काठमाडौं । आउँदो भाद्र ३ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको १७औँ संस्करणको नाडा अटो शो २०२५ को प्रमुख अतिथिको रूपमा उद्घाटन गरी दिन नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) ले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई औपचारिक आग्रह गरेको छ ।
नाडा अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री पौडेलसँग भेट गरी उक्त आग्रह गरेको हो ।
भेटघाटका क्रममा अध्यक्ष चौधरीले हालै सार्वजनिक बजेटलाई निजी क्षेत्रमैत्री बजेटका रूपमा स्वागत योग्य भन्दै लामो समयपछि अटोमोबाइल क्षेत्रको हितमा नीति आएको बताएका थिए ।
सो अवसरमा नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमा पहिलोपटक सिमरा औद्योगिक क्षेत्रमा सवारी साधन निर्माण उद्योग स्थापना गर्न लागिएको जानकारी गराउँदै यस्ता मेनुफ्याक्चरिङ उद्योगलाई प्रवर्द्धन गर्ने खालका स्थिर नीति आवश्यक भएको बताए । उनले नीति निर्माणमा दीर्घकालीन सोच र लगानीमैत्री वातावरण बनाइनुपर्नेमा जोड दिएका थिए ।
अर्थमन्त्री पौडेलले नाडाको निमन्त्रणा स्वीकार गर्दै सरकारलाई अटोमोबाइल क्षेत्रबाट अधिकतम राजस्व संकलनमा सहयोग पुर्याउनु व्यवसायीको दायित्व रहेको बताएका थिए । उनले आगामी वर्षहरूमा अटोमोबाइल उद्योगलाई व्यवस्थित, दिगो र सुरक्षित बनाउन आवश्यक नीति निर्माणमा सरकार गम्भीर रहेको समेत बताएका थिए ।
छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएसन सचिव सुरेन्द्र प्रधानको उपस्थिति रहेको थियो ।





























प्रतिक्रिया