काठमाडौं । विगतदेखि विभिन्न क्षेत्रमा लगानी गर्दै आएको आइएमई ग्रुपले देशमै पहिलोपटक फाइबर सिमेन्ट बोर्ड उत्पादन सुरु गरेको छ । आइएमई ग्रुपले रौतहटको फतुवा विजयपुरमा करिब डेढ अर्ब रुपैयाँको लगानीमा फाइबर सिमेन्ट बोर्डको उत्पादन सुरु गरेका हुन् ।
आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौंको लाजिम्पाटस्थित होटल र्याडिसनबाट संयुक्त रुपमा स्वीच थिचेर भर्चुअल माध्यमबाट उद्योगको उद्घाटन गरेका हुन् ।

आइएमई ग्रुपले विगतमा रेमिट्यान्स सेवा, बैंकिङ, बीमा, पर्यटन, जलविद्युत् र सूचना प्रविधि लगायतका क्षेत्रमा उल्लेखनीय लगानी विस्तार गरिसकेको छ। यसअघि समूहले महोत्तरीको गौशालामा करिब २ अर्ब रुपैयाँ लगानीमा ‘नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रीज’ स्थापनासँगै उत्पादन सुरु गरेको थियो। कागज उद्योग सञ्चालनमा ल्याएको केही महिनामै समूहले दोस्रो उत्पादनमूलक उद्योगको रुपमा एभरेष्ट फाइबर सिमेन्ट बोर्ड सञ्चालनमा ल्याएको हो।
यो नेपालकै पहिलो उच्च गुणस्तरका फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने कम्पनी हो । यसले नेपालमा आयात हुने फाइबर सिमेन्ट बोर्डलाई विस्थापन गरी रोजगारी सिर्जना गर्दै विदेशबाट हुने आयात घटाउने र देशभित्रै रोजगारी सिर्जना गर्ने कम्पनीको दाबी छ ।

यसले मुलुकलाई आत्मनिर्भरताको बाटोमा लैजानुका साथै विदेशबाट बोर्डहरु आयात गर्दा विदेशिने अर्बौ रुपैयाँ समेत रोक्ने कम्पनीले जनाएको छ ।
कच्चा पदार्थको मिसावटदेखि बोर्ड कटिङ र ड्राइङसम्मका सम्पूर्ण प्रक्रियाहरु पूर्ण अटोमेटेड प्रविधिमा आधारित यो उद्योगले दैनिक ७५ हजार स्क्वायर फिट बोर्ड उत्पादन गर्ने क्षमता राख्छ । उद्योगले ४ फिट लम्बाइ, ८ फिट चौडाइ र ४ एमएमदेखि ३० एमएमसम्म मोटाइका बोर्ड उत्पादन गर्नेछ । यहाँ उत्पादन भएका बोर्डहरु लचकदार, अग्नि प्रतिरोधक र घाम–पानीले कुनै असर नगर्ने गुणस्तरको रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उत्पादनको गुणस्तरमा कुनै सम्झौता गरिएको छैन । फाइबर सिमेन्ट बोर्ड विशेष गरी भवनको बाहिरी वाल, पार्टेशन, फल्स सिलिङ, मोडुलर किचेन, इको प्यानल बनाउन प्रयोग गरिन्छ । बोर्डको प्रयोग गरी इँटा र प्लास्टर बिनै घर निर्माण गर्न समेत सकिन्छ ।
यसको प्रयोगले १०–१५ दिनमै नयाँ घर तयार गर्न सकिने हुँदा यसको माग र लोकप्रियता नेपालमा मात्रै नभइ विश्वभर बढ्दो क्रममा छ । छिटो, सस्तो र दिगो हुने फाइबर सिमेन्ट बोर्डको प्रयोग गरी भूकम्प, बाढी वा पहिरो जस्ता प्राकृतिक प्रकोपमा छोटो समयमा बलिया संरचना निर्माण गर्न सकिन्छ । यसमा प्लाष्टर र रंगको झन्झट गर्न नपर्ने हुँदा समय र खर्च दुबै बचत हुनेछ ।

वातावरणमैत्री प्रविधिको प्रयोग गर्दै सञ्चालन गरिने यो उद्योगले उच्च गुणस्तरका उत्पादनमार्फत प्रतिस्पर्धी बजारमा आफ्ना उत्पादन प्रस्तुत गर्ने योजना बनाएको छ। आइएमई ग्रुपले उत्पादनमूलक उद्योगको क्षेत्रमा थप सम्भावना पहिचान गर्दै लगानी विस्तारलाई प्राथमिकता दिएको संकेत समेत दिएको छ। नेपालभित्रै उत्पादन प्रवर्द्धन र रोजगारी सिर्जनामा समेत यसले उल्लेखनीय टेवा पुग्ने व्यवसायीहरूको विश्वास छ।
































प्रतिक्रिया