काठमाडौं । रोटरी क्लब अफ काठमाडौं मिडटाउनले जलवायु परिवर्तनको गम्भीर चुनौतीप्रति जनचेतना जगाउन र हिमाली क्षेत्रका प्रभावित समुदायलाई सहयोग गर्न एक विशेष च्यारिटी डिनर कार्यक्रम आयोजना गर्दैछ ।
“रेस्पाेण्डिङ टु द क्लाइमेट क्राइसेस इन द हिमालय रिजन” नारासहित सोल्टी होटलमा जेठ ११ गते साँझ ६ः३० बजे हुने यो कार्यक्रमले नेपालको हिमाली भेगमा जलवायु परिवर्तनले ल्याएको सङ्कटलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ।
पत्रकार सम्मेलनमा बोल्दै क्लबकी अध्यक्ष रुपी सिंहले जलवायु परिवर्तनको असर नेपालजस्ता हिमाली मुलुकमा तीव्र गतिमा देखिएको बताइन्। “हिमालमा हिउँ पग्लने क्रम, बाढी–पहिरोको जोखिम र कृषिमा परेको असरले हाम्रो जीवनशैली र जीविकोपार्जनलाई चुनौती दिइरहेको छ। यो सङ्कटविरुद्ध एकजुट भएर काम गर्नु हामी सबैको साझा दायित्व हो,” उनले भनिन्।
कार्यक्रमका प्रमुख वक्ता डा. कृष्ण बेलबासेले तथ्याङ्क प्रस्तुत गर्दै हिमाली क्षेत्रको भयावह अवस्थालाई उजागर गरे । “विश्वको औसत तापक्रम वृद्धि २.७ डिग्री सेल्सियस पुग्ने अनुमान छ, तर हिमालयमा यो दर दोब्बरभन्दा बढी छ। हरेक वर्ष ३ मिटरको दरले हिमनदीहरू पछाडि सर्दै छन्, जसले हाम्रा जलस्रोत, कृषि र पर्यावरणमा गम्भीर असर पारिरहेको छ,” उनले भने।
नेपालको कार्बन उत्सर्जन विश्वमा न्यून भए पनि जलवायु परिवर्तनको मार भने यहाँका समुदायले असमान रूपमा भोग्नुपरेको उनको भनाई छ।
यो च्यारिटी डिनरमा करिब ३०० जना सहभागीको उपस्थिति अपेक्षित गरिएको छ। कार्यक्रममा जलवायु परिवर्तनसम्बन्धी जानकारीमूलक प्रस्तुति, भिडियो प्रदर्शन, प्रेरक वक्ताहरूको मन्तव्य, साङ्गीतिक मनोरञ्जन र स्वादिष्ट डिनरको व्यवस्था गरिएको छ । यो अवसरले सहभागीहरूलाई जलवायु सङ्कटको गहिराइ बुझ्न र समाधानका लागि योगदान गर्न प्रेरित गर्नेछ।
क्लबका सचिव कल्पना पराजुलीले फन्डरेजिङबाट सङ्कलित रकम “नेचुरल डिजास्टर रेस्पाेन्स फण्ड” मा जम्मा गरिने बताइन्। “यो कोषले हिमाली क्षेत्रका जोखिममा परेका समुदायलाई तत्काल राहत, सजगता अभियान र आपत्कालीन तयारीमा सहयोग गर्नेछ,” उनले भनिन्।
यो पहलले दीर्घकालीन रूपमा वातावरण संरक्षण र समुदाय सशक्तीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा नेपाल सरकारले पेरिस सम्झौताअन्तर्गत गरेका प्रतिबद्धताहरूको पनि चर्चा हुनेछ । डा. बेलबासेले भने, “सरकारी नीति र नागरिकस्तरको सहकार्यले मात्र जलवायु सङ्कटको सामना गर्न सकिन्छ। हामीले सचेतना, पूर्वतयारी र दिगो जीवनशैलीलाई प्राथमिकता दिनुपर्छ।”
रोटरी क्लब अफ काठमाडौं मिडटाउनले यो कार्यक्रममा सहभागी हुन इच्छुक सबैलाई क्लबको आधिकारिक वेबसाइट वा इमेलमार्फत सम्पर्क गर्न आह्वान गरेको छ। यो च्यारिटी डिनर केवल एक रातको कार्यक्रम मात्र होइन, यो जलवायु परिवर्तनविरुद्धको लडाइँमा सार्थक योगदान गर्ने अवसर हो।





























प्रतिक्रिया