काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल खेलाडी तथा मछिन्द्र फुटबल क्लबलाई गत सिजन ‘ए’ डिभिजन लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका दिपक राईका पिता तिलक बान्तवा राईको ६६ वर्षको उमेरमा कोरोनाका कारण निधन भएको छ ।
मोरङको तत्कालीन पथरी गाउँ विकास समितिका अध्यक्ष समेत रहेका राईको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा मंगलबार बिहान साढे ४ बजे उपचारको क्रममा मृत्यु भएको हो । राईको दुई सातादेखि उपचार भइरहेको थियो । कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएका राईलाई उपचारका लागि सुरुमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
स्वास्थ्य अवस्थामा सुधार आएपछि घरमा आराम गरिरहेका राईमा पुनः श्वासप्रश्वासको समस्या देखिएको थियो । त्यसपछि विराट शिक्षण अस्पतालको भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो । उपचारकै क्रममा बुवाको मृत्यु भएको छोरा दीपकले जानकारी दिए ।
दीपकले हिमालयन शेर्पा, मोरङ, मनाङ्ग मर्स्याङ्गदी फुटबल क्लबबाट राष्ट्रियस्तरमा सहभागिता जनाइसकेका छन् । हाल मच्छिन्द्र क्लबमा आवद्ध दीपकले मोरङ्गबाट सातौँ राष्ट्रिय क्षेत्रीय खेलकुदमा स्पर्धा गरेका थिए ।
सामाजिक कार्यमा समेत सक्रिय राई पथरीशनिश्चरे नगरपालिकाको पहिलो सहकारी संस्था मनकामना सहकारीका संस्थापक अध्यक्ष समेत हुन् । पञ्चायत माविको व्यवस्थापन समितिका पूर्व अध्यक्षसमेत रहेका राईले दर्जनौं संघ संस्थाको अगुवाई गर्दै आएका थिए ।





























प्रतिक्रिया