काठमाडौंका निजी विद्यालयले दिने छात्रवृत्तिमा वडास्तरीय समितिको सिफारिस मात्र मान्य हुने

काठमाडौंका निजी विद्यालयले दिने छात्रवृत्तिमा वडास्तरीय समितिको सिफारिस मात्र मान्य हुने

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिको नामावली छात्रवृत्ति छनोट समितिको निर्णय मात्र मान्य हुने शिक्षा विभागले जनाएको छ ।

शिक्षा अधिकृत नेत्रनारायण पौडेलले आज सबै संस्थागत विद्यालयहरुलाई परिपत्र गर्दै जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्गता भएका, महिला, दलित, जनजाती, द्वन्द्व पीडित र सहिदका परिवारलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउन आग्रह गरेका हुन् । लक्षित वर्गका विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउन सम्बन्धित विद्यार्थी र अभिभावकबाट आवेदन लिन, छात्रवृत्ति पाउने विद्यार्थीको नामावली सूचना पाटीमा टाँस गर्न र आउँदो जेठको पहिलो हप्ताभित्र महानगरपालिकामा विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ ।

छात्रवृत्ति छनोट समितिको संयोजकमा वडाध्यक्ष वा वडाध्यक्षले तोकेको वडा सदस्य रहनेछन् । विद्यालयका प्रधानाध्यापक, महानगरपालिकाको शिक्षा विभागबाट सम्बन्धित विद्यालय हेर्ने विद्यालय निरीक्षक र शिक्षा अधिकृत, विद्यालय व्यवस्थापन समितिमा रहेको अभिभावक प्रतिनिधि सदस्य रहने महानगरकाे भनाइ छ ।

छात्रवृत्ति प्रदान कार्यलाई पारदर्शी र प्रणालीमा आधारित बनाउन अघिल्ला शैक्षिक सत्रहरुमा यस वर्ष पनि स्कलरसिप इन्ट्री सिस्टम विकास गरिएको छ । विद्यालयहरूले शैक्षिक सत्र २०८२ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको विवरण उपलब्ध गराउन लिङ्क उपलब्ध गराइएको छ । प्रणाली सञ्चालन गर्न विद्यालयलाई इमेल र एसएमएसबाट युजर नेम र पासवर्ड उपलब्ध गराइएको छ । यो विवरण २०८१ जेठ १ गतेभित्र प्रविष्ट गराइसक्नु पर्नेछ ।

व्यवस्था बमोजिम विवरण पेश नगरेमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ र ५७ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्नेसहित कानुन बमोजिम आवश्यक कानुनी कारबाही गरिने विभागले जनाएको छ ।

शैक्षिक सत्र २०८० मा कक्षा १ देखि १० सम्म अध्ययन गर्ने करिब १३ हजार विद्यार्थीले र शैक्षिक सत्र २०८१ मा करिब १९ हजार विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका थिए ।

Skip This
Skip This
Logo