै ट्याक्सीमा पनि आगजनी गरे । ति प्रदर्शनकारी यति सम्म अराजक बने कि सरकारी कार्यालय समेत छोडेनन् । काठमाडौंको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरे ।

राजावादी समूहले तोडफोड र आगजनी गर्न सुरु गरेपछि अवस्था यस्तो सिर्जना भयो कि कार्यालयका कर्मचारीहरु त्यहाँबाट भागेर ग्यान जोगाए । कार्यालयमा मात्र नभई गाडीमा समेत आगजनी गरे ।

त्यस्तै, प्रदर्शनकारीले सिनामंगलमा रहेको नेपाल उड्डयन प्राधिकरणको मुख्य कार्यालय अगाडी आगो लगाएका थिए । राजावादीहरु उग्र हुँदा प्रहरीको गोली लागेर कीर्तिपुरका २९ वर्षिय सविन महर्जनको मृत्यु भएको छ । त्यस्तै तिनकुनेको घरमा लागेको आगोमा जलेर एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजकको मृत्यु भएको खबर पनि बाहिरिएको छ । उक्त घरमा राजावादीहरुले तोडफोडका साथै आगो लगाएका थिए, जहाँभित्रै थुनिएका पत्रकार सुरेश रजकको जिउँदै जलेर मृत्यु भएको हो । अन्य दर्जनौं घाइते भएका छन् ।

यो परिदृश्यले एउटा त्रास मच्चाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । राजावादीहरुको आन्दोलन अनियन्त्रित र अराजक बनेपछि काठमाडौंका विभिन्न क्षेत्रमा कफ्र्यू आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कफ्र्यू आदेशमा बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखी एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखी जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखl शंखमुल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म तोकिएको छ ।

राजधानीका केही क्षेत्रमा हिँसात्मक गतिविधि बढाएपछि सेना परिचालन भएका छन् । प्रसाईंले नेतृत्व गरेको आन्दोलनले हिंसात्मक रुप लिएपछि उनलाई पक्राउ गर्ने निष्कर्षमा प्रहरी पुगेको छ ।

Logo