शिक्षा क्षेत्रमा सम्बद्ध व्यक्तित्वहरुलाई प्रश्न- नयाँ वर्षमा नयाँ संकल्प के लिनुभयो ?

शिक्षा क्षेत्रमा सम्बद्ध व्यक्तित्वहरुलाई प्रश्न- नयाँ वर्षमा नयाँ संकल्प के लिनुभयो ?


काठमाडौं । आजदेखि नयाँ वर्ष २०८२को शुभारम्भ भएको छ । नयाँ वर्षलाई हामी नयाँ उमंग, नयाँ उल्लास नयाँ थालनीका रुपमा लिन सक्छौं । वर्षभरि रमाइलो होस्, सोचे अनुसारको उपलब्धी होस् भन्ने कामनाका साथ धुमधामका साथ नयाँ वर्ष मनाइन्छ ।

नयाँ वर्षको सुरुवातसँगै एक वर्ष अवधि भर के गर्ने भन्ने नयाँ योजना बनाइन्छ । त्यसैगरी शिक्षा क्षेत्रमा सम्बद्ध व्यक्तित्वहरुको पनि शिक्षा क्षेत्रमा के गर्ने, कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा नयाँ योजना बन्ने गर्छ । यसै सन्दर्भलाई मध्यनजर गर्दै शिक्षा क्षेत्रसँग सम्बद्ध व्यक्तित्वहरुलाई हामीले नयाँ वर्षमा उहाँहरुको नयाँ संकल्प के छ साेधेकाे छाैं । प्रस्तुत छ, उनीहरुकै शब्दमा-

कृष्ण प्रसाद अधिकारी, अध्यक्ष, प्याब्सन

नयाँ वर्षको सुरुवातसँगै नयाँ योजनाहरु बनाइन्छ । भर्खरै मात्र प्याब्सनको केन्द्रिय कार्यसमितिले नीति तथा कार्यक्रम सार्वजनिक गरेका छौं, सोहिअनुसार अगाडी बढ्ने योजना रहेको छ । निजी विद्यालयहरूले प्रदान गर्दै आएको शैक्षिक गुणस्तरलाई अझै समयसापेक्ष बनाउँदै राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धी बनाउन निरन्तर क्रियाशील रहने मूल्य लक्ष्य रहेको छ ।

त्यसैगरी विद्यालय शिक्षालाई सबै नेपालीको पहुँचभित्र रहन आवश्यक प्रवद्र्धनात्मक क्रियाकलाप गर्दै यसको स्तर अभिवृद्धिका लागि नवप्रवर्तनलाई जोड दिने प्रति सधै क्रियासिल रहने छु । विद्यालयको गुणस्तर सुनिश्चितताको मापदण्ड बनाई गुणस्तर प्रदान गर्ने कार्यक्रमलाई अवलम्बन गर्ने योजना छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा ऐनमा संस्थागत विद्यालयहरु कम्पनी ऐनभित्रै रहने उल्लेख गर्नु भएको छ यो हाम्रो लागि निकै नै सकारात्मक विषय हो । उप्रान्त अव शिक्षा ऐन जारी भएपछि छात्रवृत्ति जस्ता अन्य विषयमा छलफल हुनेछ ।

शेषराज भट्टराई, अध्यक्ष, इक्यान

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) व्यवस्थित नै छ । धेरै उपलब्धिमूलक कामहरु पनि भैरहेका छन् । यसलाई अझै प्रोफेस्नल बनाउँदै लैजानु मुख्य उदेश्य हो । जनमानसमा आजको दिनसम्म पनि कन्सल्टेन्सी भनेको विद्यार्थी विदेश पलायन गराउने माध्यम हो भन्ने भ्रम रहेको छ । हामीले विद्यार्थीलाई उच्च शिक्षाा हासिल गर्न विदेश पठाउने मात्र गर्दैनौं, विदेशी विद्यार्थीलाई नेपाल ल्याउन पनि सक्छौं भन्दै आएका छौं ।

नेपाललाई शैक्षिक हवको रुपमा विकास गर्न सम्भव छ । विदेशी विद्यार्थी ल्याउनमा इक्यानको महत्वपूर्ण भूमिका रहने छ । राज्यले विदेशी विद्यार्थीका लागि अध्ययन भिसाको समेत व्यवस्था गर्न सकेको छैन । देशलाई शैक्षिक गन्तव्यको रुपमा परिणत गर्नका लागि सरकार सम्बन्धित निकायसँग आवश्यक पहलकदमी, छलफल गर्ने विषय पनि प्राथमिकतामा रहेको छ ।

लक्ष्मीकिशोर सुवेदी, अध्यक्ष, शिक्षक महासंघ

शिक्षकहरुको पेशागत हकहित, गुणस्तरीय शिक्षा, विद्यार्थीका हकहितका लागि काम गर्दै आएको छु । यस वर्ष भने जसरी हुन्छ चाँडो भन्दा चाँडो शिक्षा ऐन जारी गराउने मुख्य संकल्प रहेको छ । शिक्षा ऐन जारी गराउनका लागि धेरै दिन देखि सडक आन्दोलनमा छौं ।

यसपालि नयाँ वर्ष नै सडकमा मनाएका छौं । शिक्षा ऐन नभएसम्म सडक छोड्दैनौं । माग पूरा नहुँदासम्म थाक्ने वा गल्न शिक्षकहरुलाई छुट छैन, यो आन्दोलन भनेको निर्णायक आन्दोलनको हो, केबल जितको लागि आन्दोलन हो । यसपालिको संकल्प भनेको शिक्षा ऐन जारी गराउने हो मात्र हो ।

सुवास न्यौपाने, अध्यक्ष, एन प्याब्सन

शिक्षण सिकाईमा जति पनि अभ्यासहरु भैरहेको छ व्यवस्थित नै छ । अझ विद्यालय शिक्षाको गुणस्तरलाई कसरी बढाउन सकिन्छ, त्यसको लागि योजना बनाउने, सम्बन्धित निकायसँग छलफल गर्ने मुख्य योजना रहेको छ । शिक्षण विधिलाई अझै व्यवस्थित गर्दै लैजाने । प्राेफेस्नल डेभलपमेन्टमा केन्द्रित रही अगाडि बढ्ने योजना रहेको छ ।

एनप्याब्सन शैक्षिक गुणस्तरमा काम गरिरहेको छ । आगामी दिनहरुमा पनि गुणस्तरीय शिक्षा, समय सापेक्ष शिक्षा मै केन्द्रित रहि काम गर्नेछौं । सबैभन्दा महत्वपूर्ण विषय संस्कार र सोचमा परिवर्तन ल्याउन ठुलो आवश्यकता देखिन्छ । नकारात्मक सोच हावी भैरहेको अवस्था छ, त्यसलाई रुपान्तरण गर्न विशेष जोड दिने छ ।

सुप्रभात भण्डारी, अध्यक्ष, नेपाल अभिभावक महासंघ

समग्र नेपालको शैक्षिक सुधारका लागि शिक्षा सरोकारवालाहरु सरकार, नीतिनिर्माता, शिक्षक, विद्यार्थी, अभिभावक लगायत सबै जना मिलेर काम गर्न आवश्यक छ । देशमा जन्मेका बालबालिकाहरुलाई युग सुहाउँदो, प्रतिष्पर्धात्मक शिक्षा प्राप्त गर्न पाउने अधिकार संविधान प्रदत्त अधिकारको रक्षा गर्नुपर्छ ।

हुनेलाई हुने, नहुनेलाई पनि हुने बनाउने, गरीवलाई धनी बनाउने, राष्ट्रप्रति प्रेम गर्न सक्ने बनाउने, असल नागरिक बनाउन सक्ने शिक्षा प्रदान गर्नका लागि नयाँ वर्षको सुरुवातसंगै यी यावत विषयमा सबैले संकल्प गर्न आवश्यक छ । शिक्षा नीति त्यति उपयुक्त छैन । त्यसकारण उपयुक्त नीति तर्जुमा गर्ने विषयमा सरकारदेखि लिएर सबै सरोकारवालाहरु विद्यार्थी केन्द्रित भएर योजना बनाउनुपर्छ । यस विषय सधैं उठान गर्दै आएको छु र आगामी दिनहरुमा पनि यस विषयमा बोल्ने छु ।

Logo