भक्तपुर
हिन्दुको दोश्रो महान् चार्ड तिहार नजिकिएपछि भक्तपुरमा माटोका भाडा बनाउँदै आएका कुमाल समुदायलाई यतिखेर भ्याइनभ्याइ छ । माग अनुसारको पाला बनाउन भक्तपुरको बोलाछे, तालाको, पोटीस्क्वायर, च्यामासिंह, जगाते, सूर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे, चपाचो, पाँचो लगायतका क्षेत्रका प्रजापतिलाई भ्याइनभ्याइ भएको हो ।
माटोको अभाव भएको र तिहारमा मात्रै पाला, धुपौरा लगायतका माग बढ्ने, अरु बेलामा माटोको भाडाका माग कम हुने भएपछि यो पेशाबाट विस्थापित हुन थालेपछि माटोका भाडा उत्पादन समेत कम भएको छ ।
माटोको भाडा बनाउने यो पेशाबाट विस्थापित हुन थालेपछि यस वर्ष तिहारका लागि माग अनुसारका पाला तथा धुपौरो बनाउन नसकिएको प्रजापतिहरु बताउँछन् । यस वर्ष पाला बनाउँने प्रजापतिको सङ्ख्या घटेपछि पेशा अङ्गाल्दै आएकालाई भने पाला बनाउन भ्याइनभ्याइ भएको हो ।
तिहार नजिकिँदै गएको र अर्डर अनुसारका पाला, धुपौरो दही राख्ने ठेकी बनाउँन पनि भ्याइनभ्याइ भएको भक्तपुर नगरपालिका १२ पोटरीस्क्वायरका राजेश प्रजापतिले बताउनुभयो । गत वर्ष ६० हजार पाला बिक्री गरेको बताउँदै उहाँले भन्नुभयो, “धेरै मानिस यो पेशाबाट विस्थापित भएका छन्, पालाको माग बढेको छ, तर उत्पादन कम छ, मेरो छ जनाको परिवार अहिले बिहान देखि बेलुका सम्मै खटिने गरेका छौ. ।”
पाला बनाउँदै आएका न्हुच्छेकुमार प्रजापतिले परिवारमा नौ जना भए पनि अन्य पेशामा लागेकाले आफू एक्लैले यो पेशालाई निरन्तरता दिएको बताउनुभयो । पालाको माग बढेपनि माटोको अभाव र काम गर्ने मान्छेहरु नहुँदा माग अनुसारका उत्पादन हुन नसकेको बताउँदै उहाँले यस वर्ष माग र मूल्य दुवै बढेको बताउनुभयो ।
माटोका भाडा बनाउने आधुनिक मेशिनमा एक छिन हात खाली नराखी पाला बनाउन व्यस्त स्थानीय ४२ वर्षका कृष्ण प्रजापति एक दिनमा एक हजार ५०० देखि दुई हजार वटासम्म पाला बनाउने गरेको बताउनुहुन्छ । भक्तपुरमा मात्र नभई पालाको माग बाहिर जिल्लादेखि अन्तर्राष्ट्रिय बजारसमेत बढेकाले कुमाल समुदायलाई पाला बनाउँन यतिखेर भ्याइनभ्याइ भएको मध्यपुर थिमिका रुजेन प्रजापतिले बताउनुभयो ।
काठमाडौं, पोखरा, नुवाकोट, नेपालगञ्ज, भैरहवा, काभ्रे लगायतका विभिन्न जिल्लाबाट अर्डर भएका पाला लगायतका सामान बनाउन भ्याइनभ्याइ भएको उनीहरु बताउँछन् । तिहार सकिएपछि अलि फुर्सद होला, नत्र यत्तिकै हो भन्ने कुमालले काम गर्न समेत भागवण्डा लगाउने गरेका छन् ।
घरका पुरुष माटो ल्याउने, माटो मुछ्ने, भाडा बनाउन, भाडा पोल्ने लगायतका काम गर्छन् भने महिलाहरु भने भाडा सुकाउने, भाडामा रङ्ग लगाउने र भाडाको व्यवस्थापन गर्न मै व्यस्त छन् । तिहारमा कुमाल समुदायका एक परिवारमा कम्तीमा ७५ हजार देखि बढीमा पाँच लाख सम्मको पाला बिक्री हुने गरेको कुमाल समुदायको भनाइ छ । मूल्य बढेपछि यस वर्ष एक सय वटा पालाको मूल्य २०० देखि २५० सम्म र प्रतिवटा तीन रुपैयाँ सम्ममा खुद्रामा बिक्री गरिरहेको छ ।
रासस































प्रतिक्रिया