प्रतिफल प्राप्त हुने क्षेत्रमा सहुलियतपूर्ण ऋण परिचालन गर्नुपर्छ: सांसद चौधरी

प्रतिफल प्राप्त हुने क्षेत्रमा सहुलियतपूर्ण ऋण परिचालन गर्नुपर्छ: सांसद चौधरी

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री भगबती चौधरीले सहुलियतपूर्ण ऋणलाई राष्ट्रिय प्राथमिकीकरणका आधारमा प्रतिफल प्राप्त हुने क्षेत्रमा परिचालन गरिनुपर्ने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै पूर्वमन्त्री चौधरीले त्यस्तो बताएका हुन् । उनले भने,’सहुलियतपूर्ण ऋणलाई राष्ट्रिय प्राथमिकीकरण अर्थात् प्रतिफल प्राप्त हुने क्षेत्रमा परिचालन गरिनुपर्दछ । सामाजिक क्षेत्रको विकास र सामाजिक न्यायको कुरामा प्राथमिकता दिनुपर्छ । शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा पहुँच तथा गुणस्तरमा सुधार हुने क्षेत्रमा काम गरिनुपर्छ ।’

सार्वजनिक खर्चलाई औचित्यपूर्ण बनाउनुपर्ने भन्दै उनले स्रोतको अभावलाई पुष्टि गर्न सक्ने आधार ल्याइएको बताए ।

कृषि, पर्यटन र सूचना प्रविधि तथा आइटी क्षेत्रको कुरालाई दिगो रूपमा अगाडि बढाउनुपर्ने भन्दै उनले निजी क्षेत्रको लगानीका लागि सहज वातावरण निर्माण गर्दै लैजानुपर्ने बताए । ‘निजी क्षेत्रको लगानीलाई सहज वातावरण प्रदान गर्दै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ’, उनले भने । रोजगारीको अवसर सिर्जना गर्ने कुरामा विशेष जोड दिनुपर्ने उनको भनाई थियो ।

व्यापार घाटा न्यूनीकरण गर्दै जानुपर्ने भन्दै उनले भने, ‘अहिले धेरै व्यापार घाटा छ । पछिल्लो समय गत वर्ष भन्दा केही सुधार त भएको छ । त्यो सँगसँगै सार्वजनिक वित्त सन्तुलन गर्नका लागि विनियोजनको कुशलताको अभिवृद्धि गर्न आवश्यक छ ।

त्यसैगरी सांसद चौधरीले सीमान्तकृत वर्ग, पछाडि परेको क्षेत्र र समुदायका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । राज्यबाट प्रदान गर्ने अनुदान सुविधा दोहोरोपनलाई हटाउने कुरा सकारात्मक भएको भन्दै उनले क्षेत्रगत रूपमा प्राथमिकताका आधारहरू छुट्टाउनुपर्दा राज्यको नजरबाट छुट्दै आएका क्षेत्रलाई छुटाउन नहुने बताए ।

यसैगरी उनले सबै पालिकामा पर्यटकीय क्षेत्रको विकासका लागि विशेष योजना ल्याउन काम गर्नुपर्ने बताए ।

पूर्वमन्त्री चौधरीले भने, ‘७५३ पालिकामा आन्तरिक वा बाह्य पर्यटन क्षेत्रको विकासका लागि काम गर्नुपर्छ । प्रत्येक पालिकामा एउटा आन्तरिक पर्यटकीय गन्तव्य तोकिनुपर्छ । जसमा कति पर्यटक भित्र्याउन सक्छौं त्यसको लक्ष्य निर्धारण पनि गरिनुपर्छ । अहिलेको प्राथमिकता आइटी क्षेत्र हो । त्यसैले यसमा हामीले जोड दिन आवश्यक छ ।’

Skip This
Skip This
Logo