ओभरलोड ट्रक नियन्त्रण गर्न गृहमन्त्री लेखकको निर्देशन

ओभरलोड ट्रक नियन्त्रण गर्न गृहमन्त्री लेखकको निर्देशन

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले छिमेकी देशबाट नेपाल भित्रिने र देशभित्रै चल्ने मालबाहक सवारी साधनमा ओभरलोड गर्न नदिन र त्यसरी आउने ओभरलोड भएका मालबाहक ट्रकहरुलाई पूर्ण रुपमा नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

बुधबार गृह मन्त्रालयमा सडक क्षेत्रमा हुन सक्ने विपद्को पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी बैठकमा कार्यक्रममा मन्त्री लेखकले देशका विभिन्न स्थानहरुमा रहेका तौलपुलहरुलाई दुरुस्त बनाउँदै भारबहन क्षमताका आधारमा सम्पूर्ण मालबाहक सवारीलाई नियमन गर्दै ओभरलोड सवारी साधनलाई सडकमा गुड्न नदिन निर्देशन दिएका हुन् ।

गृहसचिव गोकर्णमणी दुवाडी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, प्रहरी महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत सरोकारवालाहरु सहितको बैठकमा त्यस्तो निर्देशन दिएका हुन् ।

वर्षा हुनसक्ने पूर्वानुमान गरिने वितिकै विपद् व्यवस्थापनसंग सम्बन्धीत राज्यका सबै संयन्त्रहरु चल्नु पर्ने र सडक क्षेत्रमा हुन सक्ने बाढी, पहिरो साथै जोखिमयुक्त सडकहरुमा सवारी आवागमन बन्द गर्न गृह मन्त्री लेखकले निर्देशन दिए ।

त्यसैगरी यात्रुहरुको ज्यान जोगाउन उद्धार गर्ने चालकहरुलाई पुरस्कृत गरिने र जोखिमका कारण प्रशासनले सवारी चलाउन रोकेको सडकमा जबरजस्ती सविारी गडाउने जोकोहीलाई कारबाही गरिने समेत उनले बताए । उनले गत वर्ष यात्रुहरुको ज्यान सुरक्षित गर्दै आफ्नो ज्यान गुमाएका चालक मेघनाथ बिकलाई सरकारले सम्मान गरेको स्मरण गर्दै जोखिममा बहादुरी देखाउने दुस्साहस गरेर आफु र अरुको जीवनसंग खेलवाड नगर्न पनि यातायात मजदुरहरुलाई सुझाए ।

बैठकमा यातायात मजदुर तथा व्यवसायीहरुको तर्फबाट १७ बुँदे आचार संहिता प्रस्तुत गरिएको थियो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले प्रस्तुत गर्नु भएको आचार संहितामा प्रस्थान बिन्दुबाट गन्तव्यसम्मको सडकको अवस्था बारे जानकारी लिएर मात्रै यात्रा तय गरिने, यात्रा तय गर्नु अघि सवारीसाधनको मर्मतसम्भार गरि यान्त्रिक अवस्था दुरुस्त राखिने, प्रस्थान बिन्दु र गन्तव्य स्थानको विवरण खुलाई सबै यात्रुहरुको नाममा अनिवार्य टिकट उपलब्ध गराइने, सवारीसाधनको क्षमता भन्दा बढी यात्रु नचढाउने र मालबाहक सवारीसाधनमा मालसमानहरु ओभरलोड नगर्ने प्रतिवद्धताहरु रहेका छन् ।

त्यस्तै, सडकको अवस्था र यातायात आवागमन बारे अपडेड हुने, सवारीसाधनमा यात्रारत यात्रुहरुको परिचय खुल्ने विवरण दुरुस्त राखिने, यात्रुहरुलाई खाजा खाना तथा रिफ्रेसमेन्टका लागि सवारी रोक्दा वा विश्राम गर्दा सुरक्षित स्थानको पहिचान गरेर मात्रै गरिने सडकको अवस्थाको सूचनाका लागि प्रहरी, ट्राफिक प्रहरी, स्थानीय निकायसंग समन्वय गरिने, यात्राका क्रममा मादक पदार्थ तथा नशालु पदार्थको प्रयोग नगर्ने र नगराउने लगायतका प्रतिवद्धता रहेका छन् ।

त्यसैगरी सरकारले जारी गरेको निर्देशनहरुको पालना गरिने, सवारीसाधन सञ्चालन गर्न रोकेको सडकमा जोखिम मोलेर सवारीसाधन सञ्चालन नगर्ने, सवारीसाधनमा काम गर्ने श्रमिकहरुको पहिचान खुल्ने परिचयपत्र लगाएर मात्रै सेवा गरिने, सवारी साधन बाटोमा बिग्रीएमा वा रोकिने अवस्था आएमा यात्रुहरुलाई अलपत्र नहुने गरी वैकल्पिक व्यवस्था गर्नुका साथै यात्रुहरुले मांग गरेमा भाडा फिर्ता गरिने, सवारी साधनमा यात्रुहरुलाई बाधा पुग्ने गरी म्युजिक तथा भिडियो सिस्टम नचलाइने । लैङ्गिक हिंसालाई प्रोत्साहित गर्ने वा महिलाहरुको अपमान हुने खालको गीत, संगित वा भिडियो नबजाइने यातायात मजदुर व्यवसायीको प्रतिवद्धता रहेको छ ।

त्यस्तै, सवारी साधनका चालकले आवश्यक भएमा मात्र हर्नको प्रयोग गर्ने । हर्न निषेधित क्षेत्रमा हर्नको प्रयोग साथै प्रेशर हर्नको प्रयोग नगर्ने, लामो दुरीका सवारी साधनमा अनिवार्य रुपमा प्राथमिक उपचारका साधन राखिने, यात्रा गर्ने महिला, बालबालिका, वृद्धवृद्धा र अशक्तहरुलाई सम्मानपस्र्वक र सुरक्षित यात्रा गराउने साथै सम्पूर्ण यात्रुहरुलाई यात्रुमैत्री व्यवहार गर्ने साझा प्रतिवद्धता सहितको आचार संहिता प्रस्तुत गरेको छ ।

गृहमन्त्री लेखकले यातायात मजदुर व्यवसायीहरुले तयार गरेको १७ बुँदे आचार संहिता अत्यन्त सराहनिय रहेको भन्दै तत्काल कार्यान्वयन गर्न र मजदुर व्यवसायीहरुसम्म तत्काल पुर्याउँदै सबैलाई अभियानमा परिचालन गर्न आग्रह गरे ।

बैठकमा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्ट, गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारी, गृह मन्त्रालयका सहसचिव डा. टोकराज पाण्डे, जल तथा मौसम विज्ञान विभागका उप महानिर्देशक सुमन रेग्मी, सडक विभागका उप महानिर्देशक भूवन अधिकारी, नोपल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्म भण्डारी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतम, सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपाल, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

Logo