क्यान प्रवक्तालाई प्रश्न- एनपीएल विजेता टोलीले अझै किन पाएनन् पुरस्कार रकम ?

क्यान प्रवक्तालाई प्रश्न- एनपीएल विजेता टोलीले अझै किन पाएनन् पुरस्कार रकम ?

केन्द्रबिन्दु
141
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा नेपाली क्रिकेट इतिहासमै पहिलोपटक सबैभन्दा ठूलो फ्रेञ्जाइज लिग नेपाल प्रिमियर लिग (एनपीएल) भव्य रुपमा सम्पन्न भएको झण्डै चार महिना वितिसकेको छ । तर, विजेता टोलीले अहिलेसम्म पुरस्कार रकम पाएको छैन ।

यस विषयमा बुझ्दा क्यानका प्रवक्ता छुम्बी लामाले फ्रेन्चाइज टिमसँग आर्थिक लेनदेनको कुरा बाँकी रहेकाले विजेता टिमले पुरस्कार नपाएको तर, बाहिर चर्चा भएअनुसार नभएको पनि प्रष्ट्याएका छन् ।

उनले बुधबार केन्द्रविन्दु डटकमसँग टेलिफोन सम्बाद गर्दै भने, ‘एनपीएलमा सहभागी फ्रेन्चाइज टिम र क्यानबीचको सम्झौता अनुसार नै आर्थिक लेनदेनको छ । फ्रेञ्जाइज टिमहरुले क्यानलाई रकम तिर्नुपर्ने छ । क्यानले विजेता पुरस्कारको बारेमा व्यवस्थापन गर्नुपर्ने छ । विजेता पुरस्कार नदिएको होइन, कि खाली हिसाबकिताब गर्न बाँकी हाे ।’

क्यानले सबै फ्रेन्चाइज टिमहरुसँग समन्वय गरिरहेको र विजेतालाई पुरस्कार दिएन भन्ने कुरा गलत भएको उनले दाबी गरे । ‘देशको एउटा ठुलो प्रतियोगिता गर्दा केही समय लाग्छ । अहिले बुझ्न नसकेको कुरा के भने विजेता टोलीलाई पुरस्कार दिएन भन्ने छ तर यहाँ त फ्रेन्चाइज टिमले नै उल्टै रकम तिनुपर्ने छ,’ उनले भने,‘ यहाँ जनकपुर बोल्ट्सले क्यानलाई तिर्नुपर्ने २ करोड ५ लाख छ तर क्यानले जनकपुरलाई विजेता पुरस्कार स्वरुप १ करोड १० लाख छ । यहाँ त जनकपुरले उल्टै क्यानलाई पैसा तिर्नुपर्ने छ । यस्तै अन्य टिमहरुको पनि भइरहेको छ ।’

क्यानले एनपीएलमा उत्कृष्ट बनेका खेलाडीहरुलाई भने दिनुपर्ने पुरस्कार दिइसकेको छ ।

टिमहरुसँग आर्थिक लेनदेनको कुराहरुमा पनि बैठक बसी छलफल भइरहेको उनले बताए । पहिलो पटक खेलकुद क्षेत्रमा आयोजना गरिएको भएकाले आर्थिक हिसाबकिताब मिलाउन बाँकी रहेकाले विजेतालाई पुरस्कार नदिएको हुनसक्ने कर्णाली याक्सका सह-निर्देशक गृहेन्द्र घिमिरेले बताए ।

उनले भने, ‘विजेतालाई पुरस्कार नदिने मानसिकतामा क्यान छैन । कतिपय फ्रेन्चाइज टिमले क्यानलाई दिनुपर्ने शुल्क तिरहेको छैन होला । फ्रेन्चाइज टिमले पनि आफ्नो तिर्नुपर्ने शुल्क त बुझाउनुपर्यो नि । केहि फ्रेन्चाइजहरुले शुल्क तिरेको छैन् भन्ने मलाइ लाग्छ ।’

सबै फ्रेन्चाइजहरुले केन्द्रिकृत भएर शुल्क तिरेपछि मात्रै विजेता पुरस्कार पाउने उनले बताए । ‘कर्णाली याक्सले क्यानलाई तिर्नपर्ने शुल्क तिरिसकेको छ,’ उनले भने, ‘उनीहरु नियम अनुसार के गर्छन् । हामी त त्यसैका लागि कुरेर बसेका छौँ ।’

लिगमा सहभागी फ्रेन्चाइज टिमहरु पोखरा एभेन्जर्स ३ करोड ५७ लाख, काठमाडौं ३ करोड ३३ लाख ३३ हजार, जनकपुर २ करोड ५ लाख र लुम्बिनी १ करोड ८६ लाखमा टिम खरिद गरेका थिए ।

यस्तै, चितवन १ करोड ७६ लाख, सुदूरपश्चिम १ करोड ६८ लाख ८८ हजार, विराटनगर १ करोड ५१ लाख र कर्णाली याक्स १ करोड ११ लाख ७० हजारमा रुपैयाँमा टिम किनेका थिए । एनपीएलको पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स बनेको थियो । विजेता टोलीले १ करोड १० लाख, उपविजेता टोलीले ५१ लाख, तेस्रो हुने टोलीले २५ लाख र चौथो हुने टोली १५ लाख पुरस्कार नगद पाउने क्यानले घोषणा गरेको थियो । सोही घोषणा अनुसार विजेता जनकपुर बोल्ट्सले १ करोड १० लाख दोस्रोमा सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ, तेस्रोमा कर्णाली याक्सले २५ लाख रुपैयाँ र चौथो हुने चितवन राइनोजले १५ लाख रुपैयाँ पाउनु पर्ने हो ।

पहिलो पटक क्यानले आयोजना गरेका एनपिएल भव्यताका साथ सम्पन्न भएको थियो । उक्त लिगले नेपाली क्रिकेटलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिनाउन थप सहयोग पुर्या‍एको थियो ।

Skip This
Skip This
Logo