काठमाडौं । लाहोर कलन्दर्सले पाकिस्तान सुपर लिगको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा क्वेटा ग्ल्याडिएटर्सलाई ६ विकेटले हराउँदै लाहोरले उपाधि उचालेको हो ।
ग्ल्याडिएटर्सले दिएको २०२ रनको लक्ष्य लाहोरले ४ विकेटको क्षतिमा एक बल बाँकी छँदा पूरा गरेको थियो । लाहोरको जितमा सिकन्दर राजा र कुसल परेरा नायक बने । २० बल बाँकी छँदा क्रिजमा जमेको उक्त जोडीले ५९ रनको अविजित साझेदारी गर्दै फाइनलमा सबैभन्दा ठूलो लक्ष्य सफलतापूर्वक पूरा गरे।
परेराले अविजित रहँदै ६२ रन बनाए भने सिकन्दर राजा ७ बलमा २२ रनमा अविजित रहे । अन्तिम ओभरमा १३ रन आवश्यक रहँदा सिकन्दरले चौथो बलमा छक्का र पाँचौ बलमा चौका प्रहार गरे ।
क्वेटाका मोहम्मद आमिर, फहीम अशरफ, अबरर अहमद र उस्मान तरिकले १(१ विकेट लिए ।
त्यसअघि टस जितेर ग्ल्याडिएटर्सले ९ विकेटको क्षतिमा २०१ रन बनाएको थियो, जसमा हसन नवाजले ४३ बलमा ७६ रन बनाएका थिए, जबकि लाहोरका स्टार तीव्र गतिका बलर शाहीन शाह अफ्रिदीले २४ रन खर्चेर ३ विकेट लिएका थिए।
ग्ल्याडिएटर्सले नियमित सिजन तालिकामा शीर्ष स्थान हासिल गरेको थियो जबकि लाहोर चौथो स्थानमा थियो, तर लाहोरले तीन लगातार नकआउट खेल जितेर चार वर्षमा आफ्नो तेस्रो उपाधि सुरक्षित गरेको हो ।































प्रतिक्रिया