काठमाडौं । समय परिवर्तनसँगै विश्वमा सूचना प्रविधि (आईटी) ले एक छत्र राज गरेको छ । त्यसबाट नेपाल पनि अछुतो छैन । विश्वमा प्रविधिले कब्जा जमाइरहँदा शिक्षामा पनि आईटीको माग बढ्दो छ ।
कुनै समय यस्तो थियो, अधिकांश विद्यार्थीलाई कक्षा १२ पछि के अध्ययन गर्ने योजना बनाएका छौं भनेर प्रश्न गर्दा मेडिकल वा इञ्जिनियरियरिङ पढ्ने जवाफ दिन्थे । तर पछिल्लो समय उच्च शिक्षा अध्ययनमा आईटी कोर्ष विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । देशमै सूचना प्रविधिका विशिष्टिकृत कोर्षहरुको पढाइ हुन थालेको छ । आईटी क्षेत्रको विकाससँगै देशका विश्वविद्यालयहरुले सूचना प्रविधिसँग सम्बन्धित नयाँ नयाँ पाठ्यक्रमहरु अध्यापन गराउँदै आएका छन् ।
पछिल्लो समय विश्वविद्यालय र क्याम्पसहरुले विदेशी आईटी कोर्षहरु पनि पढाउन सुरु गरेका छन्, जसका कारण विद्यार्थीहरुले नेपालमै सहज र सस्तो रुपमा आईटी अध्ययन गरिरहेका छन् । त्यति मात्र होइन, विद्यार्थीहरुले पढ्दै कमाउँदै गरिरहेका छन् । त्यसैले त आईटी शिक्षा युग सुहाउँदो शिक्षाका रुपमा सावित भैरहेको छ । बजारमा आईटीका जनशक्ति अत्याधिक माग भएकाले हरेक सानादेखि ठुला व्यवसायमा आईटी आवश्यक हुन थालिसकेको छ ।
यदि सरकाले पनि देशलाई आईटी हब बनाउन सफल भयो भने विद्यार्थीको भविष्य सुनिश्चित गर्ने शिक्षाको रुपमा सूचना तथा प्रविधि कोशेढुङ्गा सावित हुने निश्चित छ । समय सुहाउँदो शिक्षा, पढ्दै, कमाउँदै गर्न सकिने, करियरको सुनिश्चित, स्वदेश र विदेशमा रोजगारीको प्रवल सम्भावनाका कारण विद्यार्थीको आकर्षण आईटी शिक्षामा बढेको हो ।
नेपालकै जेठाे विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा आईटी अध्ययन गर्ने विद्यार्थीको आकर्षण बढेको त्रिवि केन्द्रिय क्याम्पसका पिन्सिपल ध्यानेन्द्र बहादुर राईले बताए । उनले भने, ‘आईटी शिक्षा भनेको समयको माग हो । देश विदेशमा आईटीको बढ्दो माग, सूचना प्रविधि अध्ययन गरेका विद्यार्थीले देशमै स्वयम रोजगारी सिर्जना गर्ने सक्ने, विश्व बजारमा पनि सहजै रोजगारी पाइने भएकाले आईटीमा विद्यार्थीको आकर्षण बढेको हो ।’
रोजगारीको अवसर
आईटी शिक्षा अध्ययन गरेका विद्यार्थीले बेरोजगार बस्नुपर्दैन भन्ने मान्यता रहेको छ । त्यति मात्र होइन, विद्यार्थी स्वयंले रोजगारी सिर्जना गर्न सक्छन् । सूचना प्रविधि क्षेत्रमा काम गर्ने विद्यार्थीहरुको भविष्य उज्वल रहेको कम्प्युटर एशाेसिएसन अफ नेपालका उपाध्यक्ष चिरञ्जिवी अधिकारीले बताए । फ्रि-ल्यान्सरको रुपमा काम गर्नेहरुले पनि राम्रो आम्दानी गरिरहेका छन् । उनले भने, ‘विशेषगरी चौथो, पाँचौं सेमेस्टरमा अध्ययन गर्ने भाइबहिनीहरु काम गर्नुहुन्छ । तर अझै पनि विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पसहरुमा प्राक्टिकल भन्दा पनि थ्योरेटिकल धेरै पढाई हुन्छ । यदि विद्यार्थीहरुलाई प्राक्टिकलमा बढि फोकस गराइयाे भने आईटी क्षेत्र पनि राम्रो हुन्छ ।’
उनले थपे, ‘सूचना तथा प्रविधि क्षेत्रमा काम गर्नका लागि सर्टिफाइडभन्दा क्वालिफाइडको जरुरत हुन्छ । विद्यार्थीले डिजिटल मार्केटिङ, प्रोग्रामिङ, ग्राफिक डिजाइनिङ, वेब डिजाइनिङ जानेको हुनुपर्छ ।’
नेपालको आईटी इन्डस्ट्री राम्रो बनाउनका लागि नेपालका एफिलेटेड कलेजहरुले स्किल बढाउन आवश्यक रहेकोमा जोड दिए । ‘यो विषय अध्ययन गरेका विद्यार्थीले पढ्दै कमाउँदै गर्न सक्ने, अध्ययन खर्च समेत विद्यार्थी आफैंले जुटाउँदै आएका छन् ।’ उनले भने ।
पढ्दै, कमाउँदै
सुमन्त्र यादव आइएसएमटी कलेजमा विएससी (कम्प्युटर सिस्टम इन्जिनियरिङ्ग) तेस्रो सेमेस्टरमा अध्ययनरत छन् । संसार तिब्र रुपमा डिजिटलाइज हुँदै छ । अहिलेको जमाना भनेको सफ्टवेयरको हो । एउटा मोबाइल फोनमा सबै सिस्टम अटेको छ । आईटीमा स्कोप पनि राम्रो भएकाले याे विषय अध्ययन गरिरहेकाे उनले बताए ।
तेस्रो सेमेस्टरमा अध्ययनरत उनी अध्ययन मात्र नभई पढेको ज्ञानलाई व्यवहारमा लागू गरी आर्थिक आयआर्जन गर्दैै आएका छन् ।
अधिकांश विदेशी सफ्टवेयरहरु प्रयोग भैरहेको छ । नेपालमै सिप हुँदाहुँदै विदेशी सफ्टवेयर किन प्रयोग गर्ने ? नेपाली उत्पादन सहज, सजिलो र सस्तोमा बजारमा उपलब्ध गराउँदै आएको सुमन्त्रले बताए । उनको टिमले स्कुल म्यानेजमेन्ट सफ्टवेयर, रेस्टुरेन्ट म्यानेजमेन्ट सफ्टवेयर, कस्टुमर रिलेसनसिप म्यानेजमेन्ट, हस्पिटल म्यानेजमेन्ट सिस्टम, ग्रोइङ मार्केट इन नेपाल, रिमोट वर्क एण्ड अनलाइन एजुकेशन जस्ता सफ्टवेयर प्रोग्रामको निर्माण गरी त्यसलाई मार्केटमा सेल गरेर आर्थिक आयआर्जन पनि गरिरहेका छन् ।
आईटीमा भविष्य बनाउने चाहने विद्यार्थीका लागि नेपालमै राम्रो अवसर छ । तर, नेपालमै बसेर आफ्नो भविष्य बनाउँछु भन्दा काम गर्ने वातावरण नभएकाले दुःख व्यक्त गरे ।
नेपालका राजनीतिज्ञहरु र आममानिसहरुले नै नेपालको प्रोडक्टलाई सपोर्ट नगरिदिएकाले अझै पनि आईटी अध्ययन गरेका विद्यार्थीहरु विदेशिएकाे उनले बताए । उनले भने, ‘अहिले हामी नेपालमै बसेर विदेशीको काम गरिरहेका छौं । नेपाल सरकारबाट केहि सहयोग भयो भने नेपालले आईटी क्षेत्रमा ठुलो फड्को मार्नेछ ।’
नेपालका कुन विश्वविद्यालयमा कुन कोर्ष ?
विश्वव्यापी रुपमा आईटीको माग फैलिरहँदा नेपालका विश्वविद्यालयहरुले पनि आईटीका कोर्षहरु पढाउन थालेका छन् । कतिपय क्याम्पसहरुले विदेशी विश्वविद्यालयका कोर्षहरु पढाइरहेका छन् ।
नेपालमा सञ्चालनमा रहेका विश्वविद्यालयहरुमध्ये अहिले ८ वटा विश्वविद्यालयहरुले स्नातक तहमा आईटी सम्बन्धी कोर्ष सञ्चालन गरेका छन । त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, गण्डकी विश्वविद्यालयमा आईटी कोर्ष अध्ययन हुने गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले बीएससी–सीएसआईटी, इलेक्ट्रोनिक्स, कम्प्युनिकेशन एण्ड इन्फरमेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, बीआईसीटीई, बीसीए, बीआईएम, बीआईटी र बीएससी एमएलटी कार्यक्रम सञ्चालन भैरहेको त्रिवि केन्द्रिय क्याम्पसमा प्रिन्सिपल ध्यानेन्द्र बहादुर राईले बताए । उनले भने, ‘विश्वव्यापी रुपमा बढ्दो मागका कारण आईटीमा विद्यार्थीको माग बढ्दै गएको हो ।’
त्यसैगरी काठमाडौं विश्वविद्यालयले बीएससी इन कम्प्युटेस्नल म्याथेम्याटिक्स, बीबीआईएस, बीएससी इन बायोइन्फर्मेटिक्स, बीटेक बायोटेक्नोलोजी, बी–टेक इन एआई, कम्प्युटर साइन्स र बीएससी एमआईटीका कार्यक्रम सञ्चालन गरेको छ ।
पोखरा विश्वविद्यालयले सफ्टवेयर इन्जिनियरिङ, बीई–आईटी, बिसीए, एमएसी कम्प्युटर साइन्स, इलेक्ट्रोनिक्स एन्ड कम्प्युनिकेसन इन्जिनियरिङ, एमएसी इन्फर्मेशन सिस्तम इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, बीएससी एमएलटी, र बीसीआईएस कार्यक्रम सञ्चालन भैरहेको पोखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन प्राध्यापक राजेश ठकुराठीले बताए ।
जति हुनुपर्ने हो त्यति मात्रामा रोजगारीको अवसर सिर्जना गर्न नसकेकाले सिभिल इन्जिनियरिङतर्फ विद्यार्थीको सङ्ख्या घटिरहेको तर रोजगारीको अवसरका कारण, आईटीमा विद्यार्थीको आकर्षण बढ्दै गएको ठकुराठीले जानकारी दिए ।
त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयले बीसीए, बीआईटी, बायोटेक्नोलोजी, बायोटेक, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स, कम्प्युनिकेसन एन्ड अटोमेसन इन्जिनियरिङ कार्यक्रम सञ्चालन गरेको छ भने मध्यपश्चिम विश्विद्यालय र सुदुर पश्चिमाञ्चल विश्वविद्यालयले कम्प्युटर इन्जिनियरिङ र बीएससी–सीएसआईटी कार्यक्रम सञ्चालन गरेको छ ।
गण्डकी विश्वविद्यालयमा बिआईटी र राजर्षी जनक विश्वविद्यालयमा बिएससी सिएसआटी कार्यक्रम सञ्चालन भइरहेका छन ।
अहिले विश्व नै डिजिटलाइज भैरहेको छ, विदेशमा पनि सूचना प्रविधिको प्रचुर सम्भावना छ, नेपालमा पनि प्रशस्त अवसर सिर्जना भइरहेका छन् । नेपालमै बसेर पनि विदेशका विभिन्न स्थापित कम्पनीमा काम गर्ने अवसर भएपनि देशभित्रै सूचना प्रविधि सम्बन्धी प्रशस्त उद्योगहरु नहुनु र सरकारले नै आईटीलाई बेवास्ता गरेका कारण पुग्दो रोजगारीको अवसर सिर्जना हुन सकेको छैन ।































प्रतिक्रिया