युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले राष्ट्रिय खेलकुद परिषद्को नेतृत्व परिवर्तन गर्ने कसरत सुरु गरेका छन् । ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी भइरहेका बेला मन्त्री विश्वकर्माले राखेपमा आफूअनुकूलको नेतृत्व ल्याउने तयारी गरेका हुन् ।
कर्मचारी नियुक्तिलगायतमा राखेप सदस्य सचिव केशव विष्टले अडान लिएपछि नेतृत्व नै परिवर्तन गर्ने तयारी भएको स्रोतको दाबी छ । त्यसका लागि केहीलाई बोर्ड सदस्य बनाउने प्रस्ताव मन्त्रालयले तयार गरेको छ । मन्त्री विश्वकर्माको निर्देशनमा युवा तथा खेलकुद मन्त्रालयले केही व्यक्तिको नाम राखेपको बोर्ड सदस्यमा प्रस्ताव गर्दै मन्त्रिपरिषद्को बैठकमा पठाएको छ । प्रधानमन्त्रीको अस्वस्थ्यताका कारण मन्त्रिपरिषद्को आइतबारको बैठक लामो समय बस्न सकिएन । त्यसकारण बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण मात्रै स्वीकृत गरियो । बैठकमा अरु एजेन्डा प्रवेश हुन पाएन ।
मन्त्रालय स्रोतका अनुसार राखेपका पूर्वउपाध्यक्ष पिताम्बर तिमिल्सिना, इन्दिरा निरौला र राजेश गुरुङको नाम राखेपको बोर्ड सदस्यका लागि प्रस्ताव गरिएको छ । ओखलढुंगाकी निरौला उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल र पोखराका गुरुङ खेलकुद मन्त्री स्वयंको कोटाबाट वोर्ड सदस्यमा सिफारिश भएका हुन् । प्रधानमन्त्रीको हवाला दिंदै राखेपका पूर्वउपाध्यक्ष तिमिल्सिनाले बोर्ड सदस्य बनाउन खेलकुद मन्त्रीलाई दबाब दिँदै आएका थिए ।
तिमिल्सिनालाई सदस्य सचिव बनाउने योजनाका साथ मन्त्री विश्वकर्माले नेतृत्व परिवर्तनको तयारी गरेका हुन् । राखेप स्रोतका अनुसार ८ औं राष्ट्रिय खेलकुदमा हुने करोडौं खर्चलाई मध्यनजर गरेर नेतृत्व रस्साकस्सी भएको छ । तिमिल्सिनालगायतले प्रधानमन्त्री र खेलकुदमन्त्रीलाई सदस्य सचिव हटाउन दबाब दिँदै आएका छन् ।
८ महिनाअघि मन्त्री बनेका विश्वकर्माले राखेप सदस्यसचिव विष्टबाट आफूअनुकूलको काम हुन नसक्ने निष्कर्ष निकाल्दै सदस्य सचिव परिवर्तनको तयारी गरेका हुन् । त्यसैले पनि मन्त्री विश्वकर्मा राखेपको कार्यकारी पदमा आफू निकटका व्यक्तिलाई ल्याउन चाहन्छन् । सोही योजना अनुसार मन्त्री विश्वकर्मा आफैँले तिमिल्सिनालाई राखेपको बोर्ड सदस्य बनाउने र त्यसपछि उनैलाई नै कार्यकारी भूमिकामा ल्याउने तयारी गरेका हुन् ।
आगामी माघको अन्तिम साता आठौं राष्ट्रिय खेलकुद आयोजना हुँदैछ भने त्यसलगत्तै नेपालले १३औं दक्षिण एसियाली खेलकुद पनि आयोजना गर्दैछ । यी दुई ठूला प्रतियोगिता आयोजना गर्न राज्यको ठूलो धन राशी खर्च हुन्छ ।
८ औं राष्ट्रिय खेलकुद र १३औं सागअघि नै मन्त्री विश्वकर्मा राखेपमा आफू अनुकुलको ब्यक्ति ल्याएर ती प्रतियोगिताको बजेट समेत आफ्नै तरिकाले खर्च गर्ने योजनामा छन् । ठूला प्रतियोगिताहरु आउनुअघि नेपाली खेलकुदमा यसअघि पनि यस्ता चलखेल हुँदै आएका छन् ।
प्रधानमन्त्री ओली भने राखेपका सदस्यसचिव विष्टलाई पूरै कार्यकाल काम गर्न दिने पक्षमा छन् । सदस्य सचिव नियुक्तिमा ओली असन्तुष्ट भए पनि विष्टले प्रधानमन्त्रीको विश्वास लिएका छन् । निर्वाचन आचारसंहिता लागू भएकाबेला नियुक्त भएका कांग्रेस समर्थितलाई हटाउन नै गाह्रो भएकाबेला विष्ट अदालतमा गए के हुन्छ भन्ने ख्याल गर्न प्रधानमन्त्रीले सम्झाएका छन् । ओली निकट खेलकुदका नेताहरुले सदस्यसचिव परिवर्तनको माग राख्दा प्रधानमन्त्रीले विष्टलाई पूरा कार्यकाल काम गर्न दिँदा के हुन्छ भन्ने जिज्ञासा राखेका थिए ।
आफ्नै प्रयासमा सम्बन्ध सुधार गरेका सदस्य सचिव विष्टप्रति प्रधानमन्त्री नकारात्मक छैनन् । प्रधानमन्त्री निकटका अनुसार विष्टले चाहेका बेला प्रधानमन्त्रीलाई भेट्ने र खेलकुद गतिविधि ब्रिफिङ गर्ने गरेका छन् ।
राखेप सदस्यसचिव विष्टले भने मन्त्री विश्वकर्माले आफूलाई हटाउने उद्देश्यसहित मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लगेको विषयमा जानकारी नभएको बताएका छन् । ‘यस विषयमा मलाई कुनै जानकारी छैन । मेरो विचारमा यो निराधार हल्ला मात्र हो । मन्त्रीज्यू र मेरोबीचमा कुनै असमझदारी छैन,’ सदस्यसचिव विष्ट भन्छन्, ‘मन्त्रिपरिषद्को बैठक बसेको दिन मन्त्रीज्यू र म १३ औं साग तयारी समितिको बैठकमा सँगसँगै थियौं ।’































प्रतिक्रिया