पोखरा रंगशालमा जारी पोखरा प्रिमियर लिग (पीपीएल) मा विराटनगर टाइटन्सले काठमाडौं रोयल्सलाई १५० रनको लक्ष्य दिएको छ। विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनायो ।
विराटनगरका लागि जाइद आलमले ४ छक्का र ७ चौकाको मद्दतमा ६७ रन बनाउँदै अर्धशतक पूरा गरे । बलिङमा काठमाडौंका सुशान भारीले एकै ओभरमा दुई महत्वपूर्ण विकेट लिए । उनले आफ्नो तेस्रो आभेरको पहिलो बलमा धमला र चौथो बलमा एन्ड्रयू सुविक्सनको विकेट लिए ।
अहिले काठमाडौं रोयल्सले विराटनगर टाइटन्सबिरुद्ध ब्याटिङ गरिरहेको छ। काठमाडौं रोयल्स ज्ञानेन्द्र मल्लको टिम हो भने विराटनगर टाइटन्स सन्दीप लामिछानेको टिम हो। विराटनगर टाइटन्सले लगातार हार व्यहोरिरहेको छ भने काठमाडौं रोयल्सले एक खेल जितिसकेका छन्।
आजै हुने दोस्रो खेलमा राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा रहेको चितवन टाइगर्स र शरद भेषावकरको पोखरा पल्टनबीच प्रतिस्पर्धा हुँदैछ । एक खेल खेलेको चितवनले हार व्यहोरेको थियो भने २ खेल खेलेको पोखरा पल्टनले एक खेलमा हार र एक खेलमा जित निकालेको छ ।
६ टिमको सहभागिता रहेको यो प्रतियोगिता कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।
विजेताले नगद २७ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन् ।





























प्रतिक्रिया