काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी र विकासका लागि प्रशस्त अवसरहरू रहेको बताएका छन् ।
रौतहटको फतुवा विजयपुरमा करिब डेढ अर्ब रुपैयाँको लगानीमा देशमै पहिलोपटक फाइबर सिमेन्ट बोर्ड सञ्चालन ल्याएका अध्यक्ष ढकालले उद्घाटन समारोहमा सम्बोधन गर्दै अन्यत्रको तुलनामा नेपालमा सम्भावनाहरू धेरै रहेको बताएका हुन् ।
उनले नेपाललाई आत्मनिर्भर बनाउन उद्योगहरूलाई नीतिगत रूपमा थोरै मात्र सहयोग भए पुग्ने बताए । यदि सरकारले उद्योगमैत्री नीतिहरू ल्याएमा नेपालले चाँडै आर्थिक रूपमा आत्मनिर्भरता हासिल गर्न सक्ने उनको भनाइ छ ।
अध्यक्ष ढकालले एभरेष्ट फाइबर सिमेन्ट बोर्ड नेपालको पहिलो स्वदेशी सिमेन्ट बोर्ड भएको पनि घोषणा गरे । यो उत्पादनले स्थानीय आवश्यकता पूरा गर्नुका साथै निर्यातमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । यसले नेपालको औद्योगिक विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले काठमाडौंको लाजिम्पाटस्थित होटल र्याडिसनबाट संयुक्त रुपमा स्वीच थिचेर भर्चुअल माध्यमबाट उद्योगको उद्घाटन गरेका हुन् ।
कागज उद्योग सञ्चालनमा ल्याएको केही महिनामै समूहले दोस्रो उत्पादनमूलक उद्योगको रुपमा एभरेष्ट फाइबर सिमेन्ट बोर्ड सञ्चालनमा ल्याएको हो। यो नेपालकै पहिलो उच्च गुणस्तरका फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने कम्पनी हो । यसले नेपालमा आयात हुने फाइबर सिमेन्ट बोर्डलाई विस्थापन गरी रोजगारी सिर्जना गर्दै विदेशबाट हुने आयात घटाउने र देशभित्रै रोजगारी सिर्जना गर्ने कम्पनीको दाबी छ ।































प्रतिक्रिया