काठमाडौं
दसैंले गर्दा सुनसानप्रायः सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा आउने–जाने क्रम फाट्टफुट्ट मात्र थियो । काठमाडौं निर्वाचन क्षेत्र ७ का सांसद रामवीर मानन्धर बिहीबार अपराह्न १ बजेतिर कार्यालय आइपुग्दा माहोल बेग्लै बन्यो । पार्टीका सांसद र कार्यकर्ताको घेरामा परेका उनी माथि प्रश्नको ओइरो लाग्यो ।
‘पार्टीले टिकट दिएको हो, पार्टीले भनेपछि जसले पनि पद छाड्नुपर्छ’, उनले झर्को मान्दै जवाफ दिए । अधिकांशले ‘पार्टीमा सल्लाह नै नभई कसरी राजीनामा दिनुभयो त ? ’ भन्ने प्रश्न तेस्र्याए । उनी यो प्रश्नको जवाफ दिनबाट तर्किंदै थिए । उनी केही बेरमै दलको कार्यालयबाट निस्किए ।
नेता वामदेव गौतमका लागि सांसद पदबाट राजीनामा दिएको पत्र अध्यक्ष पुष्पकमल दाहाल मार्फत पार्टीमा बुझाएपछि उनी चर्चामा छन् । पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग सल्लाह नगरी उनले राजीनामापत्र बुझाएपछि शीर्ष नेता नै आश्चर्यमा परेका छन् । उनको निर्वाचन क्षेत्रका नेता÷कार्यकर्ताले यो कदमप्रति जिज्ञासा राख्दै आक्रोश जनाएका छन् । राजीनामा दिने चर्चा सुने देखि नै कार्यकर्ताले उनलाई निरन्तर फोन गरिरहेका छन् ।
राजीनामापत्र पार्टीमा बुझाए पनि गौतम चुनाव नलड्ने निष्कर्षमा पुगेपछि उनी अप्ठेरोमा देखिएका छन् । उपत्यकामा पार्टीको जनमत खस्किएका बेला पनि उनले एमालेबाट दोस्रो संविधानसभा चुनाव जितेका थिए । यसपटकको कदमपछि उनको राजनीतिक भविष्य माथि नै प्रश्न उठेको छ । तर उनले यसलाई अस्वीकार गरेका छन् । ‘मलाई भोट दिने कसैले पनि विरोध गरेका छैनन्’, उनले भने, ‘मलाई केही गाह्रो पर्दैन ।’
आफ्नो क्षेत्रका कार्यकर्तासँग भने उनी ‘फेस सेभिङ’ गर्न नसकेर भागिरहेको नेताहरू बताउँछन् । ‘प्रदेश सांसद प्रकाश श्रेष्ठको नेतृत्वमा हामी शुक्रबार बिहान उहाँको निवास बालाजु पुग्यौं । उहाँ घरबाट निस्किसक्नु भएको थियो’, स्थानीय एक नेताले भने, ‘उहाँ (रामवीर) हामीसँग तर्किंदै हिँड्नु भएको छ ।’
अन्नपूर्णबाट





























प्रतिक्रिया