मकवानपुरको थाहा नगरपालिकामा जारी तेश्रो थाहा महोत्सबमा खोलाको पानी प्रयोग हुने गरेको तथ्य सार्वजनिक भएको छ । महोत्सबमा स्टल राखेका होटल ब्यबसायीहरुले समेत खोलाको पानी प्रयोग गरि खानेकुरा बनाउने गरेको फेला परेको हो ।
खोलाको फोहोर पानी प्रयोग गरि पकाइएका खानेकुरा खाएर अबलोकनकर्ताहरु धमाधम बिरामी पर्न थालेपछि स्थानीयले नगरपालिकामा उजुरी गरेका थिए । स्थानीयको उजुरीपछि थाहा नगरपालिकाले पत्र लेखेर आयोजक थाहानगर उद्योग वाणिज्य संघलाई सचेत बनाएको छ । ‘मेलामा स्वच्छ खानेपानीको ब्यबस्था गरि मेला संचालन सुचित गरिन्छ।’ सूचनामा उल्लेख छ ।
त्यस्तै महोत्सवमा अबोलाकनकर्तालाई आकर्षित गर्न राखिएको फोटोहरु पनि बिना अनुमति प्रयोग भएको पाइएको छ । प्रदर्शनीमा आफुले खिचेका फोटोहरु बिना अनुमति र स्रोत समेत उल्लेख नगरी राखिएको भन्दै थाहा–३ का गणेश विष्टले विज्ञप्ती प्रकाशन गरी ध्यानाकर्षण भएको जनाएका छन् । ‘कार्तिक १० गतेखि संचालन भइरहेको तेस्रो थाहा महोत्सबमा पर्यटकीय जोनमा मैले खिचेको फोटोहरु देख्दा साह्रै खुशी लाग्यो तर मैले खिचेका फोटोहरु बिनाअनुमति प्रदर्शनीमा राखिएको छ । अनुमतिबिना फोटोहरु प्रदर्शनीमा राखिनू कानून बमोजिम हो ? यो कुरामा मेरो आपत्ति छ । यो घटनामा न्याय संवत् रुपमा न्याय दिलाइदिन सम्पूर्ण सरोकारहरुप्रति विनम्र अनुरोध गर्दछु ।’ बिज्ञप्तिमा उल्लेख छ।
थाहानगर उद्योग वाणिज्य संघले एकलौटीरुपमा मेला संचालन गरेपछि स्थानीय गुठी शुरुदेखि नै बिरोधमा उत्रिएका थिए । गुठीले यसपटक इन्द्रायणी चौरमा मेला संचालन गर्न नदिने भन्दै चर्को प्रतिबाद समेत गरेको थियो ।
मेलामा दैनिक औसत ७० लाखको हाराहारीमा कारोबार भैरहेको छ । यदपि मेलामा आयोजकले करिब ६ करोड रुपैयाको कारोबार हुने जनाएको छ । मेला पर्यटन प्रबर्धनका लागि भनिए पनि कमाउमुखी भएको भन्दै स्थानीयले बिरोध जनाएका छन् ।
गत कार्तिक १० गतेबाट संचालन भैरहेको मेलाको प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका थिए। मेला ९ दिनसम्म संचालन हुनेछ ।





























प्रतिक्रिया