काठमाडौँ
सत्रौँ शताब्दीमा काठमाडौँका सिद्धहस्त जाःमन गुभाजुको जीवनीमा आधारित चलचित्र निर्माण गरिएको छ ।
जेस्सि पेन्नी इन्टरनेट र वाइड बुल्स प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको ‘जाःमन गुभाजु’ नामक चलचित्रको छायाङ्कन चित्लाङमा गरिएको छ । गुवाजुको दैनिक कार्य तालिकामा प्रयोग हुने तन्त्र, मन्त्र लगायत साधनाका बारे पनि सो चलचित्र मार्फत जानकारी दिन खोजिएको छ ।
करीब दुई घण्टा समयावधिको उक्त चलचित्रमा गुवाजुले तान्त्रिक विद्या मार्फत समाजसेवामा पु¥याएको योगदानका साथै जप, तप, ध्यानका माध्यमबाट खराब तत्वमाथि प्राप्त गरेको सफलताका बारेमा विषयवस्तु समावेश गरिएको छ । हाल काठमाडौँ महानगरपालिका–१२ स्थित १२ वर्षे इनारमा पर्ने गुवाजुको घर तथा त्यस वरपर क्षेत्रका स्थानीयवासी बुढापाकाका अनुभवका साथै उहाँका कार्यलाई तीन वर्षदेखि अध्ययन र अनुसन्धान गरिएको छ ।
करीब ५० लाखको लागतमा नेपाल भाषा (नेवारी) मा निर्माण गरिएको सो चलचित्रलाई नेपाली र अङ्ग्रेजी भाषामा समेत अनुवाद गरेर विदेशमा समेत प्रदर्शन गरिने छ । तत्कालीन समयका परम्परागत बाजागाजा समेत चलचित्रमा समावेश गरिएको छ । पछिल्लो पटक विकास भएको अत्याधुनिक प्रविधिको प्रयोग गरिएको सो चलचित्रमा गुवाजुको भूमिकामा सुशील राजोपाध्याय र उहाँको श्रीमतीका रुपमा सरस्वती मानन्धरले अभिनय गर्नुभएको छ ।
यहाँ आयोजित पत्रकार सम्मेलनमा सो चलचित्रका निर्देशक रवि सायमीले तन्त्र र दर्शनका आत्मज्ञानी गुवाजुले राजा प्रताप मल्लको निकट रही तन्त्र साधनाका माध्यमबाट काठमाडौँ तथा वरपरको सुरक्षा तथा दिन दुःखीलाई सहयोग गरेको इतिहास उक्त चलचित्रका माध्यमबाट ल्याउन खोजिएको जानकारी दिनुभयो । मङ्सिर ८ गते बागबजारस्थित सिनेम्याट्रिक्समा उक्त चलचित्रको ‘च्यारेटी सो’ गरिने छ ।
रासस





























प्रतिक्रिया