‘पोलिसी लिडरसिप’ तालिम सम्पन्न

‘पोलिसी लिडरसिप’ तालिम सम्पन्न

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । नेपाल सरकारका नीतिनिर्माणमा संलग्न अधिकारीलाई लक्षित गरी नेपाल पोलिसी इन्स्टिच्युट एनपिआइ ले सञ्चालन गरेको आठमहिने नेपाल पोलिसी लिडरसिप तालिम एनपिएलपी २०२४ सम्पन्न भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा उक्त तालिम सम्पन्न भएको हो ।

एनपिआइका अध्यक्ष डा खगेन्द्रराज ढकालले समापनका अवसरमा आठ महिनाको कार्यक्रम उपलब्धिमूलक भएको उल्लेख गरेका छन् । उनले तालिम विभिन्न घटनामा आधारित रहेको र नीतिनिर्माणसँग सम्बन्धित निर्णय प्रक्रियामा आवश्यक फ्रेमवर्क र विश्लेषणका तरिका सिकाउने उद्देश्यले तयार पारिएको बताएका हुन् ।

एनपिआइका कार्यकारी सदस्य तथा नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनालीले काठमाडौँ विश्वविद्यालय र नेपाल सरकारसँगको सहकार्यमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले यस प्रकारको त्रिपक्षीय सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

प्रमुख अतिथि काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा अच्युत वाग्लेले नीति बनाउने कर्मचारी जानेर पढेर आए पनि नीति कार्यान्वयन गर्ने राजनीतिक नेतृत्वको प्रतिबद्धता अभावका कारण कार्यान्वयन पक्ष कमजोर हुने गरेको धारणा राखेका छन् । उनले एनपिएलपीजस्ता कार्यक्रम व्यावहारिक र सृजनात्मक अभ्यास भएको उल्लेख गर्दै काठमाडौँ विश्वविद्यालय र एनपिआइबीच भविष्यमा पनि नीति अनुसन्धान तथा तालिममा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तालिम विभिन्न तीन चरणमा सम्पन्न भएको हो । जसमा प्रि–रेसिडेन्सी, रेसिडेन्सी र पोस्ट–रेसिडेन्सी सत्र सञ्चालन गरिएको थियो । पोस्ट–रेसिडेन्सी सत्रमा सहभागीले आफ्नो कार्यक्षेत्रमा सिकेका सीपहरू प्रयोग गर्ने अवसर पाउने व्यवस्था गरिएको थियो । साथै आवश्यक परेमा एनपिएलपी टिमबाट सहकार्य र समर्थन प्राप्त हुने व्यवस्था पनि गरिएको जनाइएको छ ।

मैनालीका अनुसार एनपिएलपीमा नौ जना प्रशिक्षकले सहजीकरण गरेका थिए । जसमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञहरूको सहभागिता थियो । एनपिएलपीका सहजकर्ताको संयोजन डा गम्भीर भट्टले गरेका थिए भने डा खगेन्द्र ढकाल, डा गोपी खनाल, गोपीनाथ मैनाली, शरु जोशी, डा पूर्ण नेपाली, डा प्रमोद जोशी र सम्झना श्रेष्ठलगायत विज्ञहरूले सहजीकरण गरेका थिए ।

त्यस क्रममा अन्तरराष्ट्रिय विज्ञ स्याली वाशिङ्गटनले नीति नेतृत्वको अन्तरराष्ट्रिय सन्दर्भ तथा आवश्यक सीप र क्षमताबारे विशेष सत्र सञ्चालन गरेका थिए ।

Skip This
Skip This
Logo