काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बस्ने प्रतिनिधिसभाको बैठक अवरोध गर्ने तयारी गरेको छ ।
आज बिहान ११ः०० बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ आर्थिक सर्वेक्षण पेस गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूचीसमेत तय भएको छ । साथै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने छ ।
साथै भिजिट भिसा प्रकरणमा आफ्नो नाम जोडिएपछि त्यसको जवाफ आज सदनबाटै दिने तयारीमा गृहमन्त्री रमेश लेखक छन् । तर यो रास्वपालाई मान्य नहुने यसअघि नै संकेत गरिसकेको छ । लेखकको राजीनामाको माग गर्दै आज सदन अवरोध गर्ने रास्वपाले तयारी गरेको हो ।
आइतबार बसेको केन्द्रीय समितिको बैठकपछि रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले भनेका थिए, ‘जेठ १३ गते बस्ने संसद् बैठक सामान्य हुने छैन।’ रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा यतिबेला कारागारमा छन्। गृहमन्त्री भिजिट भिसा प्रकरणमा मुछिएपछि रास्वपाले उनको राजीनामा माग्दै आएको छ। लेखकसँग रास्वपा किन पनि रुष्ट छ भने करिब १४ महिनाअघि तत्कालीन प्रमुख प्रतिपक्षी दलको तर्फबाट उनै लेखकले गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा राजीनामा माग्दै नैतिकताको पाठ सिकाएका थिए । त्यसबेला लामिछानेमाथि उनले उठाएको नैतिकताको प्रश्न अब उनीतिरै तेर्सिएको छ । त्यसको भरपूर फाइदा उठाउने मुडमा रास्वपा देखिन्छ ।
तर रास्वपाको यो तयारीले जेठ १५ मा हुने बजेट भाषण पनि प्रभावित बन्न सक्ने देखिएको छ । संवैधानिक बाध्यताअनुसार सरकारले बिहीबार बजेट ल्याउनै पर्छ। तर, विपक्षी दलहरू संसद चल्न दिने तयारीमा छन् ।





























प्रतिक्रिया