काठमाडौं । नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले नेपाललाई शैक्षिक हब बनाउन राज्य तयार हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आयोजना गरेको एडुक्लेभ ३.० कार्यक्रममा बोल्दै अध्यक्ष बरालले इक्यानले विगत १९ वर्षदेखि नेपाललाई शैक्षिक हब बनाउनुपर्ने आवाज उठाउँदै आएको तर सरकारले अहिलेसम्म ठोस नीति निर्माण गर्न नसकेकोमा दुःख व्यक्त गरेका हुन् ।
उनले भने, “कन्सल्टेन्सीहरू विद्यार्थीलाई विदेश पठाउने मात्र नभई विदेशी विद्यार्थीलाई नेपालमा ल्याउने भूमिका निर्वाह गर्न सक्छन्। तर त्यसका लागि सरकारले विदेशी विद्यार्थीहरूका लागि बसोबासको व्यवस्था, शैक्षिक भिसाको व्यवस्था र सुरक्षाको ग्यारेन्टी दिनुपर्छ।”
अध्यक्ष बरालले नीतिगत रूपमा नै सरकारले सरोकारवालाहरूसँग बृहत् छलफल गर्न आवश्यक रहेको पनि औंल्याए । उनले थपे, “नेपाललाई शैक्षिक हबको रूपमा विकास गर्न शिक्षा क्षेत्रलाई कृषि, संस्कृति, सूचना प्रविधि (आईटी) र अनुसन्धानसँग जोड्नुपर्छ।”
वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूको आधिकारिक तथ्याङ्क सरकारसँग नै नभएको उल्लेख गर्दै बरालले राज्यको कुन निकायसँग यथार्थ तथ्याङ्क छ भनी पनि प्रश्न गरे। “विद्यार्थीहरू बाहिर गए भन्ने राजनीतिक एजेन्डा बनाएर राजनीति गर्ने परिपाटी रहेको छ। यथार्थ कुरा के हो, त्यस विषयमा सोच्न आवश्यक छ,” उनले थपे।
अध्यक्ष बरालले नेपाललाई शैक्षिक हब बनाउन सरकार, शैक्षिक संस्थाहरू र सम्बन्धित व्यवसायीहरू सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए।





























प्रतिक्रिया