काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत लिग लिडर बार्सिलोनाले सेल्टा भिगोमाथि झिनोअन्तरको जित दर्ता गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले इन्जुरी समयमा सेल्टा भिगोलाई ४–३ ले हराएको हो ।
३-१ गाेलले पछि परेको अवस्थालाई उल्ट्याउँदै बार्सिलोनालाई जित दिलाउन राफिन्हाले २ गोल गरे । यस्तै, फेरान टोरेश र डानी अल्मोले समान एकएक गोल गरे । यता सेल्टा भिगोका लागि बोर्जा इग्लेसियासले ह्याट्रिक गरे पनि निराश बने ।
खेलको पहिलो अग्रता भने १२ औँ मिनेटमा टोरेसको गोल मार्फत बार्सिलोनाले गरेको थियो । तर, त्यसपछि खेलको १५औं मिनेट, ५२ औं मिनेट र ६४ औं मिनेटमा गोल गर्दै बोर्जाले ह्याट्रिक पूरा गरे ।
त्यसपछि तर ६४ औँ मिनेटमा ओल्मो र ६८ औँ मिनेटमा राफिन्हाले गोल गरेपछि बार्साले निर्धारित ९० मिनेटमा बराबरी गर्न सफल भयो । ९० मिनेटपछिको इन्जुरी समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै राफिन्हाले गोल गरेपछि बार्सिलोनाले लिगमा दबदबा कायमै राखेको हो ।
३२ खेलबाट बार्सिलोना ७३ अङ्कसहित शीर्ष स्थानमा यथावत् छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ३१ खेलबाट ६६ अङ्क पुगेको छ । यता पराजित सेल्टा भिगो ४३ अङ्क सहित आठौँ स्थानमा छ ।































प्रतिक्रिया