काठमाडौं । सभामुख देवराज घिमिरेले असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न यथासम्भव कानुन बनाउन अपिल गरेका छन् ।
प्रतिनिधिसभाको छैटौँ अधिवेशन प्रारम्भ भएको अवसरमा संसद्मा सङ्क्षिप्त सम्बोधन गर्दै सभामुख घिमिरेले संसद्ले निर्माण गर्नुपर्ने कानुनलाई यथासम्भव टुङ्ग्याउन सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताए ।
“संसद्को मुख्य जिम्मेवारी कानुन निर्माण गर्नु नै हो”, सभामुखले भने, “समयमा नै कानुन बनाउन नसक्दा देखिएका असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न संसद्ले निर्माण गर्नुपर्ने कानुनलाई यथासम्भव टुङ्ग्याउन साझा प्रतिबद्धता आवश्यक छ ।”
संसद् जनताको आवाजको प्रतिनिधित्व गर्ने थलो भएको उल्लेख गर्दै सभामुख घिमिरेले संसद्मा राष्ट्रिय मुद्दाहरूमा बहस गरिने र जनताको चाहनाअनुरूप निर्णयहरू लिइने बताए । उनले प्रतिनिधिसभाको आजदेखि सुरु भएको बजेट अधिवेशन सरकारको नीति तथा कार्यक्रम, बजेटसँगै कानुन निर्माणका लागि पनि सफल हुने विश्वास व्यक्त गरे ।
संसद्को प्रभावकारिता अभिवृद्धि गर्न सकेमात्रै लोकतन्त्रको सुदृढीकरण, सुशासन, जवाफदेहिता र जनउत्तरदायी शासनप्रणाली निर्माणमा सहयोग पुग्ने सभामुखको भनाइ छ । “प्रभावकारी संसद्ले मात्रै देशका समस्या समाधान गर्न उपयुक्त नीति तथा कानुन बनाउँछ, सामाजिक न्याय, आर्थिक विकास र राष्ट्रिय समृद्धिमा टेवा पुर्याउने भएकाले आगामी अधिवेशन सफल बनाउन अपिल गर्दछु”, उनले भने ।
बजेट अधिवेशनमा संसद्को कामको चापलाई ध्यान दिँदै सभामुखले शनिबार र सार्वजनिक बिदाबाहेक संसद् सञ्चालन गरेर विद्यालय शिक्षा विधेयक, सङ्घीय निजामती सेवा विधेयक टुङ्ग्याउने गृहकार्य गरेका छन् । नीति तथा कार्यक्रम र बजेटका बीच पनि शिक्षा, निजामतीलगायतका महत्वपूर्ण विधेयकलाई अघि बढाउन संसद्को आगामी क्यालेन्डरमा समय सुरक्षित गरिएको छ ।





























प्रतिक्रिया