काठमाडौं । रोटरी क्लब अफ काठमाडौं मिडटाउनले सोल्टी होटलमा ‘एन इभिनिङ फर गुड अर्थ’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।
यो कार्यक्रमको मुख्य उद्देश्य क्लबको नयाँ परियोजना ‘हिमालयमा जलवायु संकटको जवाफ’ को लागि कोष संकलन गर्नु थियो । उक्त परियोजनाले नेपालका हिमाली क्षेत्रमा स्वच्छ पानी, शिक्षा, स्वास्थ्य, युवा सशक्तीकरण र विपद् प्रतिक्रिया मार्फत जलवायु संकटका प्रभाव न्यूनीकरण गर्न समुदाय–केन्द्रित समाधानहरू लागू गर्ने लक्ष्य राखेको छ ।

कार्यक्रममा मुख्य वक्ताको रूपमा पर्यावरणविद् केन चिमाडु र सम्मानित अतिथिको रूपमा नायिका मनिषा कोइराला सहभागी थिए । केन चिमाडुले प्राकृतिक प्रकोप न्यूनीकरणका लागि सामुदायिक र संस्थागत स्तरमा कोष संकलनको आवश्यकता औंल्याए । उनले यस्ता कार्यक्रमले पर्यावरणीय समस्याहरू समाधानमा महत्वपूर्ण योगदान पु-याउने विश्वास व्यक्त गरे ।
नायिका मनिषा कोइरालाले प्रकृति संरक्षणका लागि रोटरी क्लबको पहललाई ‘आगो लाग्नुअघिको झिल्को’ को संज्ञा दिँदै यस्ता प्रयासले दीर्घकालीन प्रभाव पार्ने बताइन् । उनले प्रकृति संरक्षणका सच्चा नायकहरूसँगै उभिन पाउँदा गर्व महसुस भएको पनि उल्लेख गरिन्।

रोटरी क्लबकी अध्यक्ष रुपी सिंहले कार्यक्रमबाट संकलित कोषले हिमाली क्षेत्रमा जलवायु संकटको प्रभाव कम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । नेपालको सबैभन्दा पुरानो सामाजिक संस्थामध्ये एक रहेको रोटरी क्लबले प्राकृतिक प्रकोपका बेला निरन्तर सहयोग गर्दै आएको पनि उनले स्मरण गराइन् ।
‘एन इभिनिङ फर गुड अर्थ’ कार्यक्रममा ३०० भन्दा बढी सहभागीको उपस्थिति रहेको थियो । यो कार्यक्रमले जलवायु संकटका प्रभाव, चुनौतीहरू, र समाधानका उपायहरूबारे जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको छ । रोटरी क्लब अफ काठमाडौं मिडटाउनको यो पहलले हिमाली क्षेत्रको संरक्षण र दिगो भविष्यका लागि ठोस योगदान पु-याउने अपेक्षा गरिएको छ।

पछिल्लो समय विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालका हिमालमा हिउँ पग्लने क्रम तीव्र भएको छ । विगत २० वर्षमा हिमालका चुचुराहरूमा हिउँको मात्रा उल्लेखनीय रूपमा घटेको अध्ययनहरूले देखाएका छन् । ग्लेसियर पग्लिँदा बाढी, हिमपहिरो, र अन्य प्राकृतिक प्रकोपको जोखिम बढेको छ, जसले मानवीय र पर्यावरणीय क्षति निम्त्याइरहेको छ ।






























प्रतिक्रिया