काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको काम सम्पन्न गर्न अन्तिम पटकका लागि म्याद थप गर्नेबारे छलफल भइरहेको बताएका छन्।
बिहीबार सिंहदरबारमा बसेको संघीय संसद् अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समिति बैठकमा सिंहले यसअघि पटकपटक म्याद थप गर्दा समेत तोकिएको समयमा निर्माण सम्पन्न हुन नसकेकाले अब अन्तिम पटकका लागि सशर्त म्याद थप गर्ने तयारी भइरहेको बताएका हुन्।
उनले अन्तिम पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसके ठेकेदार कम्पनीविरुद्ध कानुनी कारबाही अघि बढ्ने धारणा राखे।
अहिलेसम्म निर्माणको काम करिब ८६ प्रतिशत पूरा भएको जानकारी दिँदै सिंहले अबको म्याद थप पूर्ण सुनिश्चितताका साथ गर्ने उल्लेख गरे।
बैठकमा समिति सदस्यहरूले तोकिएको समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई जरिवाना गराइ ठेक्का रद्द गर्नुपर्ने बताएका थिए। सांसदहरूले तोकिएको समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गर्नुपर्ने धारणा राखेका थिए। २०७६ असोज १६ गते पाँच अर्ब दुई करोड रुपैयाँ लागतमा संघीय संसद्को नयाँ भवन तीन वर्षभित्र निर्माण सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो। तर पटकपटक म्याद थप गर्दापनि निर्माण कार्य भने सम्पन्न हुन सकेको छैन।































प्रतिक्रिया