काठमाडौं । सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा शुक्रबार मध्यरातमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिएको छ । लामिछानेलाई प्रहरीले आज बिहानै यती एयरलाइन्सको विमानमार्फत भैरहवा लगेको हो ।
शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगी गरेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेसँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेत नेतृत्वको टोलीले मध्यरातमा नियन्त्रणमा लिएको हो ।
तर, लामिछानेलाई पक्राउ गर्न काठमाडौंको बूढानीलकण्ठस्थित हेपाली हाइट निवासमै पुगेका एकजना डीएसपीको विवादास्पद भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। त्यो हो, ‘अन्तिम इच्छाको’ ।
शुक्रबार राति साढे ७ बजे उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो। त्यसको एक घण्टामै उनको घरमा प्रहरी पुगिसकेको थियो। पक्राउका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेत, एसपी मनोहर भट्ट, डिएसपी दिपक खड्का लगायत पुगेका थिए।
कुनै कागजपत्रबिना नै प्रहरी पुगेपछि विवाद भयो । लामिछाने स्वयंले पक्राउ पूर्जी खोजे । तर, प्रहरीले तयार गरेको थिएन । केही समयपछि प्रहरीले पक्राउ पुर्जी लेख्यो र रविको हातमा थमायो पनि । तर त्यति नै बेला पक्राउको क्रममा डिएसपी खड्काले अन्तिम इच्छा पूरा गर्न दिने भनेर बताएपछि विवाद भएको थियो। कतै प्रहरीले पक्राउ गरेर ‘इन्कान्टर’ गर्न त खोजेको होइन भनेर रविका सहयोगीले उनीमाथि प्रश्न गरेका थिए । पछि खड्काले पक्राउ पर्नुअघि वकिलसँग सल्लाह गर्ने लगायत अन्तिम तयारीका लागि आफूले त्यसो बताएको भनेका थिए। सुत्ने तरखरमा रहेका व्यक्तिलाई पक्राउ गर्न जानु र अन्तिम इच्छा सोध्नुले अहिले खड्ककाे मात्रै हाेइन, प्रहरी संगठनकै चर्को आलोचना भइरहेको छ ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटी माग गरेको थियो । उक्त आदेश उल्ट्याउँदै उच्चले थुनामा पठाउने आदेश गरेको हो । अब उनी पुनरावेदनमा जाने तयारीमा छन् ।































प्रतिक्रिया