काठमाडौं । सत्ता र शक्तिको आडमा कुनै भ्रष्ट व्यक्ति कसरी ओतिन्छन् भन्ने उदाहरणका लागि धेरै टाढा जानुपर्दैन, सत्तारुढ दल नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनलाई हेरे पुग्छ ।
भट्टचन प्रभु ग्रुपका संस्थापक अध्यक्ष पनि हुन् । प्रभु म्यानेजमेन्टमा उनले ठूलो रकम अनियमितता गरेको खुलेको अहिले होइन, तर छानविन हुँदैन । भट्टचनले सहकारीमा होस् या प्रभु म्यानेजमेन्टबाट अर्बौं घोटला गरेका छन्, ती मध्ये एक हो, व्यक्तिगत पेश्की लगेको ६ करोड ३१ लाख रुपैयाँको हिनामिना ।
प्रभु म्यानेजमेन्टमा भट्टचनले आफैं अध्यक्ष र साक्षी बसी कम्पनीमा आएको रकमबाट व्यक्तिगत पेश्की लगेको प्रमाण फेला परेको हो । भट्टचनसँगै उनका विश्वासिला पार्टनर एवं पूर्व शेयरहोल्डर, सहकारी संघका उपाध्यक्षसमेत रहेका दक्ष पौडेलले समेत प्रभु म्यानेजमेन्टबाट लगेको पेश्की पर्छ्यौट गरेका छैनन् ।
भट्टचन ग्रुपको सेयरहरू सोही कम्पनीमा कार्यरत कर्मचारीका नाममा रहस्यमय तरिकाले सारिए ।
अब चर्चा गरौं, प्रभु म्यानेजमेन्टबाट भट्टचन ग्रुपको रहस्यमय बहिर्गमनको । प्रभु म्यानेजमेन्टको स्थापनाकालमा देवीप्रकाश भट्टचनले ५० प्रतिशत, कुसुम लामा (वर्तमान प्रभु म्यानेजमेन्टकी अध्यक्ष)ले २० प्रतिशत र भट्टचनका ज्वाइँ बिनोद थकालीले २० प्रतिशत सेयर लिएका थिए । यसैगरी देवीप्रकाशका विश्वास पात्र दक्ष पौडेलको नाममा १० प्रतिशत थियो । त्यसबीचमा भट्टचनका ज्वाइँ थकालीले भट्टचनलाई ५ प्रतिशत र लामालाई १५ प्रतिशत सेयर दिएर बाहिरिए । जब अनियमितता बढ्यो । भट्टचन ग्रुपको सेयरहरू सोही कम्पनीमा कार्यरत कर्मचारीका नाममा रहस्यमय तरिकाले सारिए ।
भट्टचनले भतिज मिजास भट्टचनलाई ५५ प्रतिशत सेयर नै भिडाएर आफू पन्छिए । अहिले उनका भतिज मिजासले पनि देवीप्रकाशकी छोरी शिक्षा भट्टचन्न हुँदै उनका विश्वासिला पात्र ध्रुवचन्द्र धिताललाई सो सेयर दिएर बाहिरी सकेका छन् । यसरी तहगत रूपमा प्रभु म्यानेजमेन्ट लुट्दै संस्थापकहरू बाहिरिँदा संस्थाभित्रै आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।
स्थापना कालमा एक करोड मात्रै शेयरहोल्डरहरुको वास्तविक लगानी रहेको प्रभु म्यानेजमेन्टमा त्यसपछि शेयरहोल्डरहरुले व्यक्तिगत बैंक खाताबाट कम्पनीमा रकम आएको पुष्टि हुँदैन । तर, भट्टचन ग्रुपले शेयर बिक्री गरेबापत १२ करोड हिसाब लिएको गएको पनि पाइएको छ । यसरी कमपनीमा आएको रकमबाट व्यक्तिगत पेश्की लिनु, प्रभु ग्रुप स्थापना र विस्तारका लागि रकम बाहिरिनु, आफ्ना नाममा घाटामा रहेका कम्पनीहरुको शेयर खरिद गराउनु जस्ता भट्टचनको क्रियाकलापले कम्पनीको बद्नाम मात्रै भएको छैन, अर्बौंको घोटला पनि भएको छ । तर, प्रहरीमा उजुरी पर्दासमेत कुनै छानविन हुन सकेको छैन ।
भट्टचन आफैं पूर्वअध्यक्ष रहेकाे प्रभु म्यानेजमेन्टमा ४००० सहकारीबाट कराेडाैं रकम भित्रिएको थियो, जुन अहिलेसम्म फिर्ता हुन सकेको छैन ।
भट्टचन लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय थिए । बाग्लुङका स्थायी बासिन्दा भट्टचन काँग्रेसमा रहँदा सभापति शेरबहादुर देउवाले पार्टीको संगठन विभाग उपप्रमुख समेत बनाएका थिए । गोपालमान श्रेष्ठ विभाग प्रमुख हुँदा भट्टचन उपप्रमुख थिए । त्यसअघि ०७४ सालको निर्वाचनमा पनि समानुपातिका कोटामा जनजातितर्फ सूचीमा समावेश थिए । तर, तीन दशक लामो सम्बन्ध तोडेर उनी गत निर्वाचनताका एमाले बनेका हुन् । आर्थिक सहयोग गरेकै आधारमा भट्टचनले एमालेको समानुपातिक सांसद बन्ने अवसर पाएका थिए, त्यो पनि पहिलो नंबरमा । हाल एमाले र कांग्रेस नै सरकार छन्, त्यसकारण पनि सत्ताकै पक्षपोषणमा उनलाई जोगाउन सिंगो प्रहरी संगठन नै सक्रिय भएको आरोप लाग्ने गरेको छ ।
भट्टचन अहिले सहकारी प्रकरणमा अनुसन्धानमा तानिने व्यक्ति हुन् । उनले देशभरका ४००० बढी सहकारीको अर्बौं रकम हिनामिना गरेका छन् । एउटा कम्पनीको एमडी हुँदैमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी प्रकरणमा जसरी अनुसन्धान हुँदैछ, त्यस्तै अनुसन्धानका भागिदार भट्टचन पनि हुन् । ती सहकारीहरुले प्रभु म्यानेजमेन्टअन्तर्गत प्रभु मनी ट्रान्सफरमा एजेन्ट बनेर काम गर्दथे, त्यसैक्रममा अध्यक्ष र मेजर शेयरहोल्डर बनेर उनले सहकारीबाट आएको रकम व्यक्तिगत पेश्की लिनुका साथै अन्य कम्पनीका लगानी समेत गरेकाे पाइएकाे हाे ।
रवि मुछिएको गोरखा मिडियाले ५ वटा सहकारीको मात्रै रकम भित्र्याएको थियो, तर यता भट्टचन आफैं पूर्वअध्यक्ष र दक्ष पौडेल जस्ता सहकारी महासंघका उपाध्यक्ष समेत भइसकेका व्यक्तिहरुबाट सञ्चालित प्रभु म्यानेजमेन्टमा ती हजारौं सहकारीबाट रकम भित्रिएको थियो जुन अहिलेसम्म फिर्ता हुन सकेको छैन ।
प्रभु ब्राण्ड आफ्नो भएको दाबी गर्ने भट्टचनले प्रभु बैंकका सीइओ अशोक शेरचनसँगको मिलेमतोमा कुनै योजनाबिना प्रभु टेक्नोलोजी कम्पनी किन्नका लागि जबर्जस्ती प्रभु म्यानेजमेन्टलाई शेयर र घाटाको ठूलो धोक्रो बोकाएका छन् । जबकी उक्त प्रभु टेक्नोलोजीको शेयर फिर्ता लिएर भट्टचनले प्रभु बैंकलाई बेच्ने हो या आफैं चलाएर झण्डै ६० करोड बराबरको रकम प्रभु म्यानेजमेन्टलाई फिर्ता गरे अधिकांश सहकारी पीडितले बचत फिर्ता पाउनेछन् ।
यो ठगीको विषयमा भट्टचनविरुद्ध प्रभु म्यानेजमेन्टकी वर्तमान अध्यक्ष कुसुम लामाले यही चैत १३ गते संसदको लेखा समिति, अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समितिमा समेत उजुरी दिइसकेकी छन् । लेखा समितिले उजुरी परेको १५ दिनभित्र प्रक्रिया अगाडि बढाउनु पर्ने व्यवस्था छ । तर, भट्टचन अनुसन्धानबाट भागिरहेका छन् र सरकारले पनि संरक्षण नै गरेको आराेप छ ।































प्रतिक्रिया