काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले अहिलेको युवा पुस्ता (जेन्जी जेनेरेसन) करियरका धेरै विकल्पका कारण कुन विषय पढ्ने भन्ने अन्योलमा परेको बताएका छन्।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले काठमाडौंमा आयोजना गरेको एडुक्लेभ ३.० कार्यक्रममा बोल्दै सीईओ ज्ञवालीले विगतको पुस्तामा जस्तो डाक्टर वा इन्जिनियर बन्ने निश्चित लक्ष्य लिएर अध्ययन गर्ने प्रचलन अहिलेका विद्यार्थीमा नदेखिएको र यसले गर्दा अन्याेलता थपिएकाे बताएका हुन् ।
उनले भने, “हाम्रो पालामा डाक्टर, इन्जिनियर के बन्ने भनेर डिसाइड गरेर पढिन्थ्यो। तर अहिले करियरको धेरै अप्सन भएकाले विद्यार्थीहरु के पढ्ने भनेर कन्फ्युज भएको देखिन्छ।”
सीईओ ज्ञवालीले जेन्जी पुस्ता आफ्नै इच्छा र चाहनाभन्दा पनि साथीभाइले के गरिरहेका छन्, त्यसैको पछि लाग्ने गरेको पाइएको बताए । वैदेशिक अध्ययनको सन्दर्भमा पनि कक्षा १२ पछि उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरु साथीसंगतको लहैलहैमा लागेको उनको भनाइ थियो ।
अहिलेको पुस्ताले एकै ठाउँमा बसेर संसार देख्न पाएको भएपनि शिक्षा प्रणाली पाठ्यपुस्तकमा मात्र आधारित रहेको उनले औंल्याए । “अहिलेको शिक्षा भनेको पाठ्यपुस्तकमा मात्र आधारित छ, उनीहरुलाई जे सिकाइन्छ त्यही मात्र जान्दछन्,” उनले भने, “नतिजामा ४ जीपीए ल्याउने विद्यार्थीलाई सामान्य निवेदन लेख्न पनि आउँदैन।”
विद्यार्थीलाई पढाएपछि पढाइको अवधिभर के सिक्याै भनेर नसोध्ने र केवल नतिजा कस्तो आयो भनेर मात्र सोध्ने प्रवृत्तिले नेपालको शिक्षा प्रणाली उपलब्धिमूलक बन्न नसकेको सीईओ ज्ञवालीले बताए।





























प्रतिक्रिया