यी हुन् यो वर्ष सबैभन्दा धेरै कमाउने शीर्ष १० चलचित्र, कुनले कति कमाए ?[भिडियोसहित]

यी हुन् यो वर्ष सबैभन्दा धेरै कमाउने शीर्ष १० चलचित्र, कुनले कति कमाए ?[भिडियोसहित]

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि २०८१ साल समग्रमा निकै सुखद रह्यो । सामाजिक यर्थाथवादी, लभ स्टोरी खेलाडीको बायोपिकसम्मका विषयमा यो वर्ष फिल्म बनेका छन् । र तिमध्ये यो वर्ष सबैभन्दा धेरै कमाई गर्ने टप १० फिल्महरुका बारेमा हामी यो रिपोर्ट चर्चा गर्नेछौ ।

सुचीको सुरुमा आउँछ, फिल्म पूर्णबहादुरको सारंगी । ‘पूर्णबहादुरको सारंगी’ सर्वकालिन धेरै कमाउने नेपाली फिल्म बनेको छ । चलचित्र विकास बोर्डको रिपोर्टअनुसार यो फिल्मले ४६ करोड ८० लाख रुपैयाँ ग्रस कमाउँदै इतिहास रचेको हो । यो फिल्मका १७ लाख टिकट बिक्री भएका छन् ।

सेभेन सीज सिनेमा र बासुरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। फिल्ममा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली र प्रकाश सपुतको अभिनय रहेको छ। यस फिल्मले गन्धर्व समुदायको सङ्घर्षलाई उजागर गरेको छ र सांस्कृतिक संरक्षण, प्रेम, वियोग र शिक्षामा पहुँचका लागि उनीहरूले सामना गर्नुपरेका चुनौतीहरूमा केन्द्रित छ। यसले सामाजिक र आर्थिक कठिनाइहरूको बीचमा उनीहरूको लचिलोपनलाई चित्रण गर्दछ। यो फिल्मले लामो समयसम्म राम्रो चर्चा पाएको थियो ।

यसवर्ष धेरै कमाउने शीर्ष १० फिल्मको सूचीको दोस्रो स्थानमा ‘१२ गाउँ’ छ । विराज भट्टको निर्देशनमा बनेको यो फिल्मले समग्रमा १९ करोड ९२ लाख रुपैयाँ ग्रस कमाएको छ । फिल्ममा विराज भट्टकै छोरा समिर भट्ट मुल भुमिकामा छन् । साथै फिल्ममा सोनु चन्द्रपाल, दीया मास्के र मुरली धरलगायतको भुमिका छ । चलचित्र ‘१२ गाउँ’ समग्रमा सामाजिक मुद्दा, लागूऔषध तस्करी, बेरोजगारी, उत्पीडन, अत्याचार, प्रतिरोध र न्यायको खोजी जस्ता गम्भीर विषयवस्तु समेटिएको एक सामाजिक(एक्सन ड्रामा हो।

सुचीको तेस्रो नम्बरमा फिल्म ‘छक्कापञ्जा ५’ परेको छ । दीपाश्री निरौलाद्धारा निर्देशित फिल्मले १५ करोड २० लाख ग्रस कमाई गरेको छ । फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा शिवाकोटी, मेक्सम गौडेल, राजाराम पौडेल, रमेश बुढाथोकी लगायतको अभिनय छ । फिल्मले अस्ट्रेलिया र अमेरिकामा पनि राम्रो व्यवसाय गर्न सफल भएको निमार्ण पक्षले दाबी गरेको थियो । यस फिल्मले नेपाली समाजमा व्याप्त भ्रष्टाचार र त्यसको विरुद्ध लड्ने व्यक्तिहरूले भोग्नुपर्ने कठिनाइहरूलाई प्रस्तुत गरेको छ।

त्यस्तै सुचीको चौथौं नम्बरमा फिल्म ‘बोक्सीको घर’ परेको छ । सुलक्षण भारतीले निर्देशन गरेको यो फिल्मले १० करोड २ लाख ग्रस कमाई गरेको छ । बोक्सी कुप्रथाका नाममा महिलामाथि हुने हिंसा र अन्धविश्वासलाई यस फिल्ममा देखाईएको छ । केकीसहित सुपला सापकोटा, स्वेच्छा राउत, रमा थपलियालगायत कलाकारहरूले यसमा अभिनय गरेका छन्। त्यस्तै नेपालमै पहिलोपटक बनेको खेलाडीको बायोपिक अञ्जिलाले वर्षभरीमा धेरै कमाउने फिल्मको पाचौं स्थान ओगट्न सफल भएको छ । मिलन चाम्सले निर्देशन गरेको यस फिल्मले ७ करोड ५० लाख रुपैयाँ ग्रस कमाउन सफल भएको छ ।

‘अञ्जिला’ निर्देशक चाम्सको अहिलेसम्मको सबैभन्दा धेरै कमाइ गर्ने फिल्म समेत हो । यो फिल्म नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । यो फिल्ममा ञ्जिला तुम्बापो सुब्बाले स्वयम अभिनय गरेकी छिन् । कुनै खेलाडी आफैंले आफ्नो बायोपिकमा अभिनय गरेको पनि यो पहिलो फिल्म हो । चलचित्रमा कप्तान सुब्बासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन्। यो फिल्म अझैंपनि हलहरुमा प्रदर्शनरत नै छ ।

त्यस्तै छैटौं नम्बरमा फिल्म पूजार सार्की पर्न सफल भएको छ । दिनेश राउतद्धारा निर्देशित यो फिल्मले ७ करोड ३७ लाख रुपैयाँ ग्रस कमाएको छ । ७ करोड ३७ लाख रुपैयाँमा बनेको यस फिल्म किङडम नेटवर्कको ब्यानरमा बनेको हो । २०४६ सालको वरपर र माओवादी जनयुद्ध कालीन परिवेशमा बनेको फिल्मले जातीय भेदका कारण समाजमा देखिएका विकृती र समस्याहरुलाई चित्रण गरेको छ । चलचित्रमा तात्कालिक समाजले नै स्वीकार नगर्ने अन्तरजातीय विवाहलाई मुख्य द्वन्द्वको रूपमा प्रस्तुत गरिएको छ। फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परिक्षा लिम्बुलगायतको अभिनय रहेको छ।

त्यसैगरी सुचीको सातौं स्थानमा चलचित्र घरज्वाइँ रहेको छ । अनिल बुढा मगरले निर्देशन गरेको यस फिल्मले ५ करोड ९ लाख रुपैयाँ ग्रस कमाई गर्दै वर्षमै धेरै कमाउने फिल्मको सुचीमा छेटौं स्थान ओगट्न सफल भएको हो । मगर समुदाय र संस्कृतिमा आधारित यस फिल्मले मगर समुदायको विवाह र घरज्वाईँ बस्ने संस्कृतिलाई प्रस्तुत गरेको छ । जिएम मुभिज र एबिएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘घरज्वाइँ’मा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिला आलेलगायत कलाकारको अभिनय देख्न सकिन्छ ।

त्यस्तै सुचीको आठौं स्थानमा मेगा स्टार अनमोल केसी र जसिता गरुङले शीर्ष भुमिकामा अभिनय गरेको चलचित्र फर्की फर्की रहेको छ । सुयोग गुरुङद्धारा निर्देशित यो फिल्मले ४ करोड ८४ लाख रुपैयाँ ग्रस आम्दानी गरेको छ । फेन्टासी जनराको फिल्म ‘फर्की फर्की’मा अनमोल र जसिताका अलवा कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता सलोन बस्नेत पनि बिशेष भुमिकामा देखिएका छन् ।

त्यस्तै वर्षभरीमा सबैभन्दा बढी कमाउने फिल्मको नवौं स्थानमा फिल्म मनसरा छ । उपेन्द्र सुब्बाको निर्देशनमा बनेको यस फिल्मले ४ करोड ७८ लाख रुपैयाँ ग्रस कमाएको छ । फिल्मले अन्तर सांस्कृतिक–जातिय सम्बन्ध र काँठका बासिन्दाको जीविकोपार्जन र उनीहरुको संघर्षको कथा चित्रण गरेको छ । यस फिल्ममा मिरुना मगर, दयाहाङ राई, प्रविन खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईको अभिनय छ । निर्देशक उपेन्द्र सुब्बाकैलेखन रहेको फिल्मका निर्माता छायांकार शैलेन्द्रध्वज कार्की हुन् ।

त्यसैगरी सुचीको अन्त्यमा भने फिल्म लाज शरणम् परेको छ । कुमार कट्टेल जिग्री द्धारा निर्देशित फिल्म लाज शरणम्ले ४ करोड ३४ लाख रुपैयाँ ग्रस कमाएको छ । यस फिल्ममा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको म नेपाल हाँसेको हेर्न चाहन्छु नामक गीत पनि छ । कर्णालीको जनजीवन र दुखःद यर्थाथलाई चित्रण गरेको यस फिल्मले नेपालको राजनितीक नेता र मन्त्रीहरुको कटाक्ष साथै व्यङ्ग्य पनि गरेको छ । नेपालको राजनितीमा भएको विकृती र दुर्गम भेग जनताहरुको पिडालाई प्रस्तुत गरेको यस फिल्म हास्य टेलीश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको हो ।

यो फिल्ममा धुर्मुस, विजय, अर्जुन, सागर, हरिष र प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ । यी नै थिए २०८१ मा शीर्ष कमाई गर्ने १० फिल्म ।

तर यी फिल्मबाहेक ‘गाउँ आएको बाटो’, ‘होस्टेल ३’ र ‘ह्रस्व दीर्घ’ लगायतका फिल्मले पनि राम्रै कमाई गरेका छन् ।

Logo