वीरगञ्ज महानगरले ल्यायो तीन अर्ब २२ करोडको बजेट

वीरगञ्ज महानगरले ल्यायो तीन अर्ब २२ करोडको बजेट

केन्द्रबिन्दु
6
Shares

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु तीन अर्ब २२ करोड ४८ लाख ४९ हजारको बजेट ल्याएको छ ।

महानगरको नगरसभाको १७औँ अधिवेशनमा महानगरका उपप्रमुख इम्तियाज आलमले आगामी आवको आयव्ययसहितको बजेट प्रस्तुत गरेका हुन् ।

“महानगरले आगामी आर्थिक वर्षको बजेटमा चालु खर्चतर्फ रु दुई अर्ब २६ करोड ५० लाख ४९ हजार अर्थात् कुल बजेटको ७० दशमलव २४ प्रतिशत बजेट विनियोजन गरेको छ”, उपप्रमुख आलमले भने, “महानगरले पुँजीगत खर्चतर्फ रु ९२ करोड ३४ लाख अर्थात् कुल बजेटको २८ दशमलव ६४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ रु तीन करोड ६४ लाख अर्थात् एक दशमलव १२ प्रतिशत विनियोजन गरेको छ ।”

महानगरले आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च बेहोर्ने स्रोतमा आन्तरिक राजस्वबाट रु एक अर्ब १५ करोड सङ्कलन हुने लक्ष्य राखेको छ । त्यसैगरी सङ्घीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ३७ करोड ३० लाख बजेट प्राप्त हुने बताइएको छ ।

त्यस्तै गरी सङ्घीय राजस्व बाँडफाँटबाट रु २३ करोड ७८ लाख, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड, प्रदेश राजस्व बाँडफाँटबाट रु एक करोड ६७ लाख १३ हजार राजस्व सङ्कलन हुने अनुमान गरेको छ । त्यस्तै घरजग्गा रजिष्ट्रेशन शुल्कबापत रु २५ करोड र नगद मौज्दातबाट रु १५ करोड खर्च बेहोरिने बताइएको छ ।

उपप्रमुख आलमले आगामी आवको बजेटको मुख्य प्राथमिकतामा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सरसफाइ, वातावरण संरक्षण, गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाह रहेको जानकारी दिए । वीरगञ्ज महानगरले चालु आवभन्दा आगामी आवमा ३३ करोड बढीको बजेट ल्याएको छ । चालु आवका लागि वीरगञ्ज महानगरको बजेट रु दुई अर्ब ८९ करोड ४८ लाख थियोे ।

Logo