काठमाडौं । अभिभावक संघ नेपाल, केन्द्रीय समितिले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।
शिक्षक आन्दोलनका कारण विद्यार्थीको पढ्न पाउने अधिकार हनन् भएको भन्दै आइतबार अभिभावक संघ नेपालले राष्ट्रिय मानव अधिकार आयोगलाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएको हो ।
विद्यार्थीहरु पढ्न नपाउने वातावरणको सिर्जना भएको हुँदा शिक्षक र विद्यालय कर्मचारीहरुको शिक्षकका जायज मागहरू तत्काल पूरा गरेर शिक्षकलाई कक्षाकोठामा फर्काउनु पर्ने र विद्यार्थीको पढ्न पाउने मौलिक हक सुनिश्चित गर्नका लागि ध्यानाकर्षण गराइएको अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले बताए ।
शिक्षकलाई सम्मान गर्ने कुरामा राज्य चुक्न नहुने र विद्यार्थीहरुको पढ्न सिक्न पाउने नैसर्गिक अधिकारको सबै क्षेत्रबाट सम्मान गरिनुपर्छ । विगत १९ दिनदेखि शिक्षकहरु विभिन्न मागहरू राखेर आन्दोलन गर्दै आएका कारण सामुदायिक विद्यालयका करिब ५५ लाख विद्यार्थीको पठनपाठन, परीक्षा, नतिजा प्रकाशन, विद्यालय भर्ना अभियान प्रभावित हुनुका साथैं विद्यार्थीले पढ्न पाउने अधिकार हनन भएको उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा भनिएकाे छ, ‘शिक्षाका सरोकारवालाहरूको समस्या राज्यले हल गर्न जरुरी छ, शिक्षकका जायज मागहरू तत्काल पुरा गर्नुपर्छ भन्ने कुरामा किन्तु परन्तु हुन सक्दैन । शिक्षक खुसी भए भने मात्रै कक्षा कोठा रमाउँछ तसर्थ शिक्षकलाई सम्मान गर्ने कुरामा राज्य चुक्न हुँदैन । साथसाथै विद्यार्थीको पढ्न सिक्न पाउने नैसर्गिक अधिकारको सबै क्षेत्रबाट सम्मान गरिनुपर्छ भन्ने कुरामा हामी दृढछौँ ।
यस्तै यावत् विषयका साथ आसन्न कक्षा १२ को परीक्षा समेत प्रभाव हुन सक्नेतर्फ मानव अधिकार आयोगको समेत हामी गम्भीर रूपमा ध्यानाकर्षण गराउन चाहन्छौं, विद्यार्थीको पढ्न पाउने हक र बाल अधिकारको रक्षा गर्दै तत्काल आम शिक्षकका समस्याको हल गरेर सामुदायिक विद्यालयहरू पुनःसञ्चालनमा ल्याउन जोरदार माग गछौं ।’
त्यस्तै, कक्षा १२ को राष्ट्रिय परीक्षाका लागि शान्तिपूर्ण वातावरण मिलाउन पनि माग गरिएको छ।





























प्रतिक्रिया