काठमाडौं । झापाको भद्रपुर नगरपालिकामा जन्मिएकी सोनी देवी दासले केवल १९ वर्षको उमेरमा स्ट्रेन्थ लिफ्टिङको क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नाम स्थापित गरिसकेकी छन् । उनको यो यात्रा केवल मेडल र उपाधिहरूको कथा होइन, यो त एक साधारण गाउँकी छोरीको असाधारण सङ्घर्ष, दृढता र सपनाको गाथा पनि हो ।
सपनाको सुरुवातः एथ्लेटिक्सदेखि स्ट्रेन्थ लिफ्टिङसम्म
सोनीको खेलकुद यात्रा एथ्लेटिक्सको मैदानबाट सुरु भयो । हाइजम्प र दौडमा आफ्नो कौशल देखाउँदै उनले सानै उमेरमा आफूलाई अब्बल सावित गरिन् । तर, कोभिड–१९ को महामारीले उनको जीवनमा नयाँ मोड ल्याई दियो । लकडाउनको समयमा बढ्दो तौल र मोटोपनले उनलाई जिमको ढोका ढकढक्याउन बाध्य बनायो ।
७० किलो पुगेको तौल घटाउन जिम सुरु गरेकी सोनीले त्यहीँबाट आफ्नो जीवनको नयाँ उद्देश्य पहिल्याइन्, स्ट्रेन्थ लिफ्टिङ ।
कक्षा ९ मा पढ्दै गर्दा, केवल १५ वर्षको उमेरमै उनले पहिलो राष्ट्रिय प्रतियोगितामा भाग लिएर तेस्रो स्थान हासिल गरिन् । यो सफलताले उनको आत्मविश्वासलाई बढाउनुका साथैं यही क्षेत्रमा धेरै कुरा गर्न सक्छु भन्ने विश्वास दिलायो । तर, सोनीलाई यात्राको सुरुवातमै धक्का लाग्यो, उनको गाउँमा कबड्डी खेल्ने क्रममा एउटा खुट्टा र पछि जिममा डम्बेलले लागेर अर्को खुट्टा भाँचिएको थियो । डाक्टरले भारी उठाउने प्रतियोगितामा भाग नलिन सुझाव दिँदा पनि, उनले आफ्नो इच्छालाई रोक्न भने सकिनन् । चोटको तीन महिनापछि नै उनले राष्ट्रिय प्रतियोगितामा भाग लिएर तेस्रो स्थान हासिल गरिन् । त्यही प्रतियोगितामा उनलाई हराउँदै स्वर्ण जितेकी कृष्णकला विष्ट अहिले नेपाल प्रहरीमा कार्यरत छिन्, तर सोनीको जिवन जिउने सङ्घर्ष भने अझै जारी छ ।
३६ वटा मेडल नेपाल भित्र्याउँदा पनि सरकारको तर्फबाट उल्लेखनीय सहयोग नपाएको गुनासो सोनीको छ ।
सोनीको स्ट्रेन्थ लिफ्टिङको यात्रा सजिलो भने पक्कै थिएन । सानै उमेरदेखि उनले विवाहको दबाब झेलिन् । परिवारलाई स्ट्रेन्थ लिफ्टिङमा करियर बनाउने कुरा मनाउन उनले ठूलो चुनौतीको सामना गर्नु परेको थियो । तर, उनलाई यो खेल सिकाउने गुरुले उनको आमा–बुबालाई हात जोडेर मनाएपछि सोनीले प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने मौका पाएकी थिइनँ । उनले देशका लागि खेल्दै जाने क्रममा जिल्ला, प्रदेश, राष्ट्रिय, हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो क्षमता प्रदर्शन गरिन् ।
बाल्यकालमै आमाबुबाको सम्बन्धविच्छेदले सोनीको जिवन झन् जटिल बनाएको थियो, जहाँ दुई दाजु बुबासँग र सोनी आमासँग बस्दै आएकी छिन् । तर, उनकी आमाको अटल समर्थन र अपार मायाले उनलाई सधैं अगाडि बढ्न प्रेरित गरिरहेको छ । सोनीका लागि आमा नै सबथोक हो । उनकी आमाले सामाजिक कुरीति र रुढीवादी सोचलाई चुनौती दिँदै छोरीलाई खेलकुदमा अगाडि बढ्न हौसला प्रदान गर्दै आएकी छिन् ।
घरायसी पौष्टिक आहारमा मासिक २० हजार खर्च त गर्छिन्, तर सप्लिमेन्टको अभावमा उनको शरीरले चाहिने पोषण पूर्ण रूपमा पाउन सकिरहेको छैन ।
स्ट्रेन्थ लिफ्टिङमा कडा डाइट र अनुशासित जीवनशैली अपरिहार्य छ । तर, सोनीले घरकै खानामा निर्भर रहनुपरेको छ । उनले केरा, दूध, दही र घिउ जस्ता घरायसी पौष्टिक आहारमा मासिक २० हजार खर्च त गर्छिन्, तर सप्लिमेन्टको अभावमा उनको शरीरले चाहिने पोषण पूर्ण रूपमा पाउन सकिरहेको छैन । उनको विश्वास छ, ‘यदि मैले पर्याप्त पोषण पाएँ भने, मेरो प्रदर्शन अझै उत्कृष्ट हुनेछ ।’
आर्थिक कठिनाइले उनको सपनालाई बारम्बार चुनौती दिएको छ, किनकी भोको पेटले फलाम र रबरका डम्बेल उचाल्न सहज छैन । यहि जुलाईमा हुने विश्व च्याम्पियनसिपमा सहभागी हुन उनलाई ९० हजारभन्दा बढी रकम चाहिएको छ । जुन उनको परिवारको लागि ठूलो ऋणको बोझ हो ।
गत वर्षको ११औं विश्व च्याम्पियनसिपमा पनि आर्थिक कमजोरीले उनले भाग लिन पाइनन् । यस्तो अवस्थामा उनले नगरपालिका र सरकारबाट सहयोगको अपेक्षा गरेकी छन् । तर, ३६ वटा मेडल नेपाल भित्र्याउँदा पनि सरकारको तर्फबाट उल्लेखनीय सहयोग नपाएको गुनासो सोनीको छ । पूर्वखेलकुदमन्त्री डिगबहादुर लिम्बुले घोषणा गरेको अढाई लाखको पुरस्कार पनि दुई वर्ष बितिसक्दा प्राप्त गर्न सकेकी छैनन् ।
सोनीको सपना केवल एउटा मेडल जित्नुमा सीमित छैन । उनले सिनियर टोलीमा समावेश भएर विश्व च्याम्पियनसिपको उपाधि जित्ने ठूलो सपना बुनेकी छिन् । उनको लक्ष्य आगामी जुलाईमा हुने १२औं विश्व च्याम्पियनसिपमा सहभागी भएर देशका लागि गोल्ड मेडल जित्ने रहेको छ । तर आर्थिक अभावले उनी त्यो सपना पूरा गर्न असमर्थ छिन् । त्यसका साथै प्लस–२ को पढाइ पूरा गरेर पटियाला कोर्स गर्ने र भविष्यमा कोच बनेर जिल्ला, प्रदेश, र सङ्घमा योगदान दिने पनि उनको योजना छ ।
सोनीका दुई दाजुले उनको स्ट्रेन्थ लिफ्टिङप्रतिको लगावलाई कहिल्यै मन पराएनन् । घर परिवारका सदस्यलले नै बेला–बेला ‘खेल खेलेर के पाइस् ? भन्ने प्रश्नले उनको चित्त भारी भएर आउँछ । तर, उनको जवाफ सधैं दृढ छ, ‘यो मेरो जुनुन् हो, मेरो पहिचान हो ।’
आर्थिक कठिनाइले उनको सपनालाई बारम्बार चुनौती दिएको छ, किनकी भोको पेटले फलाम र रबरका डम्बेल उचाल्न सहज छैन ।
आफ्नो छोटो करियरमा १६ वटा प्रतियोगिता खेलिसकेकी सोनूले अधिकतम प्रतियोगितामा स्वर्ण वा रजत पदक जित्दै आएकी छिन् । उनले विश्व च्याम्पियनसिपको उमेर समूहमा स्वर्ण, पोखराको राष्ट्रिय प्रतियोगितामा ‘च्याम्पियन अफ च्याम्पियन्स’ को उपाधि र अन्य थुप्रै जिल्ला, प्रदेश, र राष्ट्रिय स्तरका मेडलहरू जितेकी छिन् । हैदराबादमा भएको विश्व च्याम्पियनसिपपछि उनले नगरपालिकाबाट २१ हजार र १० हजारको सम्मान प्राप्त गरिन्, तर यो रकम उनको ठूलो सपनाको अगाडि निकै नै सानो छ ।
सोनीको कथा केवल उनको खेलकुद र संघर्षको कथा मात्र होइन । यो एक साधारण गाउँकी छोरीले सामाजिक बन्धन, आर्थिक अभाव र शारीरिक चोटलाई जितेर आफ्नो सपना पछ्याउने कथा पनि हो । सोनी देवी दासको यो यात्रा अझै लामो छ । सोनीको सपना, उनको जुनुन र उनको सङ्घर्षले हामीलाई जीवनमा बाधाहरू त आउँछन्, तर तिनलाई पार गर्न सक्ने हिम्मत र लगन नै साँचो सफलताको कुञ्जी हो भन्ने कुरा सिकाउँछ । उनको आगामी विश्व च्याम्पियनसिपको यात्रा र उनको सपनालाई साकार पार्न हामी सबैले सकेको आर्थिक सहयोग उनलाई साथ र समर्थन दिन जरुरी छ ।





























प्रतिक्रिया