जाकार्ता
इन्डोनेसियाको मध्यक्षेत्रमा रहेको सुलावेसी प्रान्तमा गत शुक्रबार भुकम्पपछि आएको सुनामीमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ३०० पुगेको छ । अझै कैयौँ मानिसहरू वेपत्ता रहेका बताइएको छ । उक्त कारण विस्थापित हुनेको सङ्ख्या ६० हजार भन्दा बढी पुगेको यहाँको विपद व्यवस्थापन निकायले मङ्गलबार जनाएको छ ।
भुकम्प र सुनामीले ६५ हजार ७३३ घरहरू भत्किएका छन् भने सयौँको सङ्ख्यामा विद्यालय भवन तथा ठूला व्यापारिक भवन चर्किएका वा भत्किएका, विपद व्यवस्थापन केन्द्रिय कार्यालयका प्रवक्ता सुटुपो पुर्वो नुग्रोहोले बताउनुभएको छ ।
उहाँले सञ्चारकर्मीलाई पछिल्लो अपडेट गराउँदै भन्नुभयो, “विस्थापितहरू राज्यका १०९ स्थानमा शिविर बनाएर बस्दै आएका छन् ।” “मङ्गलबार एक होटलको भवन भग्नावशेषबाट १५ जनालाई उद्धार गरिएको छ । यससँगै उक्त होटेलमा मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।” अझैपनि मानिसहरू भग्नाबशेषमा जीवित रहेको आशमा उद्धार कार्य जारी राखिएको सोटुपोले बताए ।
उनका अनुसार उद्धारमा विभिन्न क्षेत्रमा गरी करिब ६ हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ । शुक्रबार क्रमशः ६.०, ७.४ र ६.१ म्याग्निच्युडको भुकम्पपछि आएको सुनामीमा परी सुलावेसीको प्रान्तीय राजधानी पालुमा नराम्रो प्रभाव परेको छ ।
रासस/सिन्ह्वा





























प्रतिक्रिया