काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिपेक्ष्यमा गैरआवासीय नेपाली संघमा देखा परेको विवाद समाधानका लागि एनआरएनएकै अग्रजहरुले मुख्य भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।
गैरआवासीय नेपाली संघको एक समूहका अध्यक्ष डा.बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग शितलनिवासमा सोमबार भएको भेटघाटमा राष्ट्रपति पौडेलले एनआरएनए विश्व डायस्पोरामै उत्कृष्ट संस्था भएकोले व्यक्तिगत वा कुनै साना समुहगत असन्तुष्टीका कारण संस्था नै अप्ठेरोमा पार्न नहुने उल्लेख गरे ।
‘तपाईहरुको अहिलेको समस्याको निकास निकाल्न एनआरएनकै अग्रजहरुको भूमिका पनि महत्वपूर्ण छ, सकेसम्म मिलेर अघि बढ्दा राम्रो हुन्छ,’ उनले भने ।
भेटमा शेष घले नेतृत्वमा आगामी मे महिनामा एकताको महाधिवेशनका नाममा विधान विपरित गतिविधि गर्न लागेको अध्यक्ष डा बद्री केसीले जानकारी गराए । उनले भने, ‘हाम्रो मुख्य खम्बा भनेको राष्ट्रिय समन्वय परिषद् (एनसीसी)भएपनि घले समुहले एनसीसीको अधिवेशन नै नगरी आफू खुशी एकता महाधिवेशनको नाममा विधानविपरित गतिविधि गर्न लागेको छ ।’
जवाफमा राष्ट्रपति पौडेलले भने, “विधानसम्मत रुपमा विधिपूर्वक सबै काम हुनुपर्छ, त्यसैले यसमा परराष्ट्र मन्त्रालय जो यस संस्थाको तालुकदार पनि र सरकारको कार्यकारी पनि हो उसले नै मार्गप्रशस्त गर्नुपर्छ । तर जे जसो भनेपनि पहिले त तपाईहरु नै मिल्नुपर्छ । संवादमार्फत एउटा मिलनविन्दु खोज्नैपर्छ ।’
उक्त अवसरमा अध्यक्ष डा केसीले सरकारले गैरआवासीय नेपाली नागरिकता दिएपनि त्यसको कार्यान्वयन नहुँदा समस्या भइरहेको अवस्थामा अध्यादेशमा समेत कुनै नयाँ व्यवस्था नहुँदा नागरिकता कार्यान्वयनविहिन भएको उल्लेख गरे ।
जवाफमा राष्ट्रपति पौडेलले संंविधानमै भएको अधिकार सरकारले संकुचित गर्न नसक्ने बरु त्यसका लागि आवश्यक कानून बनाउन ढिलाई भएको हुनसक्ने उल्लेख गरे ।
उक्त भेटमा अध्यक्ष डा.बद्री केसी, उपाध्यक्षद्वय डा. हेमराज शर्मा, रोजिना प्रधान राई, उप–महासचिव सोमनाथ सापकोटा, सचिव राधिका गुरुङ (टीका), सह–कोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सेना, एनसीसी बेल्जियमका पूर्वअध्यक्ष खड्क बहादुर केसी, अमेरिका प्रतिनिधि आरसी पन्त ,सल्लाहकार अतुल कोइराला, संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास, तथा डा.मीन रानाभाट(यूके), संघका सिइओ राजेन्द्र कुमार राउत, सञ्चार अधिकृत इन्द्रलक्ष्मी घिमिरे लगायतको उपस्थिति रहेको थियो ।































प्रतिक्रिया