काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली विद्यार्थीहरु वैदेशिक अध्ययनमा जानुलाई नकारात्मक रुपमा लिन आवश्यक नरहेको टिप्पणी गरेका छन् ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आयोजना गरेको एडुक्लेभ ३.० कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले वैदेशिक अध्ययनमा विद्यार्थी जानु मानविय स्वभाव रहेको र यसलाई नकारात्मक रुपमा लिन आवश्यक नरहेको बताएका हुन् । शिक्षालाई रोजगारीसँग जोड्न नसक्दा यो अवस्था सिर्जना भएको उनको ठहर छ ।
‘अध्ययनका लागि विदेश जाने परम्परा विगतदेखि चल्दै आएको छ । नेपालमा भन्दा विदेशको विश्वविद्यालयको शिक्षा उत्कृष्ट छ भने उक्त विश्वविद्यालयमा गएर अध्ययन गर्ने विद्यार्थीको हकको कुरा हो ।’ उनले भने, ‘नेपालमा पढ्दै, कमाउँदै गर्ने वातावरण नभएकाले ठुलो सङ्ख्यामा विद्यार्थीहरु वैदेशिक अध्ययनमा गैरहेका छन् । आफ्नो भविष्यको खोजीमा विदेश गैरहेका छन् । यो मानविय स्वभाव हो ।’
नेपालमा पढ्दै कमाउँदै गर्ने नीति ल्याउन सकियो भने विद्यार्थीलाई नेपालमै रोक्न सकिनेमा ज्ञवालीले जोड दिए । उनले भने, ‘विद्यार्थी अध्ययनका लागि विदेश गैरहेका छन् भनेर चिन्तीत हुनु भन्दा विदेशमा अध्ययन गरेका विद्यार्थीलाई कसरी नेपाल फर्काउन सकिन्छ यस विषयमा राज्यले योजना बनाउन आवश्यक रहेको छ ।’
‘वैदेशिक अध्ययनमा गएका विद्यार्थीहरु मध्ये अधिकांश विद्यार्थी नेपाल फर्किन चाहन्छन् तर नेपाल फर्केर के गर्ने ? ति विद्यार्थीका लागि सरकारले के व्यवस्था गरेको छ ?’ उनले भने, ‘ विद्यार्थीलाई नेपाल फर्काउने उत्तम अस्त्र भनेकै देशमै रोजगारीको व्यवस्था गर्नु हो ।’































प्रतिक्रिया