बिनोद खनालको शब्द र बबिना भट्टराईको स्वरमा ‘गजल नदीमा तिमी छौ’ सार्वजनिक

बिनोद खनालको शब्द र बबिना भट्टराईको स्वरमा ‘गजल नदीमा तिमी छौ’ सार्वजनिक

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । पछिल्लो समय गीत संगीतको क्षेत्रमा गजल लोकप्रिय बन्दै गएको छ । परम्परागत साहित्यिक शैलीलाई समेट्दै समसामयिक विषयवस्तु प्रस्तुत गर्ने माध्यमको रूपमा गजलको प्रभाव विस्तार भइरहेको छ ।

नेपाली गजलकारहरूले राजनीतिक, सामाजिक, प्रेम, पीडा, परदेशी जीवनजस्ता विषयहरूलाई गजलमार्फत प्रभावशाली ढंगले प्रस्तुत गर्दै आइरहेका छन् जसले गर्दा जनमानसको भावना उजागर गर्न गजलले सहयोग पुर्याएको छ भने गजलले नेपाली साहित्यमा भाषिक सौन्दर्य, लयात्मकता, प्रतीकात्मकता र गहन अर्थ भित्राएको छ । गजलले साहित्यिक विधामा विविधता समेत ल्याएको छ ।

नयाँ पुस्ताका लेखक तथा पाठकहरू पनि गजलप्रति आकर्षित भइरहेका छन् । नेपाली गजल अहिले साहित्य, संगीत र समाजको बीचमा सेतुको काम गर्दै, परम्परा र आधुनिकताको सन्तुलनमा गहिरो प्रभाव छोडिरहेको अनुभूति भइरहेको छ ।

नदीमा तिमी छौ, लहरमा तिमी छौ
म डुंगा हुँ मेरो सफरमा तिमी छौ ..

नदी शब्दकोषले गरेको शाब्दिक व्याख्या अनुसार कुनै पर्वत, ताल आदिबाट निस्केर निश्चित स्थानबाट बहदै अरु नदीनाला संग मिसिदै वा एक्लै समुन्द्रमा मिसिने जल प्रवाह हो तर गजलको यो शेरमा नदीको परिभाषालाई यत्तिले मात्र पूर्णता दिदैन । नदी जीवनयात्राको प्रतीक पनि हो । नदी निरन्तर बगिरहने, परिवर्तनशील र अन्ततः समुद्रमा विलिन हुने एक लामो, अथाक र अनवरत यात्राको प्रतीक हो । नदीको लहरताले निरन्तर चलायमानता, उतारचढाव अनि नदीको चञ्चलता, आवेग, ऊर्जाशीलतालाई जनाउँछ, नदी अनि नदीको लहरमा ‘तिमी’ अर्थात् जता पनि तिमी छौं । जसरी नदी संग लहर जोडिएको छ त्यसै गरि जीवनको हर पाटाहरुमा तिमी जोडिएका छौ, जहाँ नदी त्यहाँ लहर, जहाँ जीवन त्यहाँ तिमी, लहर विनाको नदी र तिमी विनाको जीवन उस्तै उस्तै हो जो कल्पना भन्दा बाहिरको कुरा हो ।

डुंगा आफैंमा निरपेक्ष केही होइन, जबसम्म त्यसले नदीमा यात्रा नगरेको हुन्छ । तिमी जीवनको मूल प्रवाहमा छौ, तिमी नै जीवनलाई दिशानिर्देश गर्ने तत्व हौ । जीवनको प्रत्येक तहमा तिमी प्रेमिल भावमा घुलमिल छौ । “नदीमा पनि, लहरमा पनि” तिमी, तिमी मात्र वरिपरि होइन भित्रभित्रै छौ। जीवनको हरेक भित्री तह तहमा तिमी समाहित छौ । तिमीले नै मेरो सम्पूर्ण अस्तित्व सम्हालिरहेको छौ। प्रेमको गहिरो भाव अनि प्रेममा एकअर्का विचको निर्भरता, समर्पण भाव गजलको यो शेरले बोलेको छ । साधारण शब्दहरूले एक गहिरो भावना बोलेको छ, प्रेमलाई केवल आकर्षणको रूपमा होइन, सांसारिक यात्रा, अस्तित्व, र आत्माको गहिरो सम्बन्ध स्वार्थरहित, पूर्ण समर्पित, र समग्र अस्तित्व को रूपमा प्रस्तुत गरिएको छ ।

तिमी साँझ मेरो तिमी नै बिहानी
उषाको सुनौलो प्रहरमा तिमी छौ..

“साँझ” दिनको अन्त्य अनि बिहानी प्रारम्भ । हरेक बिहानी आशाको नयाँ किरण सहित प्रारम्भ हुन्छ । बिहानी आशा, नयाँ सुरुवात अनि उज्यालोको प्रतीक हो भने साँझ थकाई, विश्राम अनि स्मृतिको समय । तिमी उषाको त्यो पहिलो किरण हौ जसले दिव्य आशा बोकेको हुन्छ, तिमी उज्यालोको श्रोत पनि हौ, तिमी नै सुरुवात हौ अनि तिमी नै अन्त्य । तिमी विना बिहानै अध्यारो छाउँछ जीवनमा । तिमी नै विहानीमा घामको झुल्को जस्तै मेरो जीवनको उज्यालाको किरण हौ । तिमी विना न विहानी पूर्ण छ न त साँझ नै । जीवनका हर क्षण, हर घडीमा तिमी नै तिमी छौ ।

बनि दृष्य सुन्दर नयन सामु आयौ
भएँ मन्त्रमुग्ध नजरमा तिमी छौ ..

तिमी सुन्दर मात्र होइनौ तिमी नै सौन्दर्य हौ, नयन त एउटा बाटो हो नयनको त्यहि बाटो हुदै तिमी मन भित्रै समाहित भएका छौ । तिमीमा म यति मोहित छु कि तिमीलाई केवल नजरले देख्ने मात्र होइन तिमीलाई म अनुभूत गर्न सक्छु, तिमीलाई म सधैं सधैंका लागि आफू भित्रै समाहित भएको भावमा पाउँछु । तिमीलाई सधैं आँखा अगाडि पाउँछु त्यो दृष्य केवल दृष्य हुदैन त्यहाँ तिमीलाई सजिव चित्रमा म अनुभूत गर्न सक्छु, तिमीमा स्वतः मन तन्मय हुन्छ, मन्त्रमुग्ध हुन्छ । तिमी याद मात्र होइनौ अनूभूति हौ ।

मिलनको प्रतीक्षा नलम्ब्याउ धेरै
गुलाबी रहरको अधरमा तिमी छौ…

प्रतीक्षा आफैंमा पट्यारलाग्दो शब्द हो, प्रेममा त प्रतीक्षाको हरघडी एउटा युग बनिदिन्छ, प्रेम मिलनको तिव्रतामा प्रतीक्षा अवरोध हो, जति चाडो यो अवरोधको अन्त्य हुन्छ त्यति सुखद् अनुभूति संगाल्ने अवसर मिल्छ । प्रेममा अधिरता, तिव्रता र ब्याकुलता अधिक हुन्छ, मिलनको उत्कृष्ट चाह हुन्छ । प्रेममा मिलन केवल ‘भेट हुनु’ मात्र होइन प्रेममा ‘मिलन’ त्यो भाव हो जहाँ आत्माको एकरुपता हुन्छ, असिमित समर्पणको भाव हुन्छ । अधरबाट नै बोली प्रष्फुटन हुन्छ, अधरमा नै मुस्कान छाउँछ अनि अधर नै चुम्बनको माध्यम पनि हो । प्रेममा प्रतिकात्मक रुपले नजिकपनको सम्वन्ध दर्शाउँछ अधर तर त्यस्तो प्रतीक प्रेम जहाँ शारिरिक मात्र होइन भावानात्मक र सौन्दर्यमूलक प्रेमिल रुपको उजागर हुन्छ । यो शेरमा मुधर आग्रह, प्रेमको मीठासपन र प्रतिक्षाको गहिरो ब्याकुलता दर्शाइएको छ । तिमी मात्र रहर होइनौ त्यो रहरको रस अर्थात मूलभाव पनि तिमी हौ ।

यति प्रेमिल भावको गजल लेख्ने गजलकार हुन् बिनोद खनाल । उनका यी प्रेमिल शेरहरुलाई गायिका तथा संगीतकार बबिना भट्टराईले आफ्नाे मधुर र लययुक्त स्वर एवं संगीतमा सजाएकी छिन् । उक्त गजलमा लालकाजी श्रेष्ठ एरेन्ज रहेको छ । म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेका उक्त गजलकोे मिक्सिङ मास्टरिङ प्रकाश खरेलले गरेका छन् ।

ए.जे. अजुले निर्देशन गरेका ‘नदीमा तिमी छौ’ को भिडियो सम्पादन भने अनिल विष्ट प्युठानीले गरेका छन् । भिडियोमा बबिना आफैं फिचर्ड भएकी छिन् । ‘नदीमा तिमी छौ’ गजलको भिडियोमा रोजिना श्रेष्ठ ले श्रृङ्गार सहित दिपक सापकोटा हारमोनियम, अनिश गन्धर्व तवला, सुनिल राई गितारमा रहेर बबिनाको गायनलाई गजलमय बनाएका छन् । गजल ‘नदीमा तिमी छौ’ भिडियो गायिका तथा संगीतकार बबिना भट्टराईको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

इमेज एफ.एम. ९७.९ मा हरिराम पौडेलले संचालन गर्ने प्रस्तुति ‘मेची देखि महाकाली सम्म’ मार्फत गजलको अडियो सार्बजनिक गर्दै गजलकार बिनोद खनालले नेपाल सरकारका पूर्व मुख्य सचिव तथा बरिष्ठ गजलकार डा. भोजराज घिमिरेको उत्प्रेरणाले आाफूले गजल लेख्न थालेको र यो क्रममा झण्डै एक हजार गजल लेख्दा रेकर्ड भएको यो आफ्नाे पहिलो गजल भएको बताउँदै गजलले आम दर्शर र श्रोताको मन जित्न सफल हुने विश्वास व्यक्त गरे भने गायिका तथा संगीतकार बबिना भट्टराईले बिनोद खनालका यति प्रेमिल भावको गजलमा आफूले स्वर तथा संगीत गर्न पाउनुलाई एउटा सुनौलो अवसरको रुपमा लिएको बताएकी छिन् । आफूले निकै मेहनतका गाएकी आफ्नाे यस गजललाई तमाम पाठक, दर्शक, श्रोताले सुनेर हेरेर न्याय दिनुहुनेछ भन्ने आफ्‌नो अपेक्षा रहेको पनि उनले बताइन् ।

गायिका भट्टराईले गजल ‘नदीमा तिमी छौ’ सार्वजनिक भएको खुसी साट्दै भन्छिन्, ‘बिनोद खनालका प्रेमको गहिरो भाव बोकेको यो गजललाई यहाँहरु सबैले मन पराइदिने अपेक्षा राखेकी छु, गजल सुनेर तथा हेरेर गजलको बारेमा आफ्‌नो अमुल्य सल्लाह, सुझाव दिन पनि मेरा दर्शक तथा श्रोताहरुलाई अनुरोध गर्दछु साथै यस गजलको श्रृजनामा जोडिने सम्पूर्ण टिम प्रति आभार व्यक्त गर्दछु ।’

कवि तथा गीतकार प्रमोद भट्टराई ‘प्रतीक’ आफ्‌ना प्रिय मित्र बिनोद खनालको गजल ‘नदीमा तिमी छौ’ का सन्दर्भमा भन्छन् ‘गजलका सेरहरू निकै प्रेमिल छन्, प्रेमका सम्पूर्ण भाव व्यक्त गर्न गजल सफल छ भने स्वर र सङ्गीतको मिठासपूर्ण सङ्गमले गजल ‘नदीमा तिमी छौ’ सुनिरहूँ लाग्ने बनेको छ । प्रेममा डुवेकाहरुलाई गजलले अझ गहिराई सम्म पुर्याउन सफल छ । गजलकार बिनोद खनाल र गायिका तथा संगीतकार बबिना भट्टराई लगायत सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना छ !’

Skip This
Skip This
Logo