यतिन्द्र बने जीतपुरसिमरा उपमहानगरको लोगो डिजाइन प्रतियोगिताको विजेता

यतिन्द्र बने जीतपुरसिमरा उपमहानगरको लोगो डिजाइन प्रतियोगिताको विजेता

केन्द्रबिन्दु
72
Shares

जीतपुरसिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाले आयोजना गरेको लोगो डिजाइन प्रतियोगिताको विजेता वीरगन्ज निवासी युवा वास्तुविद यतिन्द्र किशाेर लाभ घोषित भएका छन्।

उपमहानगरले कार्यपालिकाको जेठ १७ गते सार्वजनिक गरेको नतिजा अनुसार, यतिन्द्रद्वारा तयार पारिएको लोगोले प्रतियोगितामा सहभागी अन्य दर्जनौं प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट स्थान हासिल गरेको हो।

विजयी लोगोले जीतपुरसिमराको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, औद्योगिक, कपिजय तथा पुर्वाधारयुक्त विशेषताहरुलाई कलात्मक, सन्तुलित र गहन अभिव्यक्तिका साथ प्रस्तुत गरेको छ। यसले पहिचान, संवृद्धि र समावेशीताको प्रतीकका रूपमा काम गर्नेछ।

डिजाइनमा अंग्रेजी अक्षर “जे” लाई कलात्मक ढंगले संयोजन गरी नगरको नामको प्रतिनिधित्व गरिएको छ। रातो र नीलो रंगको प्रयोगले नेपाली राष्ट्रिय झण्डाको सांकेतिक प्रस्तुति दिँदै राष्ट्रप्रेम, एकता र न्यानोपनलाई उजागर गरेको छ।

लोगोको माथिल्लो भागमा देखिने हरियालीले जीतपुरसिमराको प्राकृतिक सौन्दर्य र पर्यावरणीय सन्तुलनको प्रतीक गर्दछ भने तल्लो भागमा रहेको औद्योगिक आकृतिको प्रयोगले औद्योगिक उन्नति, सिर्जनशीलता र प्रगतिको प्रतिनिधित्व गरेको छ। स्थानीयता झल्कने परम्परागत संरचनाले स्थानीय पहिचानको प्रतिनिधित्व गर्दछ।

लोगोमा धानको बाला कृषि समृद्धिको प्रतीक हो, जसले जीतपुरसिमराको आर्थिक विकासको आधारलाई देखाउँछ। हातका रेखाचित्रहरूले राष्ट्रिय निजत्व र स्वावलम्बीपनको सन्देश दिन्छन्। कुमारी कन्याको प्रतीकले जातीय समावेशिता र सामाजिक रूपान्तरणको ऐतिहासिक प्रतिनिधित्व गर्दै मानिसहरूलाई केन्द्रबिन्दुमा राखेको छ।

सडक, रेल र हवाई मार्ग (सिमराको पहिलो विमानस्थल) जस्ता पूर्वाधारहरू पनि लोगोमा समावेश छन्, जसले नगरको संरचना र ऐतिहासिक योगदानलाई संकेत गर्दछ ।

विजेता वास्तुविद यतिन्द्रले भने, “यो लोगो केवल दृश्य संरचना मात्र होइन, यो जीतपुरसिमरा नगरको जीवन कथा हो। हरेक रेखा, आकृति र रंगले यहाँको आफ्नो भूमिप्रतिको हाम्रो प्रेमलाई व्यक्त गर्दछ। यदि मैले डिजाइन गरेको यो लोगो, कृषि, उद्योग, सडक र यातायातका क्षेत्रमा मिश्रित संरचनामा आधारित भएर शहरको संरचनामा सानो पनि सकारात्मक परिवर्तन ल्याउन सक्यो भने मलाई साँच्चै खुसी लाग्नेछ।”

यसैगरी उपमहानगरले यतिन्द्रले तयार पारेको लोगोले जीतपुरसिमराको समग्र पहिचानलाई सुन्दर, कलात्मक र संवेदनशील ढंगले प्रस्तुत गरेको बताएकाे छ ।

Logo