अन्तःशुल्क स्टिकर छपाइका लागि बोलपत्रमा प्रतिस्पर्धा गर्न पाउनु पर्ने माग

अन्तःशुल्क स्टिकर छपाइका लागि बोलपत्रमा प्रतिस्पर्धा गर्न पाउनु पर्ने माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अन्तःशुल्क स्टिकर छपाइका लागि नेपाली उद्यमीले बोलपत्रमा प्रतिस्पर्धा गर्न पाउनु पर्ने माग गरेका छन् । अन्तःशुल्क स्टिकर छपाइका लागि आन्तरिक राजश्व विभागले गत अक्टोबर १४ मा बोलपत्र आह्वान गरेको थियो । सो अन्तर्राष्ट्रिय बोलपत्रमा नेपाली उद्यमीले प्रतिस्पर्धा नै गर्न नसक्ने सर्तहरु राखी आह्वान गरेको जनाउँदै उनीहरुले बोलपत्रको प्रतिस्पर्धामा जाने अवसरबाटै वञ्चित गरिएको गुनासो गरे ।

स्टिकर छपाइका लागि आवश्यक योग्यता क्षमता भएको स्वदेशीलाई वञ्चित गर्ने गरि बोलपत्रमा सर्त राखिएको र ती सर्तले आफूहरु प्रतिस्पर्धामै जानबाट वञ्चित भएको मिराज प्रिन्टिङ सोलुसनका निर्देशक मनोहरराज घिमिरेले सञ्चारकर्मीलाई जानकारी दिए ।

उनले सर्वोच्च अदालतको आदेश, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको निर्देशन विपरीत उक्त बोलपत्र आह्वान गरिएको आरोप लगाए। सार्वजनिक खरिद ऐनमा समेत नेपाली उद्यमीहरुका लागि सकारात्मक विभेदको व्यवस्था गर्नुपर्ने प्रावधान रहे पनि त्यसलाई बेवास्ता गर्दै बोलपत्र आह्वान गरिएको निर्देशक घिमिरेको भनाइ छ ।

अन्तःशुल्क स्टिकर छपाइका लागि अन्य सामान्य छपाइ जस्तो नभई सुरक्षण मुद्रण आवश्यक पर्छ । यस्तै, नेपाली उद्यमीले अन्तःशुल्क स्टिकर छाप्न सक्ने योग्यता पुष्टि गर्न मौका नदिई तथा विस्तृत अध्ययन अनुसन्धानबाट छाप्न नसक्ने कुराको पुष्टि नै नगरी पुनः विदेशीलाई ठेक्का दिने गरी बोलपत्र आह्वान गरिएको उनको आरोप छ ।

अन्तःशुल्क स्टिकर छाप्ने योग्यताको निर्धारण यन्त्रको उपलब्धता हो । स्वदेशी उद्यमीसँग त्यस्ता यन्त्र छन् । प्राविधिक दृष्टिकोणले अन्तःशुल्क स्टिकरभन्दा बढी जटिल प्रकृतिका वस्तुहरु स्वदेशमा नै छपाइ हुँदै आएकामा अन्तःशल्क स्टिकर छाप्न सक्दैनन् भन्ने तर्कको कुनै आधार नभएको व्यवसायीको भनाइ छ ।

मिराज प्रिन्टिङ सोलुसन आइएसओ १४२९८ः२०१३ सर्टिफाइड कम्पनी भएको जनाइएको छ । स्वदेशभित्र हाल सेक्युरिटी प्रिन्टिङ प्रेस योग्य मिराजसहित एर्सल एरोल, सामा प्रिन्टिङ रहेका छन् । मिराजले अहिले नेपाल टेलिकम र एनसेलको रिचार्ज कार्ड छाप्दै आएको छ । करोडौँ लगानी र दक्ष जनशक्ति जोखिममा परेको निर्देशक घिमिरेले बताए । करीब १० वर्ष अघि ४५ करोड लागतमा उनले मिराज प्रिन्टिङ सोलुसन सञ्चालनमा ल्याएका थिए ।रासस

Logo