दीपकराज गिरीले गरे समीक्षा अधिकारी र एलिना चौहानको प्रशंसा

दीपकराज गिरीले गरे समीक्षा अधिकारी र एलिना चौहानको प्रशंसा

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । अभिनेता एवं निर्देशक दीपकराज गिरीले गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानको खुलेर प्रशंसा गरेका छन्।

गिरीले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, “यी दुइटै गायिका मलाई मन पर्ने गायिका हुन्! त्योमध्ये पनि समीक्षाको त म गायकीको मात्रै होइन, सुरूदेखि उनको साहसको पनि प्रशंसक हूँ ! सानो उमेरमा नै उनीमाथि जुन बज्रपात पर्यो, त्यो ठाउँमा जो कोही भए पनि टिक्न सक्दैनथ्यो होला तर उनले परिस्थितिसँग घुँडा टेकिनन् र लड्दै आइन्, त्यसकै फलस्वरूप आज यहाँ पुगिन्!”

गिरीले पैसा कमाउने सबैलाई भ्रष्टाचारी र नाम कमाउने कलाकार तथा पेशाकर्मी सबैलाई नैतिकताहीन र चरित्र खराब ठान्ने प्रवृत्तिको विरोध गरेका छन्। उनले संघर्ष गरेर, भोकभोकै बसेर आफूलाई स्थापित गरेका व्यक्तिहरूमाथि गरिने गाली गलौज र लाञ्छनाको पनि निन्दा गरेका छन्। “यो ठाउँमा जसले जति गाली गर्न सक्यो त्यो हिरो, चुपचाप आफ्नो काम गरेर खाने पात्रहरू चाहिँ खलनायक ?” उनले प्रश्न गरे।

गिरीले थपेका छन्, “सामाजिक सञ्जाल कस्तो छ? आफूले समाजको लागि, परिवारको लागि, राष्ट्रको लागि दुई कौडीको काम नगर्ने, तर जो काम गर्नेहरू छन्, तिनीहरूलाई नैतिकता सिकाउने, गाली गलौज गर्ने, तँ यस्तो, तँ उस्तो भनेर अभद्रता देखाउने, चरित्रमाथि औंला उठाउने! यस्तै चलिआएको छ।”

उनले साइबर अपराध र व्यक्तिगत जीवनमाथि गरिने हमलाका लागि कानुन कमजोर भएको गुनासो पनि गरे। ठूला नेताहरूलाई गाली गर्दा तत्काल कारबाही हुने तर सामान्य मानिसमाथि हुने गाली गलौजको सुनुवाइमा वर्षौं लाग्ने अवस्थाप्रति उनले असन्तुष्टि व्यक्त गरेका छन् ।

गिरीले सामाजिक सञ्जालका फुर्सदिला “गाली सम्राटहरू” विरुद्ध समीक्षा अधिकारी र अर्की गायिकाले चलाएको अभियानको खुलेर प्रशंसा गरेका छन्। उनले भने, “यस्तो जटिल परिस्थितिमा, आफूमाथि खनिने त्यस्ता सामाजिक सञ्जालका फुर्सदिला गाली सम्राटहरूलाई तिमीहरूले सामाजिक सञ्जालमै उनीहरूका हरकत उदाङ्गो पार्ने जुन अभियान चलायौ, त्यो एकदमै प्रशंसनीय छ! दुवै जनालाई शुभकामना!”

Logo