काठमाडौं । सर्वोच्च अदालतको आदेश अनुरूप एकता महाधिवेशनबाट गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा महेशकुमार श्रेष्ठ सर्वसम्मत चुनिएका छन् । शेष घलेको नेतृत्वको उच्चस्तरीय समितिले सर्वसम्मत श्रेष्ठ नेतृत्वको टिम चुनिँदा यसलाई ऐतिहासिक दृष्टिकोणबाट पनि हेरिएको छ ।
अध्यक्ष बने आफ्नो कार्यकालमा सङ्गठनलाई विभाजन वा गुटबन्दीबाट माथि उठाएर समावेशी, पारदर्शी र साझा उद्देश्यमा आधारित संस्था विकास गर्ने बताउँदै आएका श्रेष्ठले अब एनआरएनमा नयाँ गति दिने विश्वास धेरैले लिएका छन् ।
नेतृत्व सम्हाल्नुअघि नै ‘एकता, पारदर्शिता र समावेशिता’ लाई आफ्नो मूल मन्त्र बनाएका श्रेष्ठले कार्यकारी अध्यक्षको रूपमा कार्यभार सम्हाल्दै संघमा नयाँ ऊर्जा ल्याउने प्रतिबद्धता उनको छ । विश्वभर छरिएर रहेका नेपालीहरूको साझा संस्था एनआरएनए पछिल्ला वर्षहरूमा गुटबन्दी, आन्तरिक विवाद र नेतृत्वको असहमतिले ग्रस्त हुँदै आएको थियो ।
तर, श्रेष्ठको नेतृत्वले यस संस्थालाई पुनः एकजुट बनाउने अपेक्षा गरिएको छ । श्रेष्ठले कार्यभार ग्रहण गर्दै सार्वजनिक रूपमा भनेका छन्, ‘एनआरएनए कुनै एक व्यक्तिको हैन, यो विश्वभर रहेका नेपालीहरूको साझा संस्था हो, मेरो पहिलो प्राथमिकता एकता कायम गर्नु र एनआरएन परिवारलाई एउटै दृष्टिकोणमा ल्याउनु हुनेछ ।’
संगठनको समावेशी स्वरूपलाई अझ व्यापक बनाउने योजना अघि सारेका श्रेष्ठले युवाहरू, महिलाहरू, व्यवसायी, पेशाकर्मी लगायत विभिन्न वर्ग र क्षेत्रलाई एनआरएनएमा प्रतिनिधित्व गराउन विशेष अभियान चलाउने पनि बताउँछन् ।
नेतृत्वमा आएसँगै उनले राष्ट्रिय एकताको सन्देश दिनुका साथै नेपाल प्रतिको प्रेम र जिम्मेवारीलाई संस्थागत रूपमा रूपान्तरण गर्न सबै एनआरएनलाई आह्वान गरेका छन् । उनको यो दृढता र रणनीतिक दृष्टिकोणले एनआरएनएभित्रको विखण्डन अन्त्य भई एकीकृत, सबल र विश्वसनीय संस्था बन्ने आशा गरिएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अहिले एक संवेदनशील मोडमा पुगेको छ । विश्वभरि रहेका लाखौं प्रवासी नेपालीहरूलाई एउटै छातामुनि ल्याउने उद्देश्यले स्थापना भएको यो संस्था पछिल्लो समय आन्तरिक विवाद, गुटबन्दी र विश्वासको संकटमा फसेको छ ।
यस्तै परिवेशमा कार्यकारी अध्यक्षको रूपमा श्रेष्ठले नेतृत्व सम्हालेको अवस्थामा एकता गरी कसरी अगाडि बढ्छन् भन्ने विषय धेरैले चासोको रूपमा हेरेका छन् । पछिल्ला केही वर्षमा एनआरएनएभित्र नेतृत्व प्रतिस्पर्धा मात्र होइन, व्यक्तिगत स्वार्थ, गुटगत सोच र शक्ति केन्द्रित खेलले संस्थाको विश्वसनीयता गुमाउँदै आएको छ ।
युरोप, अमेरिका, अस्ट्रेलिया लगायतका प्रमुख देशहरूमा एनआरएन सदस्यहरूबीच मतभेद देखिएको थियो । कतिपय निर्णयहरू विवादित बनेका थिए भने कतिपय सदस्यहरूले संगठनबाटै विमुख हुन थालेका थिए ।
नेतृत्व सम्हाल्नुअघि नै ‘एकता, पारदर्शिता र समावेशिता’ लाई आफ्नो मूल मन्त्र बनाएका श्रेष्ठले कार्यकारी अध्यक्षको रूपमा कार्यभार सम्हाल्दै संघमा नयाँ ऊर्जा ल्याउने प्रतिबद्धता उनको छ ।
यही परिस्थितिमा श्रेष्ठ जस्तो अनुभवी, संयमी र दीर्घदृष्टिवान नेतृत्वद्वारा संस्थालाई पुनः एकत्र गर्ने कार्य प्रारम्भ भएको छ । श्रेष्ठ विगत दुई दशकदेखि प्रवासी नेपाली अभियानसँग सक्रिय रूपमा जोडिएका छन् । उनी आफैं पनि प्रवासमा बसेर संघर्ष गरेका, नेपाली समुदायसँग घनिष्ठ सम्बन्ध राख्ने र संस्थागत नेतृत्वमा विश्वास गर्ने व्यक्ति मानिन्छन् ।
को हुन् उनी ?
गैरआवासीय नेपाली माझ निकै परिचित नाम हो महेशकुमार श्रेष्ठ । जापानमा आफ्नो व्यवसायिक साम्राज्य विस्तार गरी सफल एनआरएनको रूपमा चिनिने श्रेष्ठ विश्वभरका नेपालीमाझ अभिन्न रूपमा जोडिएका छन् ।
सन् २००३ देखि एनआरएनएसँग आबद्ध उनी जापानबाट राष्ट्रिय समन्वय परिषद्को संस्थापक, संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को कोषाध्यक्ष हुँदै अहिले अध्यक्षको जिम्मेवारीमा छन् । बागलुङमा जन्मिएका, कुश्मामा हुर्की बढेका उनी कर्मथलो खोज्दै जापान उडेका थिए ।
लामो समयदेखि नेतृत्वको असमझदारी, गुटबन्दी र निष्क्रियताले ग्रस्त एनआरएनएमा अहिले फेरि एकपटक समृद्ध र समावेशी भविष्यको आशा पलाएको छ ।
त्यसैलाई आधारभूमी बनाएर उनले अर्थोपार्जन मात्र गरेनन्, आफ्नो मुलुकको लागि खास योगदान दिइरहेका छन् । खासगरी रेमिटेन्स, सूचना प्रविधि, पर्यटन, वित्तीय क्षेत्रमा उनले गरेका काम र लगानी उल्लेख्य छन् ।
पछिल्लो समय उनी कृषिकर्ममा जोडिएका छन् । विदेशमा सिकेका र अनुभव गरेका कृषि प्रणालीलाई नेपालमा पनि अभ्यास गर्ने योजनामा छन् । श्रेष्ठको जीवनलाई लेखाजोखा गर्ने दुई पाटो छन् । एक, व्यवसायिक जीवन । दुई, संस्थागत नेतृत्व ।
अहिले श्रेष्ठ माथि एनआरएनको जिम्मेवारी आइपुग्दा अगाडि बढ्दा यस भित्र चुनौती अथाह छन् । उक्त चुनौतीहरूलाई सुल्झाई एनआरएन राष्ट्र निर्माणको प्रभावकारी सारथिको सन्देश दिन सकेको खण्डमा श्रेष्ठ व्यवसायी मात्र होइन एउटा सफल नेतृत्वकर्ताको रूपमा चिनिने छन् ।
एनआरएनहरूमा नयाँ ऊर्जा
श्रेष्ठको आगमनसँगै विश्वभरिका एनआरएनहरूमा नयाँ ऊर्जा थपिएको छ । सामाजिक सञ्जालदेखि संस्थागत बैठकसम्म अब नेतृत्वमा ‘भरोसा र संवाद’ को भावना फर्किएको छ । विभिन्न देशका एनआरएन इकाइहरूले एकै स्वरमा स्वागत गरिसकेको अवस्थाले एउटा सकारात्मक सन्देश यहाँबाट देखाएको हो ।
अब एनआरएनएको केवल आन्तरिक संरचना मात्र नभई प्रवासी नेपालीहरूको आत्मसम्मान र नेपालसँगको सम्बन्धलाई पनि नयाँ दिशातर्फ लैजाने श्रेष्ठले बताए । ‘विगतको तिक्तता भुलाएर सबैलाई एकसाथ अगाडि बढ्नु नै उचित हो, हामी नेतृत्वमा भएता पनि एनआरएनलाई नयाँ गति दिनु हामी सबैको दाइत्व भएकाले सहजीकरणको बाटो अपनाउनु पर्छ,’ उनले भने ।
विदेशमा सिकेका र अनुभव गरेका कृषि प्रणालीलाई नेपालमा पनि अभ्यास गर्ने योजनामा श्रेष्ठ छन् ।
लामो समयदेखि नेतृत्वको असमझदारी, गुटबन्दी र निष्क्रियताले ग्रस्त एनआरएनएमा अहिले फेरि एकपटक समृद्ध र समावेशी भविष्यको आशा पलाएको छ । उनका स्पष्ट दृष्टिकोण, संवादमुखी व्यवहार र समावेशी नेतृत्व शैलीले सबै तह एनआरएनहरूलाई फेरि एकपटक संस्थासँग जोड्ने अवसर सिर्जना अन्य एनआरएनहरूले बताएका छन् ।
श्रेष्ठले एनआरएनहरूको नेपालप्रतिको लगाव र उत्तरदायित्वलाई संस्थागत बनाउने अठोट गरेका छन् । यस्तै, एनआरएनए अब केवल प्रवासको संस्था मात्र नभई नेपाल विकासको साझेदारको मूर्त रूप पाउने विश्वास एनआरएन स्वयमले पनि लिएका हुन् ।































प्रतिक्रिया