काठमाडौँ
सर्वोच्च अदालतमा प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्ति भएपछि पहिलोपटक संवैधानिक इजलास बसेको छ ।
संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत हुनुभएका वरिष्ठ न्यायाधीश दीपकराज जोशी नै वरिष्ठ सदस्यका रुपमा इजलासमा बस्न तयार भएपछि बुधबारदेखि इजलास शुरु भएको हो । गत साउन १८ गते बसेको संवैधानिक इजलास १ सय ३ दिनपछि बसेको हो ।
संवैधानिक इजलासमा हाल २ सय २९ थान मुद्दा रहेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो । दशैं लगत्तै संवैधानिक इजलास बस्ने भनिए पनि न्यायाधीश दीपककुमार कार्की देश बाहिर भएका कारण बस्न सकेको थिएन । संवैधानिक मुद्दा मामिला हेर्नका लागि सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन भएको हो ।
संविधानको धारा १३७ बमोजिम गठन भएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश सहित सर्वोच्च अदालतका अन्य ४ जना वरिष्ठ न्यायाधीश रहने गरी ५ सदस्यीय रहने व्यवस्था छ । न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीशले इजलास तोक्ने व्यवस्था छ ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, न्यायाधीशहरु दीपकराज जोशी, चोलेन्द्रशमशेर जबरा, दीपककुमार कार्की र केदारप्रसाद चालिसे हुनुहुन्छ । उक्त इजालासमा ९ थान मुद्दाको पेसी तोकिएको थियो ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया