बालेनलाई आफ्नै धम्की भारी, अब कसलाई हाल्लान् टुकुचामा ?

बालेनलाई आफ्नै धम्की भारी, अब कसलाई हाल्लान् टुकुचामा ?

केन्द्रबिन्दु
885
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रमुख प्रशासकीय अधिकृत नयाँ नियुक्ति गरी एक हप्ताभित्र कर्मचारीहरुकाे तलब नदिए सबैलाई टुकुचामा गाड्ने चेतावनी दिएका थिए ।

बालेनले चैत ११ गते साँझ सामाजिक सञ्चालनबाट उक्त अभिव्यक्ति दिँदै अप्रत्यक्ष रूपमा सरकारलाई टुकुचामा हाल्ने चेतावनी दिएका हुन् । तर, उक्त धम्कीपूर्ण अभिव्यक्ति उनलाई नै भारी पर्न थालेको छ । अभिव्यक्ति दिएकाे आज एक हप्ता पूरा भएकाे छ । तर, अझै महानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत नपाउँदा अब बालेनले के गर्लान् भनेर चासोको रूपमा हेर्न थालिएको हाे ।

उनले सो दिन सामाजिक सञ्जालमा लेखेका थिए, ‘काठमाडौं महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत ३ महिनादेखि तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाड्दिन्छु, त्यो पछि हेरौँला तिमी हरूको के के तन्त्र हो ?’

बालेनको यो तर्कले राजनीतिक माहोल निकै तताएको थियो । कतिले बालेन आक्रोशमा आएर यस्तो स्टाटस लेखेको र पदीय मर्यादा भूलेको पनि बताएका थिए, सँगसँगै जे भन्छन् ठिक भन्छन् भन्नेको पनि कमी थिएन । जे होस्, महानगरले प्रमुख प्रशासकीय अधिकृत नपाउँदा अब बालेनको आगामी कदम के होला भनेर हेर्न बाँकी छ ।

काठमाडौं भ्यू टावरमा तला थप्न अवैध तरिकाबाट महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले स्वीकृति दिएसँगै मेयर बालेन उक्त विषयलाई लिएर रुष्ट छन् । निर्णय बिनै गुरागाईंले भ्यू टावर तला थप्न अनुमति दिएको खुलासा भएसँगै उनलाई महानगरले जिम्मेवारीबाट निलम्बन गरेको हो । जसको छानबिन समिति बनाए छानबिन गरेता पनि उक्त समितिले निर्दोष रहेको निचोड निकालेपछि सो प्रतिवेदन बुझ्न बालेनले नमानेको बताइएको छ । गुरागाईं निलम्बनमा परी महानगर प्रमुख प्रशासकीय अधिकृत विहीन हुँदा कर्मचारीको तलब ३ महिनादेखि रोकिएको हो ।

यसबीचमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाईं पुनः नियुक्त दिन पत्र पठाए पनि बालेनले नियुक्ति नदिने अडान लिएसँगै यो विवादले अनेक पक्षलाई जोड्दै उग्र रूप लिँदै छ । यद्यपि काठमाडौं महानगरले आफ्नो वेबसाइटबाट भने गुरागाईंको फोटो हटाइएको छैन ।

बालेनले टुकुचामा गाड्ने व्यक्तिगत बिचार सामाजिक सञ्जालमा दिए पनि यस्तो कार्य सम्भव देखिँदैन । तर, महानगरका प्रवक्ता नवीन मानन्धरले प्रशासकीय अधिकृत बिना कर्मचारीको तलब दिन सम्भव नभएकाले छिटो अधिकृतको व्यवस्था मिलाई काम सहजीकरण गर्नुपर्ने बताए ।

‘कर्मचारीको तलब रोकिएका ३ महिना बढी हुन थाल्यो, यसले कर्मचारीलाई पनि समस्यामा पारेको छ, प्रमुखको प्रशासकीय अधिकृतले व्यवस्था गर्नु प्रमुखको जिम्मेवारी हो, आर्थिक अधिकार अधिकृतसँगै भएकाले तलब रोकिएको हो,’ उनले भने ।

Skip This
Skip This
Logo